चर्चित समाचार
  • एनआइसी एशिया बैङ्कको बिग्रदो छवि, कस्ता छन् वित्तीय सूचकहरू ?

    एनआइसी एशिया बैङ्कको बिग्रदो छवि, कस्ता छन् वित्तीय सूचकहरू ?

    शुक्रवार, फागुन ४ २०८०
    शुक्रवार, फागुन ४ २०८०
  • एनआइसी एशिया बैङ्कको बिग्रदो छवि, कस्ता छन् वित्तीय सूचकहरू ?

    काठमाडौँ / एनआइसी एशिया बैङ्कलाई कुनै समय निजी क्षेत्रको लोकप्रिय बैङ्कमध्येमा पर्थ्यो । वि.सं. २०५५ साउन ५ गते स्थापना भएको यो बैङ्क एनआईसी बैङ्क र बैङ्क अफर एशिया एकआपसमा गाभिएर बनेको हो ।

    दुई ठुला वाणिज्य बैङ्कहरूबीच भएको उक्त मर्जर नेपालको बैङ्क तथा वित्तीय क्षेत्रमा पहिलो र ऐतिहासिक मर्जर भएको बैङ्कको दावी छ ।

    ५ अर्ब पुँजी भएको नेपालको पहिलो बाणिज्य बैङ्कको रूपमा स्थापित यो बैङ्कले केही बर्ष ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारासहित आक्रामक रूपमा व्यवसाय विस्तार गर्यो ।

    उत्तरदायी बैङ्किङ्गको अभ्यास गरिरहेको दावी गर्ने एनआइसी एशिया बैङ्क पछिल्लो समय भने नियामकीय व्यवस्थामा चलखेल, आन्तरिक व्यवस्थापनमा खटपट, वित्तीय सूचकमा कमजोरलगायतका कारणले विवादित बनेको छ । 

    पुँजीकोष अनुपात कसिलो बनेपछि विगतका दुई आर्थिक वर्षमा यो बैङ्कले लगानीकर्ताहरूलाई निराश समेत बनाएको थियो । तेस्रो वर्षमा लाभांश दिएको बैङ्कले एकैपटक २९ प्रतिशत बोनस सेयर दिएर प्राथमिक पुँजीकोष बृद्धि गरेको छ ।  

    विगतमा आक्रामक रूपमा व्यवसाय वृद्धि गरे पनि पछिल्लो समय आफ्नै रणनीतिमा असफल हुँदै आएको यो बैङ्कलाई नियामकीय व्यवस्थाहरूमा चलखेल गरेकोसमेत आरोप लाग्दै आएको छ ।

    नियामक निकाय राष्ट्र बैङ्कले विशेष निगरानी गरिरहेकोर कारबाही गर्ने तयारी गरिरहेको समाचारहरू आइरहँदा बैङ्कले भने प्रेस विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरी आफ्नो बचाउ गर्दै आएको छ । 

    बैङ्कको विषयमा पछिल्लो समयमा विवादित विषयहरू बाहिरिएको समयमा व्यवसायी दुर्गा प्रसाईँलेसमेत यस बैङ्कको विरुद्धमा अभिव्यक्ति दिएका छन् । बैङ्क तथा वित्तीय संस्थाहरूप्रति आक्रामक रूपमा पेस भइरहेका व्यवसायी प्रसाईँको पछिल्लो अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालहरूमा निकै चर्चा भइरहेको छ ।

    उनले एनआइसी एशिया बैङ्क डुब्न लागेको भन्दै बचतकर्ताहरूलाई आफ्नो बचत झिक्न भनेका थिए । यसपछि सामाजिक सञ्जालमा बैङ्क साँच्चिकै डुब्न लागेको हो भन्दै टिका टिप्पणीहरू सुरु भएको हो । 

    बैङ्क तथा वित्तीय संस्थाबाट अर्बौँ रुपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी प्रसाईँ सावाँ/ब्याज तिर्नुको सट्टा ऋणीहरूलाई समेत ऋण नतिर्न उक्साइ रहेका छन् ।

    उनले बुधबार सामाजिक सञ्जालमा “एनआइसी एशिया बैङ्क डुब्दैछ बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला ! सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हाल होला ! बेलैमा होस पुर्याउनु होला !” भन्ने अभिव्यक्ति दिएका थिए ।

    सार्वजनिक रूपमा राजनीतिक नेतृत्व, बैङ्क तथा वित्तीय संस्थाहरूको आलोचना गरिरहेका प्रसाईँले नाम नै किटान गरे एन आइसी एशिया बैङ्कबारे अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएको थियो ।

    केही प्रयोगकर्ताले उनको अभिव्यक्तिप्रति समर्थन जनाएका थिए भने केहीले बैङ्क डुब्ने कुरा हल्ला मात्रै भएको उल्लेख गरेका छन् । 

    एनआइसी एशिया बैङ्कको विषयमा आएका विवादहरू  

    एनआइसी एशिया बैङ्कले ५० ओटा शाखा बन्द गर्न राष्ट्र बैङ्कसमक्ष निवेदन दिएको समाचार केही अनलाइनहरूमा प्रकाशित भएको थियो । त्यसलगत्तै बैङ्कले माघ २९ गते प्रेस विज्ञप्ति जारी गरी उक्त समाचार कपोलकल्पित तथा भ्रामक रहेको स्पष्टीकरण दिएको थियो ।

    साथै बैङ्कले आफ्नो कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने रणनीति  तथा योजना नरहेको र शाखा बन्द गर्नका लागि राष्ट्र बैङ्कसमक्ष निवेदन नदिएको जनाएको छ । 

    त्यस्तै, केही सञ्चार माध्यमहरूमा बैङ्कको कर्जा असुली चिन्ताजनक रहेको, बैङ्कलाई राष्ट्र बैङ्कले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको समाचार प्रकाशित भएको थियो ।

    फागुन १ गते प्रेस विज्ञप्ति गर्दै उक्त समाचार सत्यता नभएको भन्दै बैङ्कले खण्डन गरेको थियो ।

    हाल एनआइसी एशिया बैङ्कमा नेपाल राष्ट्र बैङ्कको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण राष्ट्र बैङ्कको नियमित क्यालेन्डर अन्र्तगत भएकोमा केही सञ्चार माध्यमहरूले कपोकल्पित रूपमा राष्ट्र बैङ्कले इन्भेस्टिगेसन गरिरहेको र सो क्रममा बैङ्कमा ठुला कमजोरी तथा कैफियतहरू पत्ता लगाइएको भन्ने समाचार भ्रामक रहेको बैङ्कको दावी छ ।

    यसैगरी, केही सञ्चार माध्यमहरूमा बैङ्कले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैङ्कले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेकोलगायतका विषयहरूमासमेत समाचार प्रकाशित भएका थिए ।

    सो सम्बन्धमा बैङ्कले फागुन १ गते प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत निर्देनशो क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५ मा उल्लेखित रिस्क वेट क्लासिफिकेसन सम्बन्धी व्यवस्थाहरूमध्ये क्लेम सेक्योर्ड बाइ रेसिडेन्सल प्रोपोटिजभित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकमा भएका वाणिज्य बैङ्कहरूले अपनाएका अभ्याससमेतलाई मध्येनजर गर्दै बैङ्कले रिर्पोटिङ गरेको बैङ्कको भनाइ छ ।

    उक्त विषय बाहेके रियल स्टेट सेक्टरमा राष्ट्र बैङ्कले तोकेको सीमाभन्दा बढी कर्जा लागनी नगरेको एनआइसी एशिया बैङ्कको दावी छ ।

    कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा पुस मसान्तसम्म बैङ्कले १०.१४ प्रतिशत मात्रै कर्जा प्रवाह गरेको बैङ्कले स्पष्टिकरण दिएको छ । 

    त्यस्तै, एनआइसी एशिया बैङ्कको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू प्रकाशित भएको भन्दै बैङ्कले फागुन २ गते प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गरेको छ ।

    बैङ्कको नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा बैङ्कका मुख्य सूचकाङ्कहरू - सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैङ्कहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैङ्कको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैङ्क प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्ने दावी गरिएको छ । 

    यसैगरी, गत सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको थियो ।

    ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको हो । 

    त्यो एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटको बण्डलमा एनआइसी बैङ्कको लोगोसहितको कागजले र्याप गरेको देखिएको छ । एनआइसी एसिया बैङ्कको लोगोसहितको सक्कली नभई नक्कली रहेको एनआइसी एसिया बैङ्क इनरुवा शाखाले जनाएको छ ।

    बैङ्कका इनरुवा शाखा प्रमुख दीपक पोखरेल नक्कली पैसा बैङ्कमा आउने बित्तिकै पत्ता लाग्ने भएकाले उक्त नगदमा प्रयोग भएको कागज नक्कली रहेको बताए । नक्कली पैसा बनाउने समूहले बैङ्कको लोगो प्रयोग गरी बैङ्कलाई बदनाम गराउन गरिएको फण्डा भएको उनको भनाइ छ ।

    उक्त घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त रकममा र्याप गरिएको कागज हेर्दा नक्कली जस्तो देखिए पनि सो सम्बन्धमा प्रहरीले बैङ्कलाई पत्र पठाएको तर बैङ्कबाट भने प्रतिउत्तर नआइसकेको प्रहरीको भनाइ छ । 

    कस्तो छ बैङ्कको वित्तीय अवस्था ? 

    एनआईसी एशिया बैङ्कको खुद नाफा चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ घटेको छ । गत आर्थिक बर्षको ६ महिनामा ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको एनआईसी एशियाले समीक्षा अवधिमा भने १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

    अघिल्लो बर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा यस बैङ्कको नाफा ४१.८४ प्रतिशतले घटेको हो । नाफा घट्नु भनेको बैङ्क नोक्सानीमा जानु होइन ।

    त्यस्तै, खराब कर्जा अनुपातमा उच्च बृद्धि हुनु बैङ्कमा सङ्कट देखिने एउटा कारण हो । केन्द्रीय बैङ्कले ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुनु नहुने व्यवस्था गरेको छ । पुस मसान्तसम्म यो बैङ्कको यस्तो कर्जा अनुपात १.१९ प्रतिशत रहेको छ ।

    यो तथ्याङ्क गत आवको तुलनामा समीक्षा अवधिमा बैङ्कको खराब कर्जा भने ०.९५ प्रतिशतले बढेको हो ।

    पछिल्लो समय आर्थिक मन्दी देखिएसँगै अधिकांश बैङ्क तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बृद्धि भइरहेको सन्दर्भमा भने यसलाई असामान्य मानिदैन । यद्यपि बैङ्कले खराब कर्जा बृद्धिसँगै बैङ्कको इम्पेरिमेन्ट चार्जसमेत बृद्धि गरी ४८ करोड रुपैयाँ पुर्याएको देखिन्छ । 

    बैङ्कले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको पुस मसान्तसम्म एनआईसी एशिया बैङ्कको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ । 

    त्यस्तै, बैङ्कको खुद ब्याज आम्दानी ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी भने १६.३५ प्रतिशतले बृद्धि गरी १ अर्ब २० करोड ९१ लाख रुपैयाँ पुर्याएको एनआइसी एशियाले कुल सञ्चालन आम्दानी भने बृद्धि गर्न सकेको छैन । 

    गत आवको दोस्रो त्रैमासमा ७ अर्ब ४९ करोड ६१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको बैङ्कले यस बर्ष सोही अवधिमा भने ४.९६ प्रतिशतले यस्तो आम्दानी घटाई ७ अर्ब १२ करोड ४६ लाख रुपैयाँमा झारेको छ । 

    इम्पेरिमेन्ट चार्ज बृद्धि हुनु, खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा गिरावट आउनु लगायतका कारणले बैङ्कको नाफामा गिरावट आएको देखिन्छ । 
    समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी २९ प्रतिशतले बृद्धि भएको छ । गत असार मसान्तसम्म बैङ्कको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्म बढेर १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुगेको छ । 

    त्यस्तै, जगेडा कोषमा बैङ्कले १५ अर्ब ६७ करोड ८३ लाख सञ्चित गरेको छ । पुस मसान्तसम्म एनआईसी एशिया बैङ्कले ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । पुस मसान्तसम्म कम्पनीको वासलातको आधार ४ खर्ब ३३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने कुल बचत तथा चल्ति निक्षेप १ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । 

    पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा, मूल्य आम्दानी अनुपात १९.९७ गुणा, प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा, बेस रेट ९.६८ र कस्ट अफ फण्ड ७.५३ प्रतिशत र सिडी रेसियो ७७.१८ प्रतिशत रहेको छ । त्यसैगरी बैङ्कको तरलता अनुपात २७.२८ प्रतिशत रहेको छ । 

    नेपालमा बैङ्क तथा वित्तीय संस्थाको नियमकारी निकाय नेपाल राष्ट्र बैङ्क हो । नेपालमा हाल २० वटा बाणिज्य बैङ्क छन् । १७ वटा विकास बैङ्क र १७ वटा फाइनान्स कम्पनी छ ।

    उनीहरूलाई केन्द्रीय बैङ्कले स्थलगत, गैरस्थलगत र विशेष अनुगमन गर्छ । उनीहरूको अनुगमन गर्दा बैङ्कको लिक्विडिटी पोजिसन सन्तोषजनक रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।

    नाफामा आएको गिरावटका कारण पुँजी पर्याप्ततामा दबाब परेको भए पनि डिजिटल बैङ्किङ कारोबारतर्फ, नम्बर अफ ट्रान्जेक्सन भोल्युम, कस्टुमर बेस, डिजिटल ट्रान्जेक्सन रेसियो लगायतका परिसूचकहरूमा सर्वोत्कृष्ट रहेको बैङ्कको दावी छ ।

    पुस मसान्तसम्म एनआइसी एसिया बैङ्कको ग्राहक सङ्ख्या ४१ लाख ७ हजार ७५८ रहेको छ भने ३६० ओटा शाखाहरू रहेका छन् । यसैगरी बैङ्कको विस्तारित काउन्टर सङ्ख्या १११ ओटा, एटिएम सङ्ख्या ६७० रहेको छ । साथै, बैङ्कको डेविट कार्ड प्रयोगकर्ता १९ लाख ४४ हजार १२६, मोवाइल बैङ्किङ प्रयोगकर्ता २५ लाख ४१ हजार ८९२ रहेको बैङ्कको तथ्याङ्क छ ।

    फागुन ३ गतेसम्म बैङ्कको प्रतिसेयर बजार मूल्य ४३३ रुपैयाँ रहेकोे छ भने बजार पुँजी करण ६४ हजार ५९३ रहेको छ । 

    एनआइसी एशिया बैङ्कको अध्यक्ष तुलसीराम अग्रवाल रहेका छन् । उनी विशला ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशकसमेत हुन् । उनलाई उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रूपमा सफल उद्योगी व्यवसायी मानिन्छ ।

    त्यस्तै, अन्य सञ्चालकहरूमा त्रिलोक चन्द अग्रवाल, रामचन्द्र संघई, केशवप्रसाद लम्साल, गणेश मान श्रेष्ठ, आदित्य कुमार अग्रवाल र विजया स्वार रहेका छन् । त्यस्तै, बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार