images
images

हिमाल चढ्नेहरूसँग सरकारले उठायो करिब ६९ करोड : सगरमाथाको हिस्सा ८७ प्रतिशत, कुन हिमालबाट कति ?

हिमाल चढ्नेहरूसँग सरकारले उठायो करिब ६९ करोड : सगरमाथाको हिस्सा ८७ प्रतिशत, कुन हिमालबाट कति ?

पर्यटन विभागको तथ्याङ्क अनुसार यस बर्षको वसन्त ऋतुमा सरकारले हिमाल आरोहण गर्ने पर्यटकहरूसँग कुल ६८ करोड ९९ लाख रोयल्टी सङ्कलन गरेको हो ।

शनिवार, जेठ १२ २०८१
शनिवार, जेठ १२ २०८१
  • हिमाल चढ्नेहरूसँग सरकारले उठायो करिब ६९ करोड : सगरमाथाको हिस्सा ८७ प्रतिशत, कुन हिमालबाट कति ?

    काठमाडौँ / सरकारले हिमाल चढ्नेहरूसँग रोयल्टी बापत करिब ६९ करोड रुपैयाँ सङ्कलन छ । पर्यटन विभागको तथ्याङ्क अनुसार यस बर्षको वसन्त ऋतुमा सरकारले हिमाल आरोहण गर्ने आन्तरिक र बाह्य पर्यटकहरूसँग कुल ६८ करोड ९९ लाख ७५ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको हो । 

    सबैभन्दा धेरै सगरमाथा चढ्ने आरोहीहरूमार्फत सङ्कलन भएको विभागको तथ्याङ्क छ । कुल रोयल्टीमध्ये ८७.३४ प्रतिशत सगरमाथा आरोहरण गर्नेहरूबाट सङ्कलन भएको देखिन्छ । यो रकम ६० करोड २५ लाख ५९ हजार ४९९ रुपैयाँ हो । 

    यस बर्षको वसन्त ऋतु (चैत १९ गतेदेखि जेठ ९ गतेसम्म)मा सगरमाथा आरोहणका लागि ४५ आरोही समूहका ३४५ जना पुरुष र ७६ जना महिला गरी कुल ४२१ जनाले आरोहणको अनुमति लिएका थिए ।  

    यस्तै, यो सिजनमा सगरमाथापछि सबैभन्दा धेरै हिमाल आरोहणको अनुमति सोलुखुम्बुकै ल्होसे हिमालका लागि दिइएको विभागको तथ्याङ्क छ । ल्होसे हिमाल आरोहण गर्ने दलहरूबाट मात्रै सरकारले ३ करोड ७१ लाख ५० हजार ९ सय ८३ रुपैयाँ रोयल्टी प्राप्त गरेको हो । जुन कुल रोयल्टी वापतको कुल रकमको ५.३९ प्रतिशत हिस्सा हुन आउँछ । ल्होसे हिमालमा यो सिजनमा १६ आरोहण दलका १२८ पुरुष र २८ महिला गरी १ सय ५६ जनाले आरोहणको अनुमति लिएको विभागले जनाएको छ ।

    यस सिजनमा सबैभन्दा कम रोयल्टी मनास्लु हिमालबाट उठेको देखिन्छ । सिजनभरी दुई जनाले यो हिमाल आरोहण गरेका थिए भने रोयल्टी वापत २० हजार रुपैयाँ मात्रै सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 
    यस बर्षको वसन्त ऋतुमा १२ जिल्लाका ३० हिमाल आरोहणका लागि १२३ आरोही समूहका एक हजार दुई जनाले आरोहणको अनुमति लिएका थिए । जसमा ७ सय ९२ जना पुरुष रहेका छन् भने २ सय १० जना महिला रहेका छन् ।

    यी हुन् सबैभन्दा धेरै रोयल्टी सङ्कलनभएका ७ हिमालहरू 

    1.JPG

    कुन हिमाल आरोहणबाट कति आम्दानी ?

    सगरमाथा, ल्होत्से, मकालु प्रथम, कञ्चनजङ्घा (मुख्य), धौलागिरी, अन्नपूर्ण (प्रथम) र अमा दब्लम बाहेकका अन्य २३ हिमाल आरोहणबाट भने कम्तीमा १ करोड रोयल्टी सङ्कलन भएको छ । विभागको अनुसार हिमलुङ हिमाल आरोहणका लागि १८ जनाले अनुमति लिएका थिए । जसबाट ११ लाख ९५ हजार ५ सय ५० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । 

    यस्तै, नुप्से हिमालबाट २७ लाख १७ हजार ८ सय ८० रुपैयाँ, पुथा हिउचुली हिमालबाट ४ लाख ६५ हजार ९ सय १५ रुपैयाँ, थारोङ शिखरबाट ३३ हजार २ सय रुपैयाँ, भृकुटी हिमालबाट ६६ हजा ५ सय ५० रुपैयाँ र सारिबुङ हिमालबाट ३३ हजार २९१ रुपैयाँ रोयल्टी प्राप्त भएको विभागले जनाएको छ ।

    2.JPGस्रोत : पर्यटन विभाग

    आफ्नौ रेकर्ड तोड्दै आरोही कामीरिता

    जेठ ९ गते बुधबार विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका थिए । उनले सगरमाथाको ३० पटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । 

    सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् । अघिल्लो आइतबार (वैशाख ३० गते) उनले २९ औं पटक सगरमाथामा सफल आरोहण गरेका थिए । यो आरोहण सफल भएसँगै कामीरिता संसारकै सर्वाधिक अग्लो हिमचुचुरो सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमानी आरोही भएका छन् ।

    विश्वभर ‘एभरेस्ट म्यान’ नामले पनि कहलिएका कामीरिताले गत वर्षको वसन्तकालीन याममा आफैंले बनाएको २८ औं पटकको सगरमाथा आरोहणको रेकर्ड ब्रेक गर्दै वैशाख ३० गते बिहान नेपाली समयअनुसार ७ः२५ बजे सगरमाथा शिखरमा २९ औं पटक सफल आरोहण गरेर आधारशिविर फर्केका थिए ।

    समुन्द्री सतहबाट झन्डै ५४ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरमा ८ दिन विश्राम गरेर ५४ वर्षीय कामीरिता पुन यसै सिजनमा दोस्रो पटकका लागि सोमबार सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

    विक्रम संवत २०३९ (१२ वर्षको उमेर) देखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका सोलुखुम्बुको थामेका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीन याममा सगरमाथा आरोहण गरेका थिए । यसअघि उनले ५ वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरिसकेका छन् । एकै सिजनमा दुई पटकको आरोहणअन्तर्गत यो उनको छैंटौं आरोहण हो ।

    गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

    नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन् । 

    वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले जेठ १० गते बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् । 

    सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । 

    उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको जनाइएको छ । यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । 

    उनले सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी हुन् । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार