मेरो जन्म काठमाडौँमा नै भएको हो । साङ्ला गाविस वडा नम्बर १ हालको तारकेश्वर नगरपालिमा जन्मिएको हुँ । तर अहिले बलम्बु बस्छु । त्यहाँ दुईवटा घर बनाएको छु । पढाई धेरै नभए पनि दश कक्षासम्म अध्ययन गरेको छु । घर छोड्दा बाह्र वर्षको थिए । म कामकै सिलसिलामा शहर आएको हुँ ।
यतै बस्न थालेको हुँ । त्रिचन्द्र क्याम्पस अर्थात घण्टाघरसँगको सम्बन्ध मेरो २०३७ सालदेखि नै हो । ०३७ साल साउन २१ गते त्रिचन्द्रमा प्राविधिकको रूपमा जागिरमा प्रवेश गरेको हुँ । सुरुमा ल्याबतिर काम गरेँ । इलेक्ट्रिकल मेकानिकतिर सामान्य ज्ञान थियो । पछि क्याम्पसमा पनि इलेक्ट्रिक क्षेत्रमै काम गर्न थालेँ । घण्टाघरसँगको सम्बन्धचाहीँ अलिक रोचक छ ।
०३९ सालतिरको कुरा हो । एक पटक घण्टाघरमा आगलागी भएको थियो । त्यसपछि राम्रोसँग चलेको थिएन् । त्यसबेला घडीको सुई र घन्टा बजेको सुनेर टुँडिखेलमा नेपाली सेनाले तोप पड्काउने गर्दथ्यो । आगलागी भएपछि त्यहाँ प्राविधिकको अभाव भयो । पहिला एकजना अस्थायी मिस्त्री थिए । आगलागी भएको एक डेढ बर्षपछि उहाँको म्याद थप भएन । उहाँ जानुभयो । उहाँ गएपछि घण्टाघर सञ्चालन गर्ने प्राविधिकको अभाव भयो ।
तर त्यसको लामो समयपछि ०४४ सालमा कमलादीको प्रज्ञा भवनमा सार्क सम्मेलन हुने भएपछि एक घन्टाका लागि भएपनि घण्टाघर खोल्नुपर्ने आदेश आयो । खोल्नुप-यो भनेर दौडधुप सुरु भयो । अञ्चलाधीशको कार्यालयले कसरी चलाउने भनेर मिस्त्रीको खोजी सुरु गरेको थियो । सोहीबेलादेखि घण्टाघरसँग मेरो सम्बन्ध जोडिन पुगेको हो ।
घण्टाघरसँगको सम्बन्ध
घण्टाघर चलाउन सक्ने प्राविधिकको खोजी गर्ने काम गर्न डेढ महिनाजति लाग्यो । तर चलाउन सक्छु भन्ने कोही भेटिएन । म चाँही सबै मेसिनहरू मर्मत गर्ने काम गरिरहेको हुन्थेँ । जागिरका अतिरिक्त समय म यस्तै पार्ट टाइम पनि गर्थेँ । सार्क सम्मेलन सुरु हुन १५ दिन बाँकी थियो ।
सोहीबेला कतैबाट मलाई घण्टाघर चलाउन सक्छौँ भन्ने प्रस्ताव आयो । मलाई आपत प¥यो । तर बच्चा बेलादेखि नै म टेक्निकल काममा रुची राख्ने गर्दथेँ । जुनसुकै काम पनि हुन्न नभनी हात हालिहाल्ने बानी थियो । त्यसैले मैले सक्छु भनेँ । सक्छु त भनिहाले तर मैले घण्टाघरको मेसिन देखेको थिएन । सक्छु भनेर माथि चढेँ । माथि जाँदा त मेसिन देखिन् । डर लाग्यो । एक दुई घण्टासम्म चारैतिर हेरेर मात्र बसिरहेँ ।
बस्दै गएपछि भएका यन्त्रहरू यताउता हेर्न र छुन थालेँ । त्यहाँ रहेको पेन्डुलम भन्ने मेसिन हल्लाए । त्यो मेसिन एक पटक हल्लाएपछि पाँचसात मिनेट चलेर बन्द हुने रहेछ । पटक पटक हल्लाए । गर्दागर्दै १३ दिन १३ रात २४ सै घण्टा त्यहीँ माथि नै बसेँ ।
कति मिनेटमा कहाँनेर गएर काँटा अड्डिन्छ हेरेरै बसेँ । गहिरो अध्ययन गरेर १३ दिन बिताए । भएका दाँतीहरू सबै गहिरो अध्ययन गरे । हुँदाहुँदा १३ दिनमा चाँही एकचोटी चलाएपछि दुईतीन दिन चल्न सक्ने बनाए ।
सार्क सम्मेलन कार्तिकको १९–२० गते तिर थियो । सम्मेलनपछि म तल ओर्लिए । त्यहाँ मैँले घण्टाका रोगहरू पत्ता लगाए । पछि ति पार्टहरूलाई बनाएर ल्याए र फिट गरेँ । त्यसपछि दुईचार महिना चल्ने भयो । त्यसपछि फेरि बिग्रिन्छ बनाउँदै जाने गरेँ । यसरी मेरा तीन दशक घण्टाघरमै वित्यो ।
यसरी नै घण्टाघर चलाउँदा चलाउँदै पोहोर सालसम्म अवकाश लिएँ । एक वर्ष बित्यो घण्टाघरबाट विदा लिएको । जागिरे रहँदा धेरै अनुभवहरू बटुल्ने मौका मिल्यो ।
किनकी त्यहाँका मेसिनहरूमध्ये कतिपयलाई तारले बाँधेको छु । कुनै दाँते नै रद्द गराएको छु । जबरजस्ती पनि चलाएको छु । म त्रिचन्द्रमा प्रवेश गर्दा शिवशंकर सिंह क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले ०३९ सालतिर अवकास लिनुभयो । झण्डै १२–१५ जना नै प्रमुख परिवर्तन भइसक्नु भएजस्तो लाग्छ । त्यसमध्ये धेरैलाई घण्टाघरबारे खासै चिन्ता लागेन् ।
दम दिए चल्छ घण्टा
काठमाडौँको घण्टाघर सन् १८९४ मा राणा प्रधानमन्त्री वीरशमशेरको शासनकालमा निर्माण गरिएको हो भन्ने मलाई थाहा छ । परम्परागत र मौलिक पाराको घण्टाघरका अधिकांश यन्त्रहरू पम्प दिएका भरमा चल्छन् ।
यो ब्याट्री वा बिजुलीबाट चल्दैन् । घण्टाघरको घडीमा हातैले दम दिनुपर्छ । दम दिने भनेको फलामको ह्यान्डलले मिलको चक्का घुमाएजस्तो घुमाउने हो । अर्थात कुनै कुनै ट्याक्टर गाडीलाई पनि त्यसरी नै दम दिनुपर्छ नि । जेनेटर चलाउदा पनि ह्यान्डलबाट दम दिनुपर्छ नि । त्यस्तै हो ।
त्यहाँभित्रको घडी चलाउन झण्डै ३०–३५ किलो भन्दा अझ बढी सामान उचालेजस्तो हुन्छ । दम दिएपछि ८४ फिट तल जाने र दम दिएपछि माथि आउने गर्छ । माथि पुगेपछि एक हप्ता घडी चल्छ । जति घुमायो, फलामको डल्लो जस्तो चक्का उति माथि आउँछ । यसकै भारले घडीको सुई घुम्छ र सुई सर्दै जान्छ ।
त्यो फलामको डल्लो पनि तल झर्दै जान्छ । घन्टा हान्नका लागि नौं वटा चक्का छन् । त्यो पनि तलबाट दम दिएर माथि उठाउने हो । क्वाटर हान्नका लागि पनि १३ वटा चक्का छन् । त्यसलाई नि दम दिएर माथि उठाएपछि एक हप्ता पुग्छ । सारै गाह्रो हुने भएकाले दुईजनाले हप्ताको दुई दिन दम दिनुपर्दथ्यो । म चाहीं विग्रियो भने हेर्ने गरेको थिए । दम दिनका लागि अरूपनि साथीहरू थिए ।
कसैलाई माया छैन घण्टाघरको
बिदेशतिरपनि यस्तो टावरहरू अर्थात घण्टाघर त हुने रहेछ । तर ति व्यवस्थित छन् रे । तर यहाँ हाम्रोमा यस्तो काम गर्नेलाई तालीम दिनुपर्छ भन्नेमा कसैले चासो दिएनन् । त्रिचन्द्र क्याम्पसमा पढेका धेरै विद्यार्थीहरू देशको उच्च पदमा पुगे तर चासो दिएनन् । विशिष्ट तहका कर्मचारीहरू, मन्त्री, प्रधानमन्त्री न्यायाधीश त्रिचन्द्रकै उत्पादन छन् । तर तिनीहरूका आँखा घडीमा पुगेन । शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगन थापा जस्ता धेरैजना त्रिचन्द्रमै पढेका हुन् । तर तिनीहरूको आँखा कहिल्यै त्यहाँ पुगेन् ।
घण्टाघरलाई खासै खर्च त लाग्ने थिएन् । मैले बुझेसम्म र अनुभव गरेसम्म वर्षमा दुईदेखि तीन हजार मात्र मर्मतको लागि खर्च हुन्थ्यो । एकचोटी १२ हजार रुपैयाँ खर्च भएको याद छ ०७२ सालको भूकम्पमा घण्टाघरका धेरै संरचनाहरू भत्किएका र भाँचिएका थिए । त्यसबेला पनि बेला १५ हजार तिरेर ल्याइएको हो ।
पेस्की मैले नै १० हजार रुपैयाँ बुझेको हुँ तर पाँच हजार भुक्तानी नै भएन । पछि क्याम्पस प्रमुखसँग विवाद भएपछि भुक्तानी भयो । घण्टाघरका लागि पैसा नभएर होइन । सकेसम्म जिम्मा नलिउ भन्ने सोच भएकाले समस्या आउने गरेको हो । पछि पछि मिडियामा कुरा आउन थालेपछि सबैको नजर परेको हो । मेरै अन्तरवार्ताका कारण पनि धेरैलाई प्रेसर परेको हुनुपर्छ ।
एकपटक अन्नपूर्ण पोष्टमा ‘घाँडो घण्टाघर’ शीर्षकमा समाचार प्रकाशित भएपछि महानगरपालिकाले चासो लिएको थियो । महानगरले छलफलका लागि भनेर त्यसबेला क्याम्पस प्रमुख हरि थपलियालाई समेत बोलाइएको थियो । मलाई पनि बोलाइएको थियो । छलफलमा महानगरपालिकाले अबदेखि घण्टाघर आफैँ हेर्ने भनेको थियो । सम्पूर्ण जे जति मर्मत गर्नुपर्छ त्यो हामी गर्छौँ, भन्नुभयो । र सबै कुराको राय सल्लाह लिने काम भयो ।
त्यहाँ मैँले घण्टाका रोगहरू पत्ता लगाए । पछि ति पार्टहरूलाई बनाएर ल्याए र फिट गरेँ । त्यसपछि दुईचार महिना चल्ने भयो । त्यसपछि फेरि बिग्रिन्छ बनाउँदै जाने गरेँ । यसरी मेरा तीन दशक घण्टाघरमै वित्यो ।
त्यसपछि अवकाश हुनुभन्दा अगाडि एकजना मान्छे हामी दिन्छौँ उसले पनि तपाईँले जस्तै चलाउन सक्ने बनाउनुपर्यो । तालीम दिनुपर्यो भन्नुभएको थियो । त्यसको हप्ता दिनमै महानगरका कर्मचारीहरू आएर रंगरोगन गरेका थिए । तर रंगरोगन गरेर फर्किएकाहरू आजसम्म फेरि घण्टाघरमा पाइला टेकेको थाहा छैन ।
३५ बर्ष खिचापोखरीमा डेरा
हुनत घण्टाघरको लागि आवश्यक पर्ने सामानहरू सबै पाइँदैन । सबै आफैँले बनाउनुपर्छ । कुनै आफूले बनाउन नमिल्नेचाँही बनाएर ल्याउनुपर्छ । कुन बेला विग्रिन्छ टुङ्गो हुँदैन । उसबेला पर्याप्त गाडीहरू थिएनन् । बाटोघाटो थिएन । घर टाढा भएकाले म खिचापोखरीको एउटा अग्लो घरमा डेरा गरेर बसेको थिए ।
त्यो बेला म बस्ने घर ६ तलाको थियो । त्यही घरको छतमा उक्लिएर राति सुत्नुभन्दा अगाडि घण्टाघरको घण्टी सुन्ने गर्थेँ । बिहानै सबेरै उठेर घण्टाघरमै पुग्थेँ । करिब ३०–३५ बर्ष सोही घरमा बिताए । सायद पिँजडामा थुनिए जस्तै जीवन थियो मेरो । जुनसुकै बेला घण्टाघर बिग्रिने भएकाले तयारी अवस्थामा बस्नुपर्दथ्यो । महिनौँ महिनासम्म घर जान पाउदिन थिएँ ।
एक पटक प्रेस लो भएर ढलेछु । त्यसपछि घर परिवारले गाली गर्न थाले । अनिमात्र बल्ल घर जान थालेको हुँ । म बस्नका लागि डेरामै बसेको हो । तर सधैँ सत्य नै बोल्ने भएर होला मसँग कसैले कोठा भाडा मागेन । जुन घरमा बसेँ त्यो घरमा बिग्रिएका सामनाहरू बनाइदिन्थेँ ।
बिग्रेका कुराहरू मर्मत गर्थे र मर्मत गरेको पैसा लिइँदैन थिए । उनीहरू पनि भाडा माग्दैन थिए । मैले ४२ वर्ष प्राविधिक वा इलेक्ट्रिसियनकै रूपमा काम गरेँ । सुरुमा मैले जागिर खाँदा मेरो तलब महिनाको १५० रुपैयाँ थियो, अवकाश हुँदाखेरी ४४ हजार चानचुन पुगेको थियो ।
बेबारिसे हुने चिन्ता
तीन दशक संरक्षण गरेर राखेको घण्टाघर पूरै वेवारिसे हुने चिन्ता लागिरहन्छ । कसैले जिम्मा जिम्मा लिनुपर्छ भन्ने लाग्छ । कसैले जिम्मा लिएर जर्गेना गर्नुपर्छ । किनभने उ बेला घडीको महत्त्व थियो । अहिले त मान्छेको हातहातमा घडी र खल्तीमा मोबाइल छ । समयको महत्त्व छैन । तर घण्टाघर ऐतिहासिक भएकाले जोगाएर राख्नु हामी सबैको कर्तव्य हो । यो ऐतिहासिक सम्पदालाई पुरातत्त्व विभागले हेर्नुपर्ने हो तर हेरेन । सय वर्ष नपुगी पुरातत्त्वले पनि नहेर्ने भनेको रहेछ । बीबीसीले अन्तरवार्ता लिँदा पनि पुरातत्त्वले जिम्मेवारी लिनुपर्छ भनेको थियो । तर भएन ।
अहिले प्रवलीकरण भइरहेको घण्टाघर पहिलाको जस्तै निर्माण हुन्छ । तर यहाँका सामग्रीहरू सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने चिन्ता छ । यतिका बर्ष घण्टाघरको सेवामा बिताएको मलाई भर्खरै मात्र सबैले चिन्न थाल्नुभएको छ । घण्टाघरलाई चिन्नु होला कि नहोला भन्ने चिन्ता छ । तर हाम्रो समाजमा कामको मूल्याङ्कन हुँदैन । घण्टाघरलाई के गर्ने, कसरी अगाडि बढाउने भनेर कर्मचारी दिएको भए उसलाई सिकाएर तयारी अवस्थामा राख्न सक्थेँ ।
अहिले दुईचार दिन, दुई चार महिना सिकाएर सिक्ने कुरा होइन । दुई चार वर्ष सिकाउन नै लाग्छ । यसलाई सरकार पक्षबाट कसैले वास्ता गरेको छैन । नगरपालिकाले पनि वास्ता गरेको छैन । अब क्याम्पसले आफ्नो हाताभित्र रहेर तलव दिलायो तर संरक्षणमा चासो दिएन । मैले ३ सय ६५ दिन नै ड्यूटी गरेँ ।
२४ घण्टा नै हेर्नुपर्छ भनेर मौखिक सम्झौता भएका हुनाले रातदिन खटेँ । जिम्मेवारी लिएदेखि काठमाडौँ बाहिर बसेको भनेको अवकाश लिएपछि मात्र हो । नत्र कुवाको भ्यागुतो जस्तै म घण्टाघरकै रेखदेखमा हुन्थेँ । साँच्चै भन्ने हो भने त एक किसिमले पिँजडामा बसे जस्तो गरी ३५ बर्ष कटाएँ । एक किसिमले गर्व पनि लाग्छ । घण्टाघरसँग मेरो नाम जोडिएकाले खुशी पनि छु ।
किरिया बस्दा मात्र विदा
यतिका बर्ष घण्टाघरको जिम्मेवारी लिएर बसेँ । भाग्यले भन्नुपर्छ बिरामी भएर हस्पिटल भर्ना हुनुपरेको रेर्कड अहिलेसम्म छैन् । त्यति ठूलो बिरामी नि परिएको छैन । भगवानको कृपा भनौँ अहिलेसम्म सकुशल छु । नत्र, तीन सय ६५ दिनमा तीन सय ६४ दिनै क्याम्पसमा हाजिर भएको छु । आमाको निधन भएका बेला १३ दिन बिदा बसेँ । बुवाको मृत्यु भएका बेलामा १३ दिन घर बसेँ । बुवा बितेको बेलामा त घण्टाघर बन्द नै भयो ।
आमाको किरियामा बसेका बेलामाचाहिँ फाट्टफुट् चल्या थियो । आमा निधन भएको ०५१ सालमा हो । बुवाको निधन ०७९ सालमा हो । बीचमा छोरालाई नि दुई चार महिना ल्याएर सिकाएको थिएँ । बन्द भएको बेलामा गएर चलाइदिनु भनेर सिकाएको हुँ । पछि छोराले पनि इच्छा राखेन ।
मेरो इज्जत नै घण्टाघरमा जोडिएको छ । म बाँचुन्जेल घण्टाघर चलिरहोस भन्ने लाग्छ । घडी चलिरहेको देख्न पाइयोस् भन्ने ठुलो इच्छा छ । इच्छा भएर र आफूले चाहेर पनि कतिपय कुराहरू हुँदो रहेनछ । पुर्याउन सकिदो रहेनछ ।
अब म सँधै गएर बस्न नि सक्दिन । कुनै निकायले जिम्मा लिएर, मान्छे दिन्छौ, सिकाइ दे भनेर जिम्मा दिएमा तयार छु । अझै पनि म गएर सिकाउन तयार छु । मैले त्रिचन्द्र अर्थात घण्टाघरमै जागिर खाएर छोराछोरी पढाए । काठमाडौँ आएर र यहीँ बसेर दुःख सुख जीवन गुजारेँ । बुबा–आमाबाट अंश लिएको चार बर्ष मात्र हुँदैछ । नत्र पहिलै मैले घर घरेडी जोडिसकेको थिए । आफ्नै पसिनाले आफ्नो बन्दोबस्ती गरिसकेको थिए ।
अब सक्दिनँ
मलाई अब घण्टाघरको जिम्मेवारी दिए पनि मेरो उमेरले सक्दैन । म ६५ वर्षको भइसकेँ । घण्टाघरको माथि तल जान आउन नै म सक्दिन । ८०–९० फिट माथि छ । तलमाथि गर्नै गाह्रो हुन्छ । तर पनि जिम्मेवारी लिने कुनै निकाय आयो भनेचाँही सिकाइदिन म अझै पनि सक्छु । पुरानै घण्टाघर चलाउने हो भने सिकाएरै मर्न तयार छु ।
घण्टाघरमा काम गर्दा उच्च पदका मानिसहरूसँग खासै भेट भएन् । कसैलाई चासो नै छैन् । त्यसमाथि म एउटा कामदार मात्र हुँ । भेट्न जरुरी ठानेन होला । मभन्दा अगाडि रत्नमान भन्ने व्यक्ति घण्टाघरको रेखदेखमा हुनुहुन्थ्यो । उहाँ नि पाको हुनुभयो होला । रामेश्वर ढकालले पनि काम गर्नुभएको हो । कर्मचारी नहुँदा इन्डियाबाट मिस्त्री ल्याएर पनि घण्टाघर चलाइएको थियो रे । त्यो सधैँ सम्भव नहोला ।
अहिले घण्टाघरको रेट्रोफिटिङ गरिदैँछ । काम सकिएपछि महानगरले चासो लियो भने पुनः सुचारु होला नत्र घण्टाघर सधैँका लागि बन्द पनि हुनसक्छ । पुरानै यन्त्रहरू राखेर घण्टाघर चलाउनलाई मिस्त्री तयार गर्नलाई अब निकै कठिन छ । तर पनि असम्भव भन्ने कुरा छैन । हुनत इलेक्ट्रिक घडी ल्याएर राख्न पनि सक्छन् । यसै भन्न सकिदैन । ऐतिहासिक र पुरातात्विक महत्त्वको भएकाले पुरानोलाई नै चलाउनुपर्ने हो ।
(घण्टाघरका अनुभवी र अवकास प्राप्त प्राविधिक गणेश सापकोटासँग युवराज गौतमले गरेको कुराकानीमा आधारित)