images
images

भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित

भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित

    नयाँदिल्ली / भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

    स्थानीय राजस्व विभागका अनुसार बाढीका कारण त्रिपुरा राज्यमा करिब १७ लाख मानिस प्रभावित भएका छन् भने बाढीले आवास, पूर्वाधार, सडक तथा कृषिमा गम्भीर क्षति पुर्‍याएको छ ।

    बाढी प्रभावित राज्यमा ४५० राहत शिविरहरू स्थापना गरी ६५ हजारभन्दा बढी मानिसलाई शरण दिइएको अधिकारीले बताएका छन् ।

    राज्यका नदीहरूको पानीको स्तर उच्च छ । बाढीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

    प्रारम्भिक रिपोर्टअनुसार बाढीका कारण भौतिक पूर्वाधार र कृषि बालीलगायतका क्षेत्रमा व्यापक क्षति भएको वरिष्ठ स्थानीय अधिकारी बृजेश पाण्डेले बताउनुभयो ।

    अल इन्डिया रेडियोका अनुसार त्रिपुरामा चार दिनसम्म परेको लगातारको वर्षाले कृषि र ऊर्जा क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ ।

    स्थानीय सरकारले भारतीय वायु सेनासँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रहरूमा सहयोग तथा उद्धार कार्यका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोली पनि तैनाथ गरेको छ ।

    बाढीले त्रिपुराको राजधानी अगरतलाबाट रेल सेवामा समेत असर पारेको छ भने गोमती, दक्षिण त्रिपुरा र अन्य बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

    अर्को निर्देशन नआउँदासम्मका लागि प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरू हाललाई बन्द गरिएका छन् ।

    यसैबीच, भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागहरूमा भारी वर्षाको पूर्वानुमानपछि ‘रेड अलर्ट’ को चेतावनी पनि जारी गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार