images
images

सेयर बजार : हाइड्रोमा आकर्षण बढ्दा बैङ्किङ र बित्त सेक्टरसँग किन बिच्किए लगानीकर्ता ?

सेयर बजार : हाइड्रोमा आकर्षण बढ्दा बैङ्किङ र बित्त सेक्टरसँग किन बिच्किए लगानीकर्ता ?

संस्थागत तथा ठूला लगानीकर्ताहरूलाई आर्कषण गर्न ऋणको २० करोड क्याप खुल्ला गर्नुपर्ने

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • सेयर बजार : हाइड्रोमा आकर्षण बढ्दा बैङ्किङ र बित्त सेक्टरसँग किन बिच्किए लगानीकर्ता ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्भ्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ३ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तथ्याङ अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को आठ महिनाको अवधीमा नेप्सेमा रहेका १३ समूह, बैङ्कहरूको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी १ अर्ब ८ करोड ८५ लाख ९६ हजार कित्ता बराबरको ३ खर्ब ५४ अर्ब ९ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको देखिएको हो । 

    पुँजी बजारको क्षेत्रमा सबैभन्दा धेरै सेयर हिस्सा ओगट्नेमा बैङ्क तथा वित्तीय संस्था रहेका छन् । राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार बैङ्क तथा वित्तीय संस्थाको सेयर हिस्सा ४२.९ प्रतिशत रहेको छ । 
    जसमा वाणिज्य बैङ्कहरूले मात्रै ११.९ प्रतिशत सेयर हिस्सा ओगटेको छ । त्यस्तै, इन्स्योरेन्स कम्पनीहरूको १७.२ प्रतिशत रहँदा विकास बैङ्कको ५.३ प्रतिशत, फाइनान्सको ३.६ र माइक्रो फाइनान्सको ४.९ प्रतिशत सेयर हिस्सा पुँजी बजारमा रहेको छ ।

    आर्थिक बर्ष २०७९/८० मा समग्र बैङ्क तथा वित्तीय संस्थाको सेयर हिस्सा ५०.५ प्रतिशत रहेको थियो । भने अर्थिक बर्ष २०७८/७९ मा समग्र बैङ्क तथा वित्तीय संस्थाको सेयर हिस्सा ५७.३ प्रतिशत रहेको थियो । 

    पछिल्लो दुई वर्षदेखि बजार करिब दुई हजारदेखि २२ सयकै विन्दुको वरपरमा घुमिरहेको छ । यसबीचमा हाइड्रोपावर, फाइनान्स, इन्स्योरेन्स र होटेल तथा पर्यटन क्षेत्रका कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढिरहँदा वाणिज्य बैङ्कको सेयर मूल्य भने आइपिओ बराबरकै मूल्यमा पाउन सकिने अवस्थामा पुगेको छ ।

    हाइड्रोपावर कम्पनीमा किन बढ्यो लगानीकर्ताको आकर्षण ? 

    ८ महिनाको अवधीमा १३ समूहमध्ये हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । यस अवधिमा हाइड्रोपावर कम्पनीको ३७ करोड ७४ लाख ७८ हजार कित्ता बराबरको १ खर्ब २ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

    गत आर्थिक वर्षको सोही अवधिमा हाइड्रोपावरको २६ करोड १३ लाख ६९ हजार कित्ता बराबरको ८१ अर्ब ७६ करोड ४६ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले अन्य क्षेत्रका कम्पनीको तुलनामा हाइड्रोपावरको सेयर सङ्ख्या कम हुने भएकाले स्वार्थ समूहले सजिलै चलखेल गरी सेयर मूल्य बढाउने गरेकाले कारोबार पनि बढेकोे बताए ।  

    “अहिले दीर्घकालिन लगानीकर्ताहरू कमै मात्रै सक्रिय छन् । व्यापारीहरूको बाहुल्यता बढेका कारण सेयर बजारको सेयर मूल्यमा बढेको हो ।” उनले भने, “व्यापारीहरू अर्थात ब्रोकरहरूले छोटो समयका लागि थोरै फाइदा लिन कम मूल्यका सेयर खरिद गर्ने र बिक्री गर्ने प्रवृत्ति बढेको कारण हाइड्रोको सूचक बढेको हो ।” लामो समयसम्म लगानी होल्ड गर्ने लगानीकर्ताहरूले भने केही हाइड्रोपावर कम्पनी बाहेकका सेयरमा लगानी गर्न नरुचाउने उनले बताए । 

    वाणिज्य बैङ्कहरूको सेयरमा आकर्षण घट्दै  

    वाणिज्य बैङ्कहरूको सेयरमा लगानीकर्ताको आकर्षण घट्दै गएको छ । मार्केटमा व्यापारीहरू धेरै छन् । बैङ्कहरूको सेयर मूल्य बढी भएको र छोटो समयमा नाफा कमाउन पनि कठिन भएकोले व्यापारी प्रवृत्तिका लगानीकर्ताहरूको आकर्षण बैङ्किङ सेक्टरमा नरहेको रौनियार बताउँछन् ।  

    उनले भने, “बैङ्किङ सेक्टर करिब ६० प्रतिशतले घटिसकेको छ । पेड अफ क्यापिटल हाइ भएकोले बैङ्किङ सेक्टर लगानीका लागि राम्रो भए पनि व्यापारका लागि रुचाइदैन । अहिले पेड अफ क्यापिटल धेरै भएकोले पनि लगानीकर्ताहरूले यसमा हात हालेका छैनन् ।”

    यता सेयर विश्लेषक केशब अर्याल अन्य क्षेत्रको तुलनामा बैङ्कहरूको सेयर सङ्ख्या धेरै हुने र मूल्य बढ्दा पनि थोरै मात्र बढ्ने भएकाले लगानीकर्ता बैङ्कको सेयरमा आकर्षित हुन छाडेको बताउँछन् । 
    वाणिज्य बैङ्कको सेयरमा लगानीकर्ताको आकर्षण पछिल्लो तीन वर्षदेखि नै घट्दै गएको उनले बताए । राष्ट्र बैङ्कले ल्याएको मर्जर नीतिले बैङ्कहरू मर्जरमा गएको र पुँजी थपिएको हुँदा धेरै पुँजी भएका बैङ्कको सेयर मूल्य बढ्न नसक्ने मनोविज्ञानले लगानीकर्ताहरूले अन्य समूहका कम्पनीमा लगानी बढाउन थालेको उनी बताउछन् । 

    “मर्जर नीतिपछि दोस्रो बजारमा नयाँ लगानीकर्ता त्यति थपिएनन्, त्यसमा पनि दीर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन लगानीकर्ता छन्,” उनले भने “हाल लगानीकर्ताहरूले बजारलाई जुवाको रूपमा हेरिरहेका छन् । जुन बैङ्किङ सेयरमा भन्दा अन्य कम्पनीमा लगानी गरेर छिटो नाफा कमाउने उद्देश्य राख्छन् ।” 

    राष्ट्र बैङ्कले पुँजी वृद्धि गर्न र सङ्ख्या घटाएर बलियो बनाउने नीतिअनुरूप बैङ्क तथा वित्तीय संस्था एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ जारी भएको थियो । अहिलेसम्म आइपुग्दा उक्त विनियमावलीकोे चौथो संशोधन– २०७५ अनुसार कार्यान्वयन भइरहेको छ । 

    मर्जर तथा प्राप्तिसम्बन्धी विनियमावली लागू भएर कडाइका साथ कार्यान्वयनमा आएसँगै बैङ्कहरू एक–आपसमा मर्जर, प्राप्ति गर्न बाध्य भए । यसमा बाध्य हुनुको मुख्य कारण केन्द्रीय बैङ्कले तोकेको चुक्ता पुँजीको सीमाका कारण हालसम्मको अन्तराललाई हेर्दा वाणिज्य बैङ्कहरू मर्जर तथा प्राप्तिपछि अधिक पुँजीका बैङ्क बनेका छन् । 

    कुनै समय वाणिज्य बैङ्क मात्रै ३२ वटा थिए । हाल वाणिज्य बैङ्कको सङ्ख्या घटेर १९ वटा पुगेका छन् । अन्य कम्पनीको तुलनामा निकै सुरक्षित र बजार प्रभावित नभइहाल्ने कम्पनीका रूपमा वाणिज्य बैङ्कलाई लिइन्छ । वाणिज्य बैङ्कहरूको पछिल्लो वित्तीय विवरणले पनि सेयर लगानीकर्तालाई निराश बनाएको उनले बताए ।

    पछिल्लो समय सेयर बजारमा उत्तारचढाव आइरहेको छ । अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगटेको अवस्थामा पनि सेयर बजारको अवस्था निराशाजनक हुनु राम्रो नभएको भन्दै विश्लेषक अर्यालले चिन्ता व्यक्त गरे ।  

    होटल र पर्यटनको कारोबार बढ्यो

    गत अर्थिक बर्षको सोही अवधीको तुलनामा होटल र पर्यटनको कुल कारोबार हिस्सा भने झन्डै तेब्बरले बढेको छ । नेप्सेका अनुसार आर्थिक बर्ष २०७८÷७९ मा ०.६ प्रतिशत मात्र होटलको सेयर कारोबार भएकोमा गत वर्ष बढेर १.१ प्रतिशत पुगेको छ ।

    यस्तै, आर्थिक बर्ष २०८०/८१ को ८ महिनामा गत बर्षको तुलनामा २.९ प्रतिशतले बढेर ४.० प्रतिशत पुगेको छ । गत आर्थिक बषको फागुन मसान्तसम्ममा २ अर्ब ८६ करोड २४ लाख रुपैयाँ बराबरको ८ करोड १४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएकोमा चालु आर्थिक बर्षको सोहि अवधीमा १४ अर्ब १४ करोड २८ लाख रुपैयाँ बराबरको २४ करोड ३४ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ । 

    यस अवधिमा सूचीकृत हुने होटलको सङ्ख्या थपिएकाले पनि सेयर कारोबार पनि बढेको विश्लेषकहरू बताउँछन् । साथै, कोभिडपछि होटलहरूको व्यवसायमा सुधार आइ नाफा बढेकाले लगानीकर्ता होटलको सेयरप्रति आकर्षित भएका हुन् ।

    यता, लघुवित्तको सेयर सूचाङ्कमा पनि पछिल्लो समय क्रमशः गिरावट आइरहेको छ । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भने राष्ट्र बैङ्कले लघुवित्तलाई अवहेलना गरेको बताउँछन् । राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरूले लगानीकर्तालाई १५ प्रतिशतभन्दा बढी बोनस दिन नपाइने व्यवस्था गरेको छ । यसले पनि लगानीकर्ता बिच्किएको उनको भनाइ छ । 

    लघुवित्त संस्था नाफामुखी बन्दै ऋणीको क्षमता भन्दा बढी कर्जा लगानी गर्ने र ऋण तिर्न नसक्नेको ब्याज थप गर्दै नयाँ ऋणको नाममा जथाभावी शुल्क असुल गरेपछि राष्ट्र बैङकले कर्जा लगानीसहित लाभांश वितरणमै कडाइ गरेको थियो ।

    केन्द्रीय बैङ्कले लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । 

    त्यस्तै, पछिल्लो समय भइरहेको आन्दोलन, यस बर्ष अधिकांश लघुवित्तले बोनस नबाड्नु, मर्जर तथा टेकओभर नीति, मिटरब्याजको लेभल तथा अर्थमन्त्री बर्षमान पुनले मिटरब्याज पीडितहरूसँग गरेको सम्झौताका कारण पनि लघुवित्तमा लगानीकर्ताहरूको आकर्षण घटेको रौनियार बताउँछन् ।  

    बिमा सेक्टरमा किन बढ्दैछ आकर्षण ? 

    कुनै समय लगानीकर्ताहरूको सर्वाधिक रोजाइमा पर्ने लघुवित्तको सूचक घटिरहेको बेला पछिल्लो समय बिमा सेक्टरमा भने प्राथमिकतामा परेको देखिन्छ । बिमा क्षेत्रको प्रोफिट बढेका कारण लगानीकर्ताहरू बिमा सेक्टरमा सिफ्ट भएको उनको भनाइ छ । त्यस्तै, बिमा प्राधिकरणले निर्जीबन बिमाको साढे दुई अर्ब, जीवन बिमा कम्पनीको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन जारी गरेको छ । “निर्देशन अनुसार अहिलेसम्म कतिपय कम्पनीको ‘पेड अफ क्यापिटल’ नपुगेको हुनाले बोनस आउँछ कि भनेर पनि यस क्षेत्रमा लगानी गरेको देखिन्छ,” रौनियारले भने ।  

    सरकारले इन्स्योरेन्सलाई अनिवार्य गर्दै लगेका कारण बिमा सेक्टरको कमाइ बढिरहेको र मूल्य पनि घटेका कारण पनि बिमाको सेयरमा आकर्षण बढेको उनले बताए ।

    लगानीकर्ताका लागि उपयुक्त क्षेत्र कुन ? 

    रौनियारका अनुसार दीर्घकालिन लगानीकर्ताका लागि बैङ्किङ र लघुवित्तमा लगानी गर्नु उत्तम मानिन्छ भने व्यापार गर्ने मनसायले दोस्रो बजार प्रवेश गर्नेहरूका लागि हाइड्रो । दीर्घकालिन लगानी गर्ने हो कि व्यापार गर्ने त्यो कुरा लगानीकर्तामा भर पर्ने उनले बताए । 

    संस्थागत तथा ठूला लगानीकर्ताहरूलाई आर्कषण गर्न ऋणको २० करोड क्याप खुल्ला गर्नुपर्ने लगानीकर्ताहरूले बताउँदै आएका छन् । 

    बैङ्क तथा वित्तीय संस्थासँग भएको पैसालाई सेयर बजारमा लगानी गर्न खुल्ला गर्नुपर्ने तथा किनेको सेयर ३६५ दिन पछि मात्रै बेच्न पाउने नीति परिमार्जन गर्नुपर्ने उनीहरूको भनाइ छ । “किनेको सेयर पनि १ बर्षपछि किस्ता–किस्तामा मात्रै बेच्न पाइन्छ, सो कारण बजार बढ्न नसकेको हो” सेयर विश्लेषक अर्याल भन्छन्, “राष्ट्र बैङ्कले नीति परिमार्जन गरेर सिमाभित्र रही किनेको सेयर ३६५ दिनभन्दा अगावै  बैङ्क तथा वित्तिय संस्थालाई बेच्न दिने हो भने बजारमा माग बढ्छ तथा बजार बढ्न सहयोग पुग्छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार