काठमाडौँ / साताको पहिलो दिन आइबार पनि सेयर बजार ११.६६ अङ्कले बढेको छ । केही दिन यता बढिरहेको बजार आज पनि बढेर २७५५.४० बिन्दुमा पुुगेको हो ।
कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा उल्लेख्य बढेको देखिन्छ । गत बिहीबार ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९२ वटाको मूल्य बढेको छ । त्यस्तै, ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन ३२८ धितोपत्रको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर १ लाख ८ हजार ९१३ पटकमा खरिद बिक्री भएको छ ।
अन्य समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण
आइतबार १३ ओटा समूहमध्ये ७ ओटा समूहको परिसूचक बढेको छ भने ६ ओटाको घटेको छ । जसमा सबैभन्दा बढी अन्य समूहको परिसूचक ३.७२ प्रतिशतले बढेको छ ।
यसैगरी, उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.७८ प्रतिशत, लगानी समूह १.३३ प्रतिशतले बढ्दा निर्जीबन बीमा ०.१३ प्रतिशत, जीवन बिमा ०.८६ प्रतिशत, म्युचुअल फण्ड ०.०२ प्रतिशत र बैंकिङ समूह ०.०३ प्रतिशतले मात्रै बढेको छ ।
आज सबैभन्दा बढी व्यापारिक समूहको १.३२ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त समूह ०.६६ प्रतिशत, हाइड्रोपावर समूह ०.५६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५० प्रतिशत, वित्त ०.४५ प्रतिशत र विकास बैंक समूह ०.४८ प्रतिशतले घटेको छ ।
आइतबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रतिकित्ता ७० रुपैयाँ ९० पैसाले मूल्य बढेको यो कम्पनीको सेयर मूल्य ७८० रुपैयाँ २० पैसा कायम भएको छ । यसैगरी, कुमारी योजनाको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर ९.६२ रुपैयाँ कायम भएको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ७.२९ प्रतिशत अर्थात १ हजार १६६ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता १७ हजार १६६ रुपैयाँ ६० पैसा कायम भएको छ ।
यता, नेपाल रिइन्स्योरेन्स ७.०५ प्रतिशत अर्थात ७५.९० रुपैयाँले बढेर प्रतिकित्ता १ हजार १५२ रुपैयाँ ९० पैसा पुगेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.७९ प्रतिशतले घटेर ४ हजार ९८६ रुपैयाँ कायम भएको छ । यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.०२ प्रतिशतले घटेर प्रतिकित्ता ६८० रुपैयाँ ४० पैसा कायम भएको छ ।
आइतबारको कारोबार रकममा हिमालयन रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको ९५ करोेडड ६४ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोो हो । हिमालयन इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ९८२ रुपैयाँ कायम छ ।
त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्सको ६१ करोड ४८ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य ७४२ रुपैयाँ कयम भएको छ । नेपाल पुनर्विमा कम्पनीको ६० करोड २९ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १५२ रुपैयाँ कायम भएको छ ।