रोल्पा जिप दुर्घटनाहुँदा तालाबाङ गाउँ शोकमा डुब्यो,  सातको निधन, आठजना घाइते

रोल्पा जिप दुर्घटनाहुँदा तालाबाङ गाउँ शोकमा डुब्यो,  सातको निधन, आठजना घाइते

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    रोल्पा जिप दुर्घटनाहुँदा तालाबाङ गाउँ शोकमा डुब्यो,  सातको निधन, आठजना घाइते

    रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।

     रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो ।  

    दुर्घटनामा आठजना घाइते भएका थिए  । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ ।
     
    घाइते मध्ये छजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

    सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छजनाको पहिचान भएको  छ भने एकजना बालिकाको पहिचान भएको  छैन ।  


    दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का,  परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी – ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । 

    पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशङ्का गरिएको  प्रहरी निरीक्षक शाहीले बताए । 

    घाइते आठजनामध्ये दुईजना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । गम्भीर अवस्थाका छजनालाई भने थप उपचारका लागि गएराति नै बुटवल ल्याइएको छ ।  

    सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको जनाइएको छ । 

    चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जिप पछाडि सर्दै सडकबाट तल खसेको  हुनसक्ने आशंका गरिएको छ । 

    बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जिप दुर्घटनामा परेको थियो । जिपमा चालकसहित १५ जना सवार थिए । 

    दुर्घटनामा जिपका चालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले जनाएको छ ।
    तालाबाङ गाउँ शोक परेको छ । जिप दुर्घटनामा अधिकांश तालाबाङवासी परेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार