लुम्बिनीमा बाल मृत्युदर घट्यो, गरिबीको दर पनि घट्यो

लुम्बिनीमा बाल मृत्युदर घट्यो, गरिबीको दर पनि घट्यो

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    लुम्बिनीमा बाल मृत्युदर घट्यो, गरिबीको दर पनि घट्यो

    तुलसीपुर (दाङ) / लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ । 

    images
    images

    शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्याङ्क उल्लेख गरेका छन् । 

    लुम्बिनीमा गरिबीको दर पनि घटेको छ । पाँच वर्षअघि ३० प्रतिशत रहेकामा हाल गरिबीको दर १८ प्रतिशतमा झरेको छ । बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर आठ प्रतिशत पुगेको छ । 

    पाँच वर्षअघि रु पाँच खर्ब ४० अर्ब रहेको कूल गार्हस्थ्य उत्पादन चालु आवमा रु सात खर्ब ७८ अर्ब हुने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय अमेरिकी डलर आठ सय तीनबाट बढेर एक हजार एक सय २६ पुगेको जनाइएको छ ।

    त्यस्तै माध्यमिक तह (कक्षा ९–१२) को कूल भर्नादर ७५ प्रतिशतबाट ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको छ । लुम्बिनीमा सिँचाइ व्यवस्था पनि वृद्धि भएको छ । 

    बाह्रै महिना सिञ्चित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेश माछामासु र दूध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको जनाइएको छ । कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको मन्त्री आचार्यले बताए । 

    विसं २०७५ मा सडकको लम्बाइ ११ हजार दुई सय ३३ किलोमिटर रहेकामा हाल १५ हजार ७६ पुगेको छ । तीस मिनेटको दूरीमा पक्की सडकमा पहुँच भएको जनसङ्ख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको छ भने एक सय नौमध्ये एक सय आठ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको जनाइएको छ ।

    लुम्बिनीमा विद्युत्को पहुँच पनि विस्तार भएको छ । विद्युत्मा पहुँच पुगेको जनसङ्ख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएका घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगेको उल्लेख गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार