काठमाडौँ / सरकारी तथ्याङ्क अनुसार अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक रहेको देखिए पनि व्यावसायिक वातावरण बन्न भने सकिरहेको छैन ।
समग्र अर्थतन्त्रमा देखिएको मन्दीको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको हो । सुधारका केही सङ्केतहरू देखिए पनि घरजग्गामा आशातित उपलब्धि हासिल हुन सकिरहेको छैन ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सूचकहरू सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार पहिलेकै अवस्थामा आउन नसकेको देखाउँछ । विभागका अनुसार आर्थिक बर्ष २०८०/८१ मा घरजग्गाबाट प्राप्त हुने राजस्व केही मात्रामा बढे पनि कारोबार भने घटेको छ ।
तथ्याङ्क अनुसार आर्थिक बर्ष ०८०/८१ को माघ महिनाबाट स्थिर रहेको कारोबार जेठ महिनामा ह्वात्तै बढेको थियो । तर, असारमा भने घटेको देखिएको छ । असारमा देशभर ४६ हजार १ सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्याङ्कले देखाएको छ ।
यो गत वर्ष सोही महिनाको तुलनामा सामान्य बढेको हो । गत वर्ष असारमा पनि देशभर ४४ हजार चार सय ८५ संख्यामा घरजग्गा कारोबार भएको थियो ।
तर, अघिल्लो जेठ महिनाको तुलना गर्ने हो भने असारमा भएको कारोबार ३२.४४ प्रतिशतले घटेको हो । जेठमा देशभरबाट ६१ हजार १ सय ६१ संख्यामा घरजग्गा कारोबार भएको थियो ।
कुन महिनामा कारोबार कति ?
के भन्छन् व्यवसायी ?
घरजग्गा कारोबारका लागि असार महिना ‘अफसिजन’ भएकाले कारोबार घटेको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले बताए ।
“घरजग्गाका लागि कात्तिकदेखि जेठसम्म मात्रै सिजन हो, बाँकी अफसिजन हो,” उनले भने, “त्यसैले असारमा घरजग्गा कारोबार, कित्ताकाट घटेको देखियो । तर, पनि आव ०७९/८० को तुलनामा भने कारोबार सामान्य बढेको छ ।”
गत बर्षको तुलनामा कारोबार सामान्य बढे पनि अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ । “यो समय भनेको पिक समय हो । थोरै कारोबार बढे पनि खासै सुधार आएको छैन । घरजग्गा कारोबारका हिसाबले चालु आव पनि खासै सकारात्मक हुन सकेन ।” अध्यक्ष लोहनीले भने ।
अहिले आर्थिक गतिविधि सुस्त भएकोले सबै क्षेत्रमा मन्दी देखिएको उनले बताए । लगानीकर्ताको मनोबल नै खस्केको कारणले अहिले अधिकांश व्यवसाय प्रभावित भएको उनको तर्क छ ।
घरजग्गाको मूल्य नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले रियल स्टेट कर्जा प्रवाहमा नियन्त्रण गर्न अहिलेको समस्या सिर्जना भएको उनको भनाइ छ । राष्ट्र बैङ्कको नीतिका कारण घरजग्गा कारोबार सङ्कुचित भएको उनले बताए । अब कारोबारमा सुधार ल्याउनका लागि राष्ट्र बैङ्क नै लचिलो हुनुपर्ने उनको भनाइ छ ।
सरकारले कर्जा आम्दानीको अनुपात र लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्याए मात्रै घरजग्गा कारोबारमा सुधार देखिने उनको भनाइ छ । हाल नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ६० प्रतिशत छ । अहिलेको समयमा यसलाई बढाएर न्यूनतम् ८० प्रतिशत नै पुर्याउनु पर्ने लोहनीको माग छ ।
“धेरै समयदेखि ८० प्रतिशत पुर्याउन राष्ट्र बैंकलाई भनेका छौँ । मौद्रिक नीति आउँदै छ । त्यसमा सम्बोधन हुन्छ भन्ने आशा छ । अब हामी मौद्रिक नीतिको पर्खाइमा छौँ,” उनले भने ।
गत साउनमा राष्ट्र बैंकले पहिलो घर बनाउन चाहनेले अधिकतम २ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । यसअघि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था थियो । रियल इस्टेट कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशत प्र्याएपनि यसलाई सय प्रतिशत पुर्याउनुपर्ने महासङ्घले जनाएको छ ।
सामान्य घरजग्गा व्यवसायी र प्रोजेक्टमा आधारित व्यवसायीले लिने कर्जाको मासिक किस्ता आम्दानी क्रमशः ५० र ६० प्रतिशत रहेको र यसलाई पनि ८० प्रतिशत पुयाउनुपर्ने लोहनीले बताए । यसले घरजग्गा कारोबार बढेसँगै समग्र अर्थतन्त्रमै प्रभाव पर्ने उनको भनाइ छ ।
सरकारले घरजग्गा कारोबारमा शिथिलता देखिएको र समग्र अर्थतन्त्रमै त्यसको प्रभावले आर्थिक गतिविधि संकुचन भएको भन्दै भदौ २०८० मा भूउपयोग नियमावली २०७९ मा पहिलो संशोधन गरेको थियो ।
तर, जेठ २०७९ मा आएको भूउपभोग नियमावली १५ महिनामै संशोधन गरेर लचिलो नीति अपनाएको ११ महिना बित्दा पनि कारोबार भने निराशाजनक अवस्थामा नै रहेको छ ।
सरकारले २०७९ जेठमा भूउपयोग नियमावली लागू गर्दै जग्गा कित्ताकाट कडाइ गरेपछि घरजग्गा कारोबार सुस्ताएको व्यवसायीहरूले बताएका थिए ।
व्यवसायीहरूले आव २०७९/८० लाई व्यवसायका लागि नराम्रो बर्ष रहेको बताउँदै आएका थिए ।
तर, कित्ताकाट फुकुवा, बैङ्क तथा वित्तीय संस्थाहरूमा पर्याप्त मात्रामा तरलता (लगानीयोग्य रकम), घट्दो ब्याज दर, कर्जा प्रवाहमा सहजीकरणलगायतका व्यवस्था हुँदा पनि चालु आवमा पनि कारोबारमा सोचेजस्तो सुधार नआएको उनीहरू बताउँछन् ।
सामान्य बढ्यो राजस्व संकलन
जेठ महिनाको तुलनामा कारोबार घटे पनि असारमा राजस्व भने उल्लेख्य वृद्धि भएको देखिन्छ । असारमा सरकारलाई घरजग्गा कारोबारबाट ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । यो गत असारको तुलनामा ७.३३ प्रतिशतले बढी हो । गत असारमा ४ अर्ब २७ करोड ४३ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
त्यस्तै, गत जेठको तुलनामा भने असारमा प्राप्त भएको राजस्व भने १३.६२ प्रतिशतले बढी हो । अघिल्लो महिना जेठमा सरकारलाई ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्याङ्कले देखाएको छ ।
यता, आर्थिक बर्ष ०८०/८१ भर देशभरको मालपोत कार्यालयबाट ४२ अर्ब ३७ करोड ४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा २.८६ प्रतिशतले धेरै हो ।
आव ०७९/८० मा देशभरको मालपोत कार्यालयबाट ४१ अर्ब १५ करोड ७९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिष्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।
कुन महिनामा कति भयो राजस्व सङ्कलन ?