काठमाडौँ / केही महिना यता स्थिर रहेको घरजग्गाको कारोबार जेठ महिनामा भने केही मात्रामा बढेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा अघिल्ला महिनाहरू र गत आवको सोही महिनाको तुलनामा लिखत पारित र राजस्व दुवैमा सुधार देखिएको हो ।
चालु आर्थिक बर्षको अन्तिममा घरजग्गाको कारोबारसँगै राजस्व संकलन पनि बृद्धि भएको छ ।
आवको अन्तिमतिर आउँदा लिखत पारित उललेख्य रूपमा बढेको देखिन्छ । आर्थिक वर्षको बीचमा केही महिना गत वर्षभन्दा कम देखिएको राजस्व संकलन वैशाख र जेठमा भने उल्लेख्य रूपमा बढेको देखिन्छ ।
विभागको तथ्याङ्क अनुसार चालु आवको जेठ मसान्तसम्म ४ लाख ९१ हजार ११८ लिखत पारित भएको छ । उक्त लिखत पारित हुँदा ३७ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्याङ्क छ ।
यता, जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ । जेठमा भएको घरजग्गा कारोबार वैशाखको तुलनामा २३ प्रतिशतले कारोबार बढेको देखिएको छ । वैशाखमा ४९ हजार ७ सय ८२ वटा लिखत पारित भएका थिए ।
कुन मालपोत कार्यालयबाट कतिको भयो कारोबार ?
जेठ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले सबैभन्दा धेरै कारोबार गरेको छ । यस कार्यालयले २ हजार ३ सय ७५ वटा लिखत पारित गरेको छ ।
यस्तै, मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट २ हजार ३ सय ४८, मालपोत कार्यालय भद्रपुर, झापाबाट एक हजार ९ सय ८१, मालपोत कार्यालय बेलवारी, मोरङबाट एक हजार ९ सय ५८, मालपोत कार्यालय राजविराज, सप्तरीबाट एक हजार ७ सय २९ वटा लिखत पारित भएको विभागको तथ्याङ्क छ ।
यता, मालपोत कार्यालय मलङ्गवा, सर्लाहीबाट एक हजार ५७८, मालपोत कार्यालय पर्साबाट एक हजार ५५४, मालपोत कार्यालय जलेश्वर, महोत्तरीबाट एक हजार ५०८, मालपोत कार्यालय कलैया, बारबाटा एक हजार ४०२, मालपोत कार्यालय सिराहाबाट एक हजार ३७०, मालपोत कार्यालय धनगढी, कैलालीबाट एक हजार ३३५, मालपोत कार्यालय तौलिहवा र कपिलवस्तुबाट एक हजार ३१३ वटा लिखत पारित भएको छ ।
त्यसैगरी, मालपोत कार्यालय भक्तपुरबाट एक हजार १९७, मालपोत कार्यालय लाहान, सिराहाबाट एक हजार १७७, मालपोत कार्यालय रुपन्देहीबाट एक हजार १७३, मालपोत कार्यालय नेपालगञ्ज, बाँकेबाट एक हजार ११७, मालपोत कार्यालय लगनखेल, ललितपुरबाट एक हजार ८१, मालपोत कार्यालय तुलसीपुर, दाङबाट एक हजार ६५ र मालपोत कार्यालय काभ्रेपलान्चोकबाट एक हजार २ वटा लिखत पारित भएको छ ।
कारोबार बढ्नुको मुख्य कारण
नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिएसँगै करिब दुई वर्षपछि घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सरकारले ०७९ जेठ २३ मा भूउपयोग नियमावली जारी गरेसँगै सोही वर्षको साउनदेखि घरजग्गा कारोबार ओरालो लागेको थियो ।
घरजग्गाका विषयमा देशभरि भएका सरकारी काम र त्यसबापत उठेको राजस्वको विवरणले कारोबार बढेको देखिएको छ ।
जेठ पहिलो साता मौद्रिक नीतिको तेस्रो त्रैमासिकमार्फत राष्ट्र बैंकले लचिलो नीति लिएपछि सकारात्मक प्रभाव परेको छ । घर जग्गा खरिदमा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा ७० प्रतिशत कायम गरिएको छ ।
यसअघि ऋणीले बैंकमा पेस गरेको कर चुक्ता आयको ५० प्रतिशतसम्म मासिक किस्ता हुने गरी कर्जा लिन पाइने व्यवस्था थियो ।
राष्ट्र बैंकले उक्त व्यवस्था परिमार्जन गरी कर चुक्ता आयको ७० प्रतिशत मासिक किस्ता हुनेसम्मको ऋण लिन पाउने व्यवस्था गरेसँगै कारोबार बढेको छ ।
जेठ महिनामा घरजग्गा कारोबारमा सुधार आउनु मौद्रिक नीतिकै प्रभाव भएको हुनसक्ने नेपाल घरजग्गा तथा आवास विकास महासंघले जनाएको छ । मौद्रिक नीति संशोधनले घरजग्गा कारोबार र राजस्वमा दुवैमा सुधार देखिएको महासंघका अध्यक्ष भेषराज लोहनीले बताउँछन् ।
बढ्यो राजस्व संकलन पनि
कारोबार बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । जेठ महिनामा देशभरिका मालपोत कार्यालयबाट ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो वैशाखको तुलनामा १२.३० प्रतिशत अर्थात ४७ करोड ५४ लाख रुपैयाँले बढी हो । वैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आर्थिक बर्ष २०७९/८० को जेठमा घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब ७५ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो । सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिष्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।
काठमाडौँ उपत्यकामा घरजग्गा कारोबार कस्तो रह्यो ?
काठमाडौँ उपत्यकामा जेठ महिनामा घरजग्गाको कारोबारमा बैशाखको तुलनामा भने केही मात्रामा बढेको देखिएको छ । यस महिनामा उपत्यकामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट भएको छ । भक्तपुरबाट एक हजार १९७ वटा लिखत पारित भएको विभागको तथ्याङ्क छ । बैशाखमा यस मालोित कार्यालयबाट ९८४ वटा लिखित पारित भएको थियो ।
यस्तै, मालपोत कार्यालय लगनखेल, ललितपुरबाट एक हजार ८१, मालपोत कार्यालय कलंकी, काठमाडौँ ७६३, मालपोत कार्यालय चावहिल, काठमाडौँ ५३२, मालपोत कार्यालय साँखु, काठमाडौँ ५२९, मालपोत कार्यालय मनमैजु, काठमाडौँ ३१७, मालपोत कार्यालय डिल्लीबजार, काठमाडौँ २५४, मालपोत कार्यालय टोखा, काठमाडौँ १५९ र सबैभन्दा कम मालपोत कार्यालय गोटीखेल, ललितपुर ३१ वटा लिखित पारित भएको छ ।
सरकारले ०७९ जेठ २३ मा भू–उपयोग नियमावली जारी गरेको थियो, जसअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्रै कित्ताकाट गर्न पाइन्थ्यो ।
यो नीतिका कारण सोही वर्षको साउनदेखि कित्ताकाटसँगै समग्र घरजग्गा कारोबार घट्न थालेको थियो । व्यवसायीहरूले कित्ताकाट नहुँदा घरजग्गा कारोबार बढ्न नसकेको बताउँदै आएका थिए । त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वअर्थमन्त्री प्रकाशशरण महत र तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायतले ‘जग्गाको कित्ताकाट खुला भएसँगै’ अर्थतन्त्र चलायमान हुने दाबी गरेका थिए ।
पालिकाले कृषि र गैरकृषि छुट्याउन ढिलाइ गरेपछि ०७९ मंसिरदेखि कित्ताकाट ठप्प भएको थियो । गत साउन ३० को मन्त्रिपरिषद् बैठकले पुनः कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सरकारले नियमावली संशोधन गरेर आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ ।