अस्थिरताका बाबजूद विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिहरू (हाई नेटवर्थ इन्डिभिजुअल्स–एचएनडब्ल्यूआई)को संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
फ्रान्सको बहुराष्ट्रिय परामर्श कम्पनी ‘केपजेमिनि’ को सार्वजनिक गरेको ‘वल्र्ड वेल्थ रिपोर्ट २०२४’ अनुसार सन् २०२३ मा विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिहरूको संख्या ५.१५ प्रतिशतले बढेको पाइएको हो ।
प्रतिवेदनका अनुसार विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिको संख्या २ करोड २८ लाख पुगेको छ । यो हालसम्मकै उच्च हो ।
उच्च नेटवर्थ भएका व्यक्तिहरू (हाई नेटवर्थ इन्डिभिजुअलस्) भनेर कम्तीमा १० लाख अमेरिकी डलर (१३ करोड ३१ लाख रुपैयाँ) नेटवर्थ भएका व्यक्तिलाई चिनिन्छ ।
रिपोर्ट अनुसार सन् २०२३ मा हाई नेटवर्थ भएका व्यक्तिहरूको संख्या रेकर्ड उच्च विन्दुमा पुगेको हो । यस्ता व्यक्तिहरूले सेयर बजारमा गरेको लगानी आकाशिएपछि उनीहरूको सम्पति पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
सन् २०२३ मा हाई नेटवर्थ भएका व्यक्तिहरूको सम्पति समग्रमा ४.७ प्रतिशतले बढेर ८६८ खर्ब डलर पुगेको छ । सन् २०२३ मा मात्रै उनीहरूको सम्पति ३८ खर्ब डलरले बढेको छ ।
उच्च नेटवर्थ भएका व्यक्तिहरूको संख्या र उनीहरूको कुल सम्पति केपजेमिनिले सन् १९९७ मा वार्षिक रिपोर्ट प्रकाशन गर्न थालेयताकै सबैभन्दा उच्च हो ।
यस वर्ष सबैभन्दा धेरै सम्पत्ति उत्तर अमेरिकीनहरूको बढेको छ । सन् २०२३ मा उत्तरु अमेरिकनको सम्पत्ति ७।२ प्रतिशतले बढेको छ भने उच्च नेटवर्थ हुने व्यक्तिको संख्या ७।१ प्रतिशतले बढेको छ ।
त्यस्तै, एशिया प्यासिफिकमा उच्च नेटवर्थ भएका व्यक्तिको संख्या ४.८ प्रतिशत र सम्पत्ति ४.२ प्रतिशतले बढेको छ । त्यसैगरी, युरोपमा नेटवर्थ ३.९ प्रतिशत र व्यक्तिको संख्या ४ प्रतिशत, ल्याटिन अमेरिकामा सम्पत्ति २.३ प्रतिशत र व्यक्तिको संख्या २.९ प्रतिशत र मध्यपूर्वमा सम्पत्ति २.७ प्रतिशत र व्यक्तिको संख्या २.१ प्रतिशतले बढेको छ ।
विश्वका अन्य सबै क्षेत्रका व्यक्तिको नेटवर्थ र संख्या बढ्दा अफ्रिामा भने घटेको छ । अफ्रिकामा सन् २०२३ मा नेटवर्थ १ प्रतिशत र व्यत्तिःको संख्या ०.१ प्रतिशतले घटेको छ । वस्तुहरूको मूल्यमा गिरावट आउँदा र विदेशी लगानी घट्दा अफ्रिकनहरूको नेटवर्थ घटेको प्रतिवेदनमा उल्लेख छ ।
केपजेमिनिले विश्व सम्पत्ति विवरणमा विश्वका ७१ देशलाई समेटको छ । जसले विश्वव्यापी कुल राष्ट्रिय आयको ९८ प्रतिशतभन्दा बढी र विश्व पूँजी बजारको ९९ प्रतिशत समेट्दछ ।
यी हुन् संसारका शीर्ष १० धनी व्यक्तिहरू
– बर्नार्ड अर्नाल्टः २०७ बिलियन
– एलोन मस्कः २०३ बिलियन
– जेफ बेजोसः १९९ बिलियन
– मार्क जुकरबर्गः १६६ बिलियन
– ल्यारी पेजः १५३ बिलियन
– बिल गेट्सः १५२ बिलियन
– सर्गेई ब्रिनः १४५ बिलियन
– स्टीव बाल्मरः १४४ बिलियन
– वारेन बफेटः १३७ बिलियन
– ल्यारी एलिसनः १३२ बिलियन