काठमाडौँ / माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अर्थमन्त्रीको रूपमा बुधबार दोस्रोपटक कार्यभार सम्हालेका छन् । २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा १८ महिना काम गरेका पुन फेरि सोही मन्त्रालय हाँक्न फर्किएका हुन् ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक क्षेत्रमा भने लामो समयदेखिका समस्या गहिरिंदै गएको छ । राजस्व सङ्कलन, पुँजीगत खर्च, निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानीलगायतमा भएका समस्याका कारण आन्तरिक क्षेत्र समस्याग्रस्त छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव उस्तै छ ।
सरकारको आम्दानी खुम्चिएर दायित्व बढेको, वित्त प्रणाली भद्रगोल भएको तथा आर्थिक सुशासन भत्किएका बेला अर्थमन्त्रीको जिम्मेवारी पाएका पुनलाई आन्तरिक अर्थतन्त्र सुधार्ने चुनौती छ ।
अर्थतन्त्रका समस्या समाधानको नेतृत्व गर्दै नागरिकको जीवनस्तरमा सुधार र मुलुकको विकासको गतिलाई अघि बढाउने दायित्व अर्थमन्त्री माथि हुन्छ । पुनले यी सबै कामको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।
बुधबार साँझ अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले चुनौती स्वीकार गरेर अघि बढ्ने पनि बताएका छन् ।
उनले आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि सरकारले लिएको नीतिमा सघाउ पुग्ने गरी अर्थ व्यवस्थालाई अघि बढाउने उनको भनाइ छ ।
“अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने ।
आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले जानकारी दिए ।
उनले सबै क्षेत्रको मनोबल उठाउने गरी काम गर्ने पनि बताए ।
साथै, अर्थमन्त्री पुनले सेयर बजारमा ६० लाख भन्दा बढी जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
सरकारले सेयर बजारमा चलखेल हुन नदिने बताउँदै उनले लगानीकर्ताको मनोबल उच्च बनाएर काम गर्ने जानकारी दिएका हुन् । यसअघि पुन अर्थमन्त्री हुँदा नेप्से परिसूचक हालसम्मकै न्यून बिन्दुमा पुगेका कारण लगानीकर्ताहरूले नरुचाएको अर्थमन्त्रीको रूपमा उनलाई लिइन्छ । तर, यसपटक भने पुनलाई अर्थमन्त्री बनाइने निर्णय बाहिरिएको पहिलो दिनदेखि नै नेप्से परिसूचकले भने हरियो झण्डा देखाएको छ । यसर्थ, केही लगानीकर्ताहरूले भने नयाँ अर्थमन्त्रीलाई सेयर बजारले स्वागत गरेको बताइरहेका छन् ।
अर्थमन्त्रीको रूपमा पुनलाई चुनौती
अर्थमन्त्री पुनको काँधमा यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले छोडेर गएका जिम्मेवारी पनि छ । देशको अर्थतन्त्रको बागडोर सम्हालेको महत कार्यकाल सुरु भएको ११ महिनामै बाहिरिए । उनले महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गरे पनि बजेट खर्बौ रुपैयाँ घाटामा छ ।
महतले लक्ष्यअनुसार आर्थिक वृद्धि हुने दाबी गर्दै आए पनि चालू आवमा लिइएको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति चुनौतीपूर्ण रहेको प्रारम्भिक तथ्याङ्कले नै देखाएका छन् । तथ्याङ्क अनुसार पहिलो त्रैमाससम्म १.८६ प्रतिशत मात्रै आर्थिक बृद्धि भएको छ । यसर्थ, वर्तमान अर्थमन्त्रीलाई आर्थिक बृद्धिको लक्ष्य प्राप्त गर्न निकै ठुलो चुनौती रहेको देखिन्छ ।
अर्थमन्त्रीको हैसियतमा वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको जिम्मेवारी पनि अब मन्त्री पुनकै काँधमा आइपुगेको छ । देशको अर्थतन्त्रको जिम्मेवारीबाट बाहिरिएसँगै महतले गुमाएका यो अवसर अब उनले पाउने भएका हुन् ।
सरकारले आउँदो वैशाख तेस्रो साता तेस्रो लगानी सम्मेलन गर्ने तयारी गरिरहेको छ । वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमार्फत एक सय २८ वटा परियोजनाको प्रदर्शन गर्ने तयारी सरकारको छ । जसमध्ये पौने २ खर्ब हाराहारीका ४ वटा परियोजनामा हस्ताक्षर गर्ने तयारी समेत सरकारको छ ।
३२७ मेगावाटको अपर मस्र्याङ्दी–२, नेपाल–चीनमैत्री औद्योगिक पार्क र ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाटको सोलार प्लान्टको परियोजनाका लागि करिब एक खर्ब ७४ अर्ब ४९ करोड रुपैयाँ बराबरको परियोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी सरकारको छ ।
त्यस्तै, बजेटको सिद्धान्त र प्राथमिकता एउटा निवर्तमान अर्थमन्त्री महतले पेस गरिसकेका छन् । अर्थमन्त्री पद रहिरहेमा अब बजेट विनियोजन पुनले गर्नेछन् । उनले संसद्मा पेस भइसकेको सिद्धान्त र प्राथमिकतालाई कति महत्त्व दिन्छन् त्यो भने हेर्न बाँकी नै छ ।
अर्थमन्त्री पुनले १२ वर्षअघि ३१ असार, ०६९ मा अध्यादेशमार्फत आव ०६९/७० को बजेट ल्याएका थिए । उक्त वर्ष संविधानसभा एवं व्यवस्थापिका संसद् विघटन भई राजनीतिक सहमति जुट्न नसक्दा सरकारले एकै आर्थिक वर्षमा तीन वटा अध्यादेशमार्फत बजेट प्रस्तुत गरी खर्च व्यवस्थापन गर्नुपरेको थियो ।
सत्ता समीकरणमा आएको परिवर्तनसँगै अर्थ मन्त्रालय अब पुनको पोल्टामा परेको छ । यो अवस्थामा बजेटमा कुन विषयलाई महत्त्व दिन्छन् र अघिल्ला अर्थमन्त्रीले ल्याएका सिद्धान्त र प्राथमिकतालाई वर्षमानले कति अनुशरण गर्छन् त्यो भने हेर्न बाँकी नै छ । बजेटको आकारलाई लिएर प्रधानमन्त्री प्रचण्डको पूर्वअर्थमन्त्री महतसँग असन्तुष्टि रहेको विषय बाहिरिएको थियो ।
पुन भने प्रचण्डको विश्वास पात्रमध्ये एक हुन् । अब उनलाई सीमित स्रोतमा सरकारको ठुला प्राथमिकता समेट्नुपर्ने बाध्यता रहेको छ । स्रोत अनुमान समितिले बजेट निर्माणका लागि १८ खर्बको सिलिङ दिएको भए पनि प्रधानमन्त्रीको प्राथमिकता ठुलो देखिन्छ । यसले गर्दा बजेट निर्माण पनि उनको लागि चुनौतीपूर्ण रहेको देखिन्छ ।
अर्थमन्त्रीका लागि पुँजीगत खर्च बढाउनु अर्को प्रमुख चुनौती हो । हालसम्मको तथ्याङ्क हेर्ने हो भने यस्तो खर्च निकै निराशाजनक रूपमा भइरहेको छ । फागुन २२ गतेसम्म २४.५९ प्रतिशत मात्रै पुँजीगत खर्च भएको देखिन्छ । यसलाई बढाउनु पनि उनका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ ।
मन्त्री पुनले पाएका अवसर
नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको आम निर्वाचनबाट देशकै ठूलो दल बन्यो । कांग्रेसबाट राष्ट्रपति रामवरण यादव बने भने प्रधानमन्त्री प्रचण्ड बने । तर, राजनीतिक स्वार्थ नमिल्दा प्रधानमन्त्रीले राजीनामा दिए ।
त्यसपछि बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्री पुनले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए । तात्कालिन समयमा मन्त्री पुनले २०६७ फागुनदेखि २०६८ वैशाखसम्म जम्मा तीन महिनामात्र काम गर्न पाए । तर, लगत्तै झनाथ खनाल नेतृत्वको सरकार ढलेर पार्टीकै नेता बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भयो । भट्टराई नेतृत्वको उक्त मन्त्रीमण्डलमा पुनले अर्थ मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए ।
पुनले २०६८ भदौ १८ देखि २०७९ चैत १ गतेसम्म १९ महिना अर्थ मन्त्रालयको नेतृत्व गर्न पाएका थिए । सोही मन्त्रालयको नेतृत्व गर्ने अवसर फेरि एकपटक पुनलाई मिलेको छ । पछिल्लो पटक पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको ऊर्जा, जलस्रोत एवम् सिँचाइ मन्त्रालयको नेतृत्व समेत गरिसकेका छन् ।
रोल्पा जिल्लाको जङ्कोट गाविस वडा नं. १ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा २०२८ जेठ १८ गते जन्मिएका पुनले औपचारिक शिक्षामा प्रथम श्रेणीमा आइएल पास गरेका छन् ।