images
Logo
images
images
images

देशभर बाढी–पहिरोले मच्यायो बितण्डा, कहाँ के भयो ?

देशभर बाढी–पहिरोले मच्यायो बितण्डा, कहाँ के भयो ?

बुधवार, साउन १६ २०८१
बुधवार, साउन १६ २०८१
  • देशभर बाढी–पहिरोले मच्यायो बितण्डा, कहाँ के भयो ?

    काडमाडौँ / मंगलबार बेलुकीदेखि परेको अविरल वर्षातले देशभरको जनजीवन प्रभावित बनेको छ।

    images
    images
    images
    images

    काठमाडौँ उपत्यकाका नदी किनारका क्षेत्रमा बाढी पसेको छ। उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी आवागमन प्रभावित बनेको नेपाल प्रहरीले जानकारी दिएको छ।

    बाङ खोलाको बाढीले तीन पुल बगायो

    म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए । 

    अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ । 

    यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पु¥याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए । 

    भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका बाढीले बगाएका एक मजदुरको शव फेला

    बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए । 

    इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताए । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको  अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ । 

    यसैबीच मङ्गलवार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो । बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए ।

    बाढीले एक तले घर र गोठ बगाउँदा रु ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् । 
     
    बाढीले निर्मलाको घर, रु ५० हजार, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । उनको करिब रु १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ । 

    काठमाडौँमा ३६ जनाको उद्धार

    काठमाडौँ भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । 

    काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । 

    नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ । ललितपुरको युएन पार्क  क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

    ललितपुरबाट २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

    ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका  अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

    “डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ”, सूचना अधिकारी सुवेदीले बताए । 

    ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १  कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । 

    बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ । 

    यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले राससलाई जानकारी दिए । 

    बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु

    बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको हो । 

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।  

    साँफे– मार्तडी  सडक अवरुद्ध

    लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ । एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ । 

    बेँसीसहर–चामे सडक अवरुद्ध

    पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि  मस्र्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थाल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ । 

    पहिरोले कालीगण्डकी करिडोर बन्द

    वर्षापछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मंगलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो। 

    करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

    वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए। दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ।

    १३ ठाउँमा सडक अवरूद्ध

    लगातारको वर्षापछि देशका विभिन्न स्थानका १३ ठाउँमा सडक अवरूद्ध छन्। डुम्रेबेसी–चामे सडक अवरूद्ध बनेको छ। रातोडाँडा बिसौनी, स्याङ्वामा कालीगण्डकी करिडोर अवरूद्ध बनेको छ। पुष्पलाल मध्यपहाडी राजमार्ग कुखरेटार सिन्धुलीमा अवरूद्ध छ।

    पुष्पलाल मध्यपहाडी राजमार्ग सिन्धुलीकै सुमनाम बेंसी र खोटाङको पंखु खोलामा पनि अवरूद्ध छ।पूर्वपश्चिम राजमार्ग महोत्तरीको ढुंग्रे खोलामा अवरूद्ध छ। अरनिको राजमार्ग पनि सिन्धुपाल्चोकको खाग्दल र दक्लाङमा अवरूद्ध रहेको छ। 

    भालुबाङ–दारबोट सडक प्यूठानको गर्जेनीमा अवरूद्ध छ। उक्त सडक प्यूठानको ठूलो खोला र हेडरसमा पनि अवरूद्ध छ। तानसेन–रिडी–कोरला सडक पनि पाल्पाको अर्सेदीमा अवरूद्ध छ।

    बालाजु हुँदै रसुवाको स्याफ्रबेंसी पुग्ने सडक नुवाकोटको बेतिनी जंगलमा अवरूद्ध रहेको विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। देशभर १८० स्थानमा सडक एकतर्फी रहेको र १७७ स्थानमा अवरूद्धपछि खुलाइएको पनि विभागले बताएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार