images
images

रिसव गौतमको लेख : शेयर बजारको उत्साह कायम रहला ?

रिसव गौतमको लेख : शेयर बजारको उत्साह कायम रहला ?

बुझक्कड कतिपय नेताहरूले विगतमा सेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरूले समेत आफ्नो बुझाइलाई करेक्सन गरिसकेका छन् ।

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • रिसव गौतमको लेख : शेयर बजारको उत्साह कायम रहला ?

    सेयर बजारमा केही बर्ष अघिसम्म ८० प्रतिशत भन्दा ज्यादा हिस्सा बैक–वित्तिय संस्था र इन्स्योरेन्स कम्पनीहरूले ओगटेको थिए । बैंक-इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामुलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङक छ । खासगरी शेयर बजारमा जलविद्युत कम्पनीहरूको उपस्थीति बढिरहँदा बैंकहरूको हिस्सा घटेको देखिन्छ । 

    पछिल्ला बर्षहरूमा हाइड्रोपावर सहित अरू उत्पादनमुलक कम्पनीहरूले पनि सर्वसाधारणलाई सेयर जारी गरेर पैसा संकलन गरिरहेका छन् । त्यसकारण पनि पुँजी बजारमा बैंक–बिमा क्षेत्रको प्रभुत्व घटिरहेको छ । बैक–विमा क्षेत्रमा केही बर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि संख्या घटाउन काम गरेको छ ।

    खासगरी सेयरको दोश्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने बुझाइ छन् । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत जस्तो उत्पादनमुलक क्षेत्रको प्रवेश बढीरहनु शुभ सङ्केत नै हो । किनकी नेपालको अर्थतन्त्रमा सबैभन्दा सम्भावनाको क्षेत्र भनेको पर्यटन र उर्जा क्षेत्र नै हो । हामीले यस क्षेत्रको विकास विस्तारबाट अपार लाभ लिन सक्ने सम्भावना छन् । 

    पछिल्ला समय नेप्सेमा पर्यटन, सिमेन्ट, कृषि लगायत क्षेत्रको पनि प्रवेश बढीरहेको छ । यद्यपी हाल नेप्सेमा १२ वटा समूहगत परिसुचक मापन गर्ने गरिएको छ । बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, विमा कम्पनी, म्युचुवल फण्ड, होटल, उत्पादन तथा प्रशोधन,  ब्यापार, जलविधुत र अन्य समूहका परिसुचकहरूलाई नेप्सेले गणना गर्छ । 

    यसरी शेयर बजारमा क्रमश क्षेत्रगत विविधता बढीरहेको देखिन्छ । जसले शेयर बजारमा लगानीको आर्कषण र उपस्थिति समेत बढाएको छ । विगतमा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, रूस–युक्रेनबीच चलेको युद्धको विश्वव्यापी प्रभाव र विश्वव्यापी रूपमा आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा असन्तुलनले नेपालको शेयर बजारमा पनि भयंकर ठुलो असर परेको हो ।

    आर्थिक असन्तुलन, सरकारको पुँजीगत खर्चको दयनीय अवस्था, तरलता संकटको कारण बढेको ब्याजदर र सेयर बजारप्रति नेपाल राष्ट्र बैकको कसिलो नीतिको कारण विगतमा बजार घटेको हो ।

    १८०० अंकबाट पनि तल झरिसकेको नेप्से परिसुचकाकं अहिले भने हालै आएको आव २०८१–०८२ को मौद्रिक नीतिले बजार २८०० अंकको छेउछाउ आइसकेको छ । अब क्रमश सेयर बजार उकालो लाग्ने धेरै आधार तय भएका छन् ।

    सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा पनि सेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरूमा पुर्नरविचार गर्दै गरैआवासीय नेपालीलाई पनि शेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ । त्यसले लगानीकर्तामा एक खालको उत्साह थपेको देखिन्छ ।

    हालैको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरूका लागि २० करोडको क्याप हटाएको छ । शेयर धितो कर्जाको लागि प्रोत्साहन गरेको अवस्था छ । जसले गर्दा बजार बढिरहेको देखिन्छ । त्यसमाथी तुलनात्मक रूपमा उदार मानिएका अर्थमन्त्री विष्णु पौडेललाई पनि बजारले भरोषा मानेको छ । 

    केही हप्ता यता बजार निरन्तर बढीरहँदा सेयर बजार पुँजीकरण पनि बढेको छ । ०८१ साउन २१ गते सोमबारको कारोबारको आँकडा अनुसार सेयर बजार पुँजीकरण ४४ खर्ब ३८ अर्ब नाघेको छ ।

    जुन कुल ग्राहस्थ उत्पादनको आकार भन्दा १४ खर्ब मात्र कम हो । कुनैवेला अर्थात ३३ सय अंकमा मार्केट पुगेको बखत ४० खर्बको पुँजीकरण भएको सेयर बजार अहिले नेस्सेमा थपिउका कम्पनीहरूको कारण ४४ खर्ब पुगेको छ ।

    खासगरी सेयर बजार जिडिपीकै हाराहारी हुनुपर्ने विश्वाव्यापी मान्यता रहेपनि नेपालमा सबै उद्योग, व्यवसाय नेप्सेमा सुचिकृत नभएको कारण त्यो नभएको देखिन्छ । तरपनि पछिल्ला समय नेप्सेमा सुचिकृत हुने कम्पनीहरू बढिरहेका देखिन्छन् । 

    यसरी नेपालको सेयर बजारको दायरा फराकिलो र पुँजीको पैमान पनि बढिरहेको छ । यसले नै वास्तम्बमा शेयर बजारको सुदुर भविष्य उज्वल रहेको देखाउँछ । खासगरी पछिल्लो दशक नेपालमा पनि शेयर बजारप्रति आम सर्वसाधारणको बुझाइ परिवर्तन भएको छ ।

    यस क्षेत्रलाई सबैले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । वास्तम्बमा कुनैपनि देशको अर्थतन्त्रको अवस्थाको चित्र शेयर बजारले नै दर्शाउछ । त्यसकारण पनि शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिएको हो ।

    ठुल–ठुला उद्योग तथा ब्यवसाय स्थापना तथा सञ्चालन गर्न पुजँीको संकलन गर्ने महत्वपूर्ण माध्यम हो पुँजीबजार । त्यसकारण अर्थतन्त्रलाई विस्तारित गर्न र अघि बढाउन पुँजीबजारको महत्वपूर्ण भुमिका हुनेगर्छ । सो तथ्य आम राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले बुझ्न जरूरी छ । 

    अहिले नेपालमा सेयर किनबेचका लागि डिम्याट खाता खोल्नेहरूको सङख्या ०८० चैत्रसम्ममा ६२ लाख नाघिसकेका छन् । त्यसमा महिलाहरूको सङख्या नै २६ लाख नजिक पुगेको तथ्याङक छ ।

    यद्यपी आर्थिक मन्दी, तरलता संकट लगायत कारण सेयर बजार सुस्ताउँदा अहिले सयर बजारका सक्रिय लगानीकर्ता २०–२२ लाख रहेका छन् । जेहोस् पछिल्लो बर्षहरूमा नेपालमा सेयर बजार प्रति बढेको आर्कषण उत्साहप्रद हो । यसले सम्भावना भएका उद्योग, व्यवसायले आइपिओ मोडलमा आवश्यक लगानी जुटाउन सक्ने आधार दिएको छ । 

    पछिल्लो समय सरकारले बढेको ब्याजदरलाई घटाउन निरन्तर प्रयास गरेको देखिन्छ । त्यसमा बैंकको चर्को ब्याजदर विरूद्ध ब्यसायीहरूले गरेको आन्दोलनले ठुलो दबाब परेको हो ।

    बैंकहरूको ब्याजदर घट्दा त्यसको प्रत्येक्ष प्रभाव शेयर बजारमा पर्छ । तरलता सहजताको अवस्था हुँदा र बैंकको ब्याजदर घट्दा विगत देखि नै शेयर बजार बढ्ने गरेको दखिन्छ ।

    त्यसकारण आगामी दिनहरूमा बजार झनै बढ्दै जाने आधार तय भएको छ । खासगरी बजेट लगत्तै आएको मौद्रिक नीतिले पनि सेयर बजारलाई उत्साह दिएको छ । सेयर बजारलाई कता डोर्याउने भन्ने कुरमा मौद्रिक नीतिको धेरै भुमिका हुनेगर्छ । यद्यपी मौद्रिक नीति सरकारको बजेट तथा नीति कार्यक्रमलाई सघाउन ल्याउने गरिन्छ । 

    गत बर्षहरूमा मौद्रिक नीतिमा सेयर बजार र घरजग्गा प्रति कसिलो बनाइएकोमा यसपटक धेरै नै खुल्ला गर्नेगरी प्रोत्साहनकारी रूपमा मौद्रिक नीति आयो ।
     मौद्रिक नीति बैंक तथा वित्तिय संस्थाहरूका लागि पनि केही खुकुलो गरी आयो ।

    फलस्वरूप शेयर बजारमा हरीयाली छाएको देखिन्छ ।  गत बर्षहरूमा नेपाल राष्ट्र बैकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडसम्मको क्याप लगाएको हो । ४–१२ को नीतिले पनि सेयर बजारको गतिशिलतालाई कमजोर बनाएको हो ।

    अहिले ती ब्यवस्था हटाइएको छ । फलस्वरूप शेयर कारोबारको भोलुम र नेस्से परिसुचक निरन्तर बढीरहेका छन् । विगतमा ३३ सय अंकको नेप्से परिसुचकाकं पुगिरहँदा बजारमा एकैदिन २१ अर्ब ६४ करोड ७६ लाखसम्मको कारोबार भएको हो ।

    अहिले त्यो रेर्कड समेत ब्रेक भएर नेप्सेमा झण्डै २२ अर्ब (२१ अर्ब ९१ करोडसम्म) करोबार भएको छ । यसरी बजारमा एउटा खालको आत्मविश्वास देखिएको छ । जसले समग्रमा आशा जगाएको छ । 

    वित्तिय बजारमा तरलता सहजताको अवस्था सिर्जना भएको छ । मुलुकको आर्थिक अवस्था तथ्याङकीय हिसावले सवल बन्दै गएको अवस्था छ । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारले नै अर्थतन्त्र तथ्याङकीय रूपमा सवल बन्दै गएकोले बजारमा त्यसको सत्कारात्मक प्रभव क्रमश पर्दै जाने बताइरहका छन् । 

    ब्याजदर घटिरहेको छ । त्यसकारण शेयर बजार उकालो लागिरहने देखिन्छ । शेयर बजार एउटा लगानीको उक्तम माध्यम हो भन्ने आम सर्वसाधारणले बुझिसकेका छन् ।

    बुझकड कतिपय नेताहरूले विगतमा सेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भनेपनि अहिले उनीहरूले समेत आफना बुझाइमा करेक्सन गरिसकेका छन् । त्यो भन्दा बढी सर्वसाधारणले नै सेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजीबजार प्रति सकारात्मक दृष्टिकोण रहेको दर्शाइरहेका छन् । 

    सरकारले पनि सेयर बजारप्रति अत्यन्त प्रोत्साहनकारी नीति देखाउन जरूरी छ । सेयर बजारले आम सर्वसाधारणलाई अर्थशास्त्रको बचतको सिद्धान्त सिकाउँछ । अलिअलि भएको पैसाले आइपिओ भर्ने, सेयर किन्ने गर्दा मान्छेले पैसाको महत्व र त्यसको पुँजीकरणको भेउ थाहा पाउँछन् ।

    अहिले शेयर बजारमा धेरै मान्छेहरू आर्कषित भएका, लागेकाले धेरैलाई यस क्षेत्रले रोजगारी र अवसर पनि दिएको छ । खासगरी नेपाली समाजमा विगतमा गृहणीको उपमा दिएका महिलाहरूको सङख्या नै सेयर बजारमा ४२ प्रतिशत पुग्नुले आर्थिकमा महिलाहरू कति शसक्त रूपमा आइरहेका छन् भन्ने पनि दर्शाउँछ । अर्को सेयर बजारबाट सरकारले १५ अर्बसम्म कर विगतमा पाएको हो ।

    त्यसकारण सरकारले पुँजीबजारको विकास, उन्नयनमा जोड दिनुपर्छ । पुँजी बजारको विकासमा ध्यान दिन नसके सरकारको आर्थिक समृद्धिको नारा फगत गफमा सिमित हुन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार