काठमाडौँ / नेपालको अटो मोवाल्इस क्षेत्रको कुम्भ मेला नाडा अटो शो काठमाडौँको भृकुटिमण्डपमा आजदेखि सुरु भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा सुरु भएको ‘नाडा अटो शो २०२४’ ६ दिनसम्म चल्नेछ ।
प्रदर्शनीमा विभिन्न ब्रान्डका २४ चारपांग्रे, १९ दुईपांग्रे र १२ हल्का व्यावसायिक सवारीसाधन अवलोकन गर्न पाइनेछ । साथै, प्रदर्शनीस्थलमा विभिन्न लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरण तथा ७ वित्तीय संस्थाको स्टल रहनेछ । शोमा कुल ९५ प्रदर्शकले १३० स्टलमा आ-आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् ।
आयोजकको अनुसार उक्त अटो शोमा २० लाख रुपैयाँदेखि करोडौँ रुपैयाँसम्मका गाडीहरू प्रदशनीमा राखिएको छ ।
यस्तै, लाखौं रुपैयाँ पर्ने दुई पाङग्रे सवारी साधन पनि हुनेछन् । जहाँबाट खरिदकर्ताले आफूलाई मन परेको कम्पनीको चार पाङग्रे तथा दुई पाङग्रे सवारी साधान खरिद तथा बुक गर्न सकिने छ ।
अहिले सवारी साधनमा सर्वसाधारणको सहज पुहँचसँगै बिक्री संख्या पनि बढ्दो छ । लगानी सुरक्षित गर्न तथा जोखिम बहनका लागि सवारी सवारी साधानको बिमा अनिवार्य रहेको छ ।
सवारी साधनको बिमा किन ?
सवारी साधन खरिद गरे लगत्तै बिमा अनवार्य गर्नुपर्छ । यसले सवारीसाधनमा हुने भौतिक जोखिमबाट सुरक्षित हुन सकिन्छ । बाढी, पहिरो, आगलागी, चोरी, दुर्घटना, तोडफोड लगायतबाट हुने आंशिक वा पूर्ण क्षतिबाट पनि बच्न सकिन्छ ।
यातायात ऐन र नियमावलीमा मोटर बिमा अनिवार्य रहेको छ । सडकमा गुड्ने सबै सवारी साधनको तेस्रो पक्ष बिमा गरिएको हुन्छ । जुन अनिवार्य छ । अर्कोचाहिँ वन ड्यामेज बिमा हो । यो सवारी धनीहरूको आवश्यकता अनुसार बिमा कम्पनीहरूले गर्ने नेपाल बिमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी बताउँछन् । यसका लागि छुट्टै प्रिमियम तिर्नुपर्ने उनले बताए ।
सवारी ऐन निमावलीले २० बर्षसम्म सवारी साधन चलाउन पाउने भनेको छ । त्यसपछि वातावरण प्रदुषणको मापदण्डले चलाउन पाइने अवधिसम्म बिमा गर्न सकिन्छ । बिमा फाइदाको लागि भन्दा जोखिम बहन र आर्थिक सुरक्षाका लागि भएको अधिकारीले बताए ।
सरकारले अनिवार्य गरेका कारण नेपालमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूले जारी गरेका बिमालेखमध्ये करीब आधा हिस्सा तेस्रो पक्ष मोटर बिमाको छ ।
तेस्रो पक्ष बिमा
पछिल्लो समयमा सवारी साधन दुर्घट्नामा पर्ने क्रम बढ्दै गइरहेको छ । नेपाल प्रहरीको एक तथ्याङ्कका अनुसार २०७१ सालदेखि यताको १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा सडक दुर्घटनाहरू भएका छन । ती दुर्घटनामा परेर २४ हजार ९५ जनाको मृत्यु भएको छ भने ५० हजार जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।
यो संख्यालाई औसतमा रूपान्तरण गर्ने हो भने नेपालमा दैनिक ७१ वटाभन्दा धेरै सडक दुर्घटना हुन्छन् भने त्यसबाट करिब १४ जना घाइते हुन्छन् र ७ जनाले ज्यान गुमाउँछन् । यसरी सवारी साधनमा हुने दुर्घटनाबाट हुने आर्थिक क्षति कम गर्नका लागि पनि सवारी साधन बिमा आवश्यक छ ।
सवारीसाधन दुर्घटना भएको खण्डमा हुने आर्थिक क्षतिलाई कम गर्नका लागि राम्रो विकल्पको रूपमा सवारी बिमालाई हेर्न सकिन्छ । यसको अरु कुनै विकल्प पनि छैन । हाल सरकारले तेस्रो पक्ष र यात्रु पक्ष बिमालाई अनिवार्य नै गरेको छ ।
मोटर अन्र्तगत यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू कार, जिप, ट्रक, बस, ट्याक्टर तथा मोटरसाइकललगायत पर्दछन् । मोटर बिमा भनेपछि तेस्रो पक्ष बिमा पनि जोडिन आउँछ ।
मोटर बिमा अन्तर्गत सवारी साधनको सुरक्षाका लागि गरिने बिमा तेस्रो पक्ष बिमा हो । यो बिमाले बिमा गरिएको सवारी साधनले तेस्रो पक्षलाई पुग्ने क्षति तथा हानीबाट सवारी धनीलाई सुरक्षा प्रदान गर्दछ । तेस्रो पक्षलाई पुगेको क्षतिको विवरण अनुरुप बीमकले भुक्तानी दिने भएकोले पनि यो बिमा अति नै उपयुक्त छ ।
हाल नेपालमा १४ वटा निर्जीवन बिमा कम्पनीहरुले मोटर बिमा सेवा उपलब्ध गराउँदै आएका छन् । तर, अझै पनि धेरै सवारी साधन तेस्रो पक्ष बिमाको दायरामा आउन सकिरहेका छैनन् ।
पछिल्लो समयमा सरकारको बाध्यकारी नीतिका कारण मात्रै तेस्रो पक्ष बिमा व्यापक हुन थालेको हो । यो भन्दा अघि अधिकांश सवारी धनीले तेस्रो पक्ष बिमालाई बेवास्ता गर्दै आएका थिए ।
तेस्रो पक्ष बिमा कसरी गर्ने ?
सवारी साधनको तेस्रो पक्ष बिमाका लागी बिमा समितिले नै निश्चित मापदण्ड तोकेको छ । समितिको मापदण्ड अनुसार बिमा गर्दा सवारी धनीले सम्बन्धित संस्थामा विभिन्न कागजपत्र बुझाउनु पर्ने हुन्छ । सवारी साधन खरीद गर्ने निश्चित भएपछि विश्वासिलो कम्पनी छनोट गर्नुपर्छ ।
बिमाका लागी ब्लूबूकको फोटोकपी वा सवारी साधन बिक्रेता कम्पनीले दिएको भ्याट बिलको नक्कल, सवारी धनीको परिचय खुल्ने प्रमाणपत्र र एक प्रति फोटो आवश्यक पर्छ । यी कागजपत्र जुटाइसकेपछि कम्पनीले उपलब्ध गराएको एउटा फारम भर्नुपर्छ । साथै, सवारी धनीले केवाईसी (नो योर कस्टमर) फारम पनि भर्नुपर्छ ।
कति लाग्छ शुल्क ?
बिमा समितिले मोटर बिमा दर सम्बन्धी निर्देशिका २०७३ मा नै कुन मोटरको बिमा गर्दा कति शुल्क लाग्छ भनेर व्यवस्था गरेको छ ।
जसमा विद्युतिय सवारी साधनको बिमा गर्दा २० किलोवाटसम्म १० वर्षसम्मका लागि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.६३ प्रतिशत र बाँकी घोषित मूल्यको ०.८४ प्रतिशत तथा ३ हजार रुपैयाँ, १० वर्षभन्दा बढीको लागि माथि उल्लेखति भएको दरमा १० प्रतिशत थप हुने निर्देशिकामा उल्लेख छ ।
यस्तै, तेस्रो पक्ष प्रतिको दायित्व बिमा ३ हजार रुपैयाँ रहेको छ । यता, २० किलोवाट भन्दा माथिको लागि १० वर्षसम्म घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.६५ प्रतिशत र बाँकी घोषित मूल्यको ०.८४ प्रतिशत र ४ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, १० वर्षभन्दा बढीको लागि माथि उल्लेखित दरमा १० प्रतिशत थप लाग्ने छ । यसमा तेस्रो पक्ष प्रतिको दायित्व बिमाका लागि ४ हजार रुपैयाँ लाग्ने छ ।
निर्देशिका अनुसार निजी सवारी साधनको क्षति–हानी नोक्सानी विरुद्धको बिमाको न्यूनतम बिमाशुल्क २ हजार हुने उल्लेख छ ।
यस्तै, निजी सवारी साधनले बिमा गर्दा १ हजारभन्दा कम सीसीसम्म १० वर्षका लागि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.८४ प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ३ हजार रुपैयाँ छ ।
यसैगरी, १ हजारदेखि १६ सयसम्म घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.८७ प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ४ हजार रुपैयाँ छ भने १६ सय भन्दा माथि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.९० प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ६ हजार रुपैयाँ रहेको छ ।
१० वर्षभन्दा माथिका लागि सबै १६ सय सीसीसम्ममा नै माथि उल्लेखित दरमा १० प्रतिशत थप शुल्क लाग्ने छ । तेस्रो पक्ष प्रतिको दायित्व बिमामा १ हजारभन्दा कम सीसीमा ३ हजार, १ हजारदेखि १६ सयसम्म ४ हजार र १६ सयभन्दा बढी सीसीमा ६ हजार रुपैयाँ लाग्नेछ ।
निर्देशिकामा कुनै व्यक्ति वा संस्थाको निजी सवारी साधन अर्को व्यक्ति वा संस्थाको निजी प्रयोगको लागि भाडामा दिइएको भएमा उल्लेखित बिमाशुल्कमा १० प्रतिशत थप गरी कर कायम गर्नुपर्ने उल्लेख छ ।
यता, मोटरसाइकलको बिमा गर्दा १५० भन्दा कम सीसीसम्म ५ वर्ष भन्दा कम अवधिका लागि घोषित मूल्यको १.५ प्रतिशत शुल्क लाग्ने छ । ५ देखि १० वर्षसम्म माथि उल्लेखित दरमा १५ प्रतिशत थप । १० वर्षभन्दा बढी अवधिका लागि माथि उल्लेखित दरमा २५ प्रतिशत थप हुनेछ । तेस्रो पक्ष प्रतिको दायित्व तथा व्यक्तिगत दुर्घटना बिमा १ हजार ५ सय रुपैयाँ हुनेछ ।
१५० देखि २५० सीसीसम्म ५ वर्षभन्दा कम अवधिका लागि घोषित मूल्यको १.५ प्रतिशत शुल्क लाग्ने छ । ५ देखि १० वर्षसम्म माथि उल्लेखित दरमा १५ प्रतिशत थप शुल्क लाग्ने छ । १० वर्ष भन्दा बढी अवधिका लागि माथि उल्लेखित दरमा २५ प्रतिशत थप हुनेछ । तेस्रो पक्ष प्रतिको दायित्व तथा व्यक्तिगत दुर्घटना बिमा १ हजार ७ सय रुपैयाँ हुनेछ ।
यस्तै, २५० भन्दा बढी सीसीसम्म ५ वर्षभन्दा कम अवधिका लागि घोषित मूल्यको १.५ प्रतिशत शुल्क लाग्ने छ । ५ देखि १० वर्ष अवधिका लागि माथि उल्लेखित दरमा १५ प्रतिशत थप शुल्क लाग्ने छ ।
१० वर्षभन्दा बढी अवधिका लागि माथि उल्लेखित दरमा २५ प्रतिशत थप शुल्क लाग्नेछ । तेस्रो पक्ष प्रतिको दायित्व तथा व्यक्तिगत दुर्घटना बिमा १ हजार ९ सय रुपैयाँ हुनेछ । मोटरसाइकलको क्षति नोक्सानी विरुद्धको बिमाको न्यूनतम बिमाशुल्क १ हजार रुपैयाँ हुनेछ ।
कसरी हुन्छ दाबी भुक्तानी ?
तेस्रो पक्ष बिमाको दाबी गर्न दुर्घटना हुनासाथ सम्बन्धित कम्पनीलाई खबर गर्नुपर्छ । साथै, प्रहरीलाई पनि जानकारी गराउनु पर्दछ । कम्पनीले दुर्घटनाको प्रकृति हेरेर सर्भेयर खटाउन पनि सक्छ वा दुर्घटनाको प्रकृती अनुसार कम्पनीको प्रतिनिधि आफै गएर पनि हेर्न सक्छ ।
कुनै अवस्थामा भने कम्पनीले आवश्यक कागजपत्र मात्रै पनि मगाउन सक्छ । जस्तै, तेस्रो पक्ष को हो, कहाँ मत्यु भएको हो, त्यसको प्रहरी प्रतिवेदन, लास जाँचको रिपोर्ट, मृतकको नागरिकताको प्रमाणपत्र, नजिकको हकदारको प्रमाणपत्र, जिल्ला कार्यालयबाट प्रमाणित गरेको नाता प्रमाणित पत्र आदि माग्न सक्छ ।
मृतकको हकमा नजिकको व्यक्तिलाई कम्पनीले रकम भुक्तानी गर्छ । त्यस्तै, दुर्घटना भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई नै दिन्छ । कहिलेकाही बिमित अर्थात् सवारीेधनीलाई पनि भुक्तानी गर्छ ।
तेस्रो पक्ष घाइते भएको अवस्थामा सवारीधनीले नै सबै खर्च बेहोरेको छ भने कम्पनीले उसलाई नै दाबी भुक्तानी दिन्छ । यसका लागि भने कागजपत्र बुझाउनुपर्छ । यसैगरी अहिले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै सम्बन्धित व्यक्ति (परिवार र नातेदार) लाई भुक्तानी गर्ने नियम पनि छ ।
बिमालेखमा आधाभन्दा बढी हिस्सा मोटर बिमाका
निर्जीवन बिमा व्यवसायमा सबैभन्दा ठूलो हिस्सा मोटर बिमाले ओगटेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा मोटर बिमाको हिस्सा सबैभन्दा धेरै रहेको देखिएको हो ।
निर्जीवन बिमा कम्पनीहरूले कृषि तथा बाली, सम्पत्ति, सामुन्द्रिक, हवाई, इन्जिनियरिङ, लघु बिमा लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् ।
मोटर बिमाको तुलनामा अन्य यी व्यवसायको हिस्सा न्यून रहेको तथ्याङ्कले देखाउँछ । प्राधिकरणको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा निर्जीवन बिमा कम्पनीहरुले कूल २९ लाख ७७ हजार ११६ वटा बिमालेख जारी गरेर ४१ अर्ब ४६ करोड ६१ लाख ६० हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
जसमध्ये निर्जीवन बिमा कम्पनीहरुले १६ लाख ४७ हजार ९१३ वटा मोटर बिमा पोलिसी जारी गरेर १२ अर्ब ५६ करोड ४३ लाख रुपैया बिमा शुल्क आर्जन गरेका हुन् ।
तथ्याङ्क अनुसार कम्पनीहरुले जारी गरेको बिमालेखा मध्ये ५५.३५ प्रतिशत मोटर बिमाको रहेको देखिएको छ भने बिमा शुल्क आर्जनमा पनि ३०.३० प्रतिशत हिस्सा मोटर बिमाको नै देखिएको छ ।