images
images

डढेलोका कारण वायु प्रदूषण : दैनिक ३० जनाभन्दा बढी बिरामी, दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति

डढेलोका कारण वायु प्रदूषण : दैनिक ३० जनाभन्दा बढी बिरामी, दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • डढेलोका कारण वायु प्रदूषण : दैनिक ३० जनाभन्दा बढी बिरामी, दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति

    गलेश्वर (म्याग्दी) / म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    images
    images

    सिमलचौरलगायत जिल्लाका पाँच सामुदायिक वनमा लागेको डढेलोका कारण तुँवालोले वातावरण प्रदूषित बनाउँदा आँखा दुख्ने, छाती पोल्ने, रुघाखोकी र ज्वरो आउने, दम बढ्नेजस्ता बिरामी बढेको पश्चिम म्याग्दीको दरबाङ अस्पतालका चिकित्सक यमन नेपालीले जानकारी दिए । 

    उनका अनुसार अहिले दैनिक ३० जनाभन्दा बढी बिरामी वायु प्रदूषणबाट ग्रस्त भएका भेटिएका छन् । चैतदेखि वैशाख पहिलो सातासम्म म्याग्दीका ७५ भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा डढेलो लागेपछि धुवाँ र तुवाँलोका कारण वातावरण विषाक्त बनेको तथा बिरामी हुनेक्रम पनि बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि एक सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

    एक साताअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । बुधबार मुलछहरी सामुदायिक वनमा लागेको आगोले करिब डेढ सय हेक्टर वन क्षेत्र नाश हुनुका साथै जङ्गली जनावर बासस्थान छाडेर गाउँ पस्न थालेपछि गाउँलेहरु आतङ्कित भएका स्थानीयले बताएका छन् ।  

    सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीय परिचालित भएका छन् । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो निभाउन नसकेको स्थानीय भीमबहादुर रिजालले बताए । 

    यसैगरी पश्चिम म्याग्दीको निस्कोट, उपल्लो दरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

    सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । 

    “यस वर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ”, अधिकारीले भने । उनका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधन नष्ट गर्ने गरिएको छ ।

    डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा रु १० लाख बजेटमा विभिन्न उपकरणसहितको सामग्री व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ । जङ्गलमा जथाभावी लगाइएको डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ । 

    डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उनको भनाइ छ । जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार