काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडले छैटौँ वार्षिक #DigitalDecember अभियानअन्तर्गत देशव्यापी डिजिटल संवाद सम्पन्न गरेको छ । बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरूबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो।
कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिबद्धतालाई थप जोड दिएको छ ।
सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारिता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरूबारे विविध समूहका सहभागीहरूलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो ।
यी छलफलहरू देशका सातैवटा प्रदेशका प्रमुख सहरहरूमा विभिन्न मितिहरूमा सम्पन्न गरिएका थिए ।
डिसेम्बर ११ मा गण्डकी प्रदेशको पोखरामा, डिसेम्बर १३ मा कर्णाली प्रदेशको सुर्खेतमा, डिसेम्बर १८ मा कोशी प्रदेशको इटहरीमा, डिसेम्बर २० मा मधेश प्रदेशको जनकपुरमा, डिसेम्बर २३ मा बागमती प्रदेशको हेटौँडामा, डिसेम्बर २४ मा सुदुरपश्चिम प्रदेशको धनगढीमा, डिसेम्बर २७ मा लुम्बिनी प्रदेशको भैरहवामा र २९ डिसेम्बरमा काठमाडौँ उपत्यकामा संवाद गरिएको बैंकले जनाएको छ ।
प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिहरूलगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए ।
यी कार्यक्रमहरूमा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।
देशका विभिन्न समुदायहरूलाई डिजिटल साक्षरतामार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्न सो कार्यक्रामहरुमा निम्न प्रकारका विविध विषयहरु समेटिएको थियो ।
वित्तीय डिजिटल साक्षरता
डिजिटल बैंकिङले जीवनस्तरमा गर्न सक्ने सुधार
अर्थतन्त्र र व्यापक पारिस्थितिक प्रणालीमा डिजिटल बैंकिङ्गको फाइदा
नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन परिदृश्य
नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था
डिजिटल बैंकिङका चुनौतीहरू (सुरक्षा, जोखिम, ठगीका प्रकार र समाधानहरू)
नेपालमा डिजिटाइजेशन र डिजिटल बैंकिङको भविष्य
प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको छ।
विभिन्न सरोकारवालाहरूलाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको छ।