ज्योति विकास बैङ्क लिमिटेडले महोत्तरी जिल्लाको १२० अग्नि पीडित परिवारहरूका लागि राहत सामग्री प्रदान गरेको छ । बैङ्कले बुधबार मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत सामाग्री प्रदान गरेको हो ।
बैङ्कले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पीडित १२० घरधुरीलाई सहयोगार्थ डसना ओछ्यान र झुल प्रदान गरेको जनाएको छ। वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरूको राहतको लागि बैङ्कले उक्त सहयोग गरेको हो ।
राहत वितरण कार्यकममा ज्योति विकास बैङ्कका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरु अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन् ।
ज्योति विकास बैङ्कले देशैभरि रहेका मातहतका कार्यालयहरू मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ूहाम्रो विकास प्रवर्द्धन कोष” मार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैङ्कले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
संस्थागत शुशासनलाई सिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैङ्क सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैङ्कले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।