काठमाडौँ / नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर निस्केपछि संरक्षक चौधरीले पार्टीको अध्यक्ष आफू रहेको र रञ्जिता श्रेष्ठ निवर्तमान अध्यक्ष भएको बताएका छन् ।
सञ्चारकर्मीहरूसँग गरेको कुराकानीमा संरक्षक चौधरीले आफू लाखौँ जनताबाट चुनिएर आएको कारणले अध्यक्ष भएको बताएका हुन् ।
निर्वाचन आयोगले भन्दैमा आफू पार्टीको अध्यक्ष नरहेको भन्न नमिल्ने भन्दै उनले भने, “निर्वाचन आयोगले त प्रधानमन्त्री प्रचण्ड र विप्लवलाई पनि अध्यक्ष स्वीकारेको थिएन । तर, उहाँहरू पार्टी अध्यक्ष हुँदै कहाँ कहाँ पुगिसक्नुभो ।”
अध्यक्षको विवाद विचाराधीन रहेका कारण फैसला नआएसम्म आफू नै अध्यक्ष रहेको दावी गर्दै उनले बाहिर आएको हल्लाजस्तो पार्टीमा विवाद नरहेकोसमेत बताए ।
रञ्जिता श्रेष्ठ पक्षका कुनै पनि नेतामाथि हातपात नगरेको दाबी गर्दै उनले रञ्जिता पक्षधरले सुटर ल्याएर पार्टी कार्यालय घेर्ने चेतावनी दिइएको बताए। आफूले प्रधानमन्त्री प्रचण्डसँग उनीहरू (रञ्जिता)लाई सुटर ल्याउन सक्ने कस्तो तागत दिनु भयो भनेर पनि सोधेको संरक्षक चौधरी बताउँछन् ।
साथै, छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले ‘तपाईंहरूको पार्टीमा खासै विवाद छैन, किन बाहिर छताछुल्ल भएको ? त्यसलाई कसरी हुन्छ मिलाउनुस्’ भनेर सुझावसमेत दिएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले फोन गरेर बोलाएपछि आफू भेट्न गएको उनको भनाइ छ । साथै उनले चैत २३ गते बस्ने बैठकले पार्टीमा भएको सबै विवाद समाधान गर्ने दाबीसमेत गरे ।