images
images

संविधान दिवस २०८१ को अवसरमा संनिक मञ्च टुंडिदेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले के भने ? (पूर्णपाठसहित)

संविधान दिवस २०८१ को अवसरमा संनिक मञ्च टुंडिदेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले के भने ? (पूर्णपाठसहित)

‘संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै हेर्ने छैनौं, सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ’

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • संविधान दिवस २०८१ को अवसरमा संनिक मञ्च टुंडिदेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले के भने ? (पूर्णपाठसहित)

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताएका छन् ।

    images
    images

    संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संसदमा रहेको सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन अघि बढाइने विश्वास दिलाए ।

    ‘संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै हेर्ने छैनौं, सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानलाई समयानुकूल बनाउनुपर्छ, समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो, ‘लिखत र मर्म’ अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो ।’

    प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा र कार्यान्वयन अबको लडाइँ भएको उल्लेख गर्दै राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए ।

    ‘एउटा युवाले देशभित्रै रोजगारी पाउँछु भनेर ढुक्क हुन पाओस्, श्रमिकले मर्यादित काम पाउँछु भनेर विश्वास गर्न सकोस्, नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच होस्, कसैको भोको शरीरले ओछ्यान छुन नपरोस् । बालबालिका सडकमा होइन, विद्यालयमा भेटिउन्, किसानले कृषि उपजको बजार र मूल्य पाऊन्’ भन्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकार सचेततापूर्वक अघि बढिरहेको स्पष्ट पारे ।

    हेर्नुस् पूर्णपाठ

    सम्माननीय राष्ट्रपतिज्यू,
    सम्माननीय उपराष्ट्रपतिज्यू,
    सम्माननीय प्रधानन्यायाधीशज्यू,
    प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका
    सम्माननीय अध्यक्षज्यू
    माननीय मन्त्रीगण,
    सङ्घीय संसद्का माननीय सदस्यहरु एवं निर्वाचित जनप्रतिनिधिहरु,
    संवैधानिक निकायका प्रमुखहरू,
    विदेशी मित्रराष्ट्र तथा कूटनीतिक नियोगका प्रमुखहरु, सामाजिक जीवनका लब्ध प्रतिष्ठित विशिष्ट महानुभावहरु,
    राष्ट्र सेवक कर्मचारी एवं सञ्चारकर्मी मित्रहरू,
    संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइरहनुभएका स्वदेश एवम् विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु!

    आज हाम्रा लागि विशेष दिन हो। आज वर्षों लामो सङ्घर्ष, हजारौंको बलिदान र हामी सबैको अथक मिहिनेतबाट देशको मूल कानुन बनेको दिन हो। ‘जनताद्वारा जनताका लागि ‘ लिपिबद्ध गरिएको यो ऐतिहासिक दस्तावेज बनाउन संविधानसभाले आधा दशकभन्दा बढी समय लगानी गरेको छ। आज वि.सं. १९९३ सालदेखि अधिकार प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको संगठित आन्दोलनलाई संस्थागत गर्ने र २००७ सालदेखि ‘आफूद्वारा आफैलाई शासन गर्ने, संविधान आफैंले लेख्ने’ जनताको चाहना पूरा भएको दिन पनि हो।

    आजको दिनले हामीलाई विगतको सङ्घर्ष, सँगै तय गरेको गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई सम्झाउँछ। अनेक जालझेल र घेराबन्दी छिचोल्दै बनेको यस संविधानको रक्षा, सम्बर्धन र विकासका लागि प्रण गर्ने र यसको प्रभावकारी कार्यान्वयनका लागि उत्प्रेरित गर्छ। यस संविधानबाट हाम्रा सामूहिक इच्छा र साझा दृष्टिकोण प्रतिविम्बित भएको छ।

    हाम्रा अधिकार सुरक्षित र हाम्रो गन्तव्य सुनिश्चित गरिएको दिन समेत भएकोले आजको दिन हामी नेपालीको राष्ट्रिय दिवस हो। हाम्रो संविधान दिवस, जनसंविधान दिवस पनि हो। त्यसैले आजको दिन जनताको विजयको दिन हो।

    आजको दिनलाई सरकारी औपचारिक कार्यक्रममा मात्र सीमित गर्नु हुँदैन। हरेक घरमा उत्सव र हरेकको मन-मनमा उत्साह छाउनु पर्छ। आज हामी यस दिवसलाई राजधानीमा मात्रै हैन, सबै प्रदेश र स्थानीय तहहरूमा विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउँदै छौं।

    यस सुखद् अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस संविधान निर्माणको ऐतिहासिक चरणसम्म आइपुग्न हाम्रो राजनीतिक आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दै स्मरण गर्दछु । ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। आन्दोलनको क्रममा घाइते र अपाङ्ग हुनुहुने सबै दाजुभाइ- इ-दिदीबहिनीहरूप्रति सम्मान व्यक्त गर्दछु । मजदुर, किसान, पेसाकर्मी लगायत सबै श्रमजीवी वर्ग, युवा विद्यार्थी, वुद्धिजिवी, महिला, मधेसी, आदिवासी जनजाति र विभिन्न तह र तप्काका सङ्घर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु।

    आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु!

    हाम्रो देश १२३ भाषा र बोली बोल्ने १२६ विभिन्न जाति जनजातिहरूको साझा घर हो। यो घर, सबै जात जाति, भाषा भाषी, वर्ग, वर्ण र समुदायबीचको न्यानो सम्बन्धमा अडेको छ। हामीबीचको सहअस्तित्व र आपसी सद्भाव एवम् पारस्परिक सहयोग नै हाम्रो राष्ट्रिय एकताको आधार हो। हाम्रो भौगोलिक तथा जैविक विविधता र अपार प्राकृतिक सम्पदा समृद्धिको आधार हो।

    जब म संविधान पढ्छु, यिनै विविधता प्रतिबिम्बित भएको पाउँछु। मजदुर, किसान, शिक्षक, विद्यार्थी, युवा तथा पाका सबैको आवाज गुन्जिएको पाउँछु। महिला, दलित, आदिवासी जनजाति, थारु या मुसलमान, मधेसी पहाडी हिमाली, अल्पसङ्ख्यक/उत्पीडित र सम्पूर्ण पिछडिएका वर्ग तथा क्षेत्रका नेपालीको सपना र आकाङ्क्षा उल्लेख भएको देख्छु। मलाई लाग्छ हाम्रो संविधानले-

    हामी प्रत्येक नागरिकलाई अधिकार दिलाएको छ। हामी सबै नागरिकलाई आफ्नो कर्तव्य र मर्यादा सिकाएको छ।
    अनि हामी सबै नेपालीको सुन्दर भविष्यको लागि प्रतिवद्धता व्यक्त गरेको छ। अपवादलाई छोडेर यस संविधानले सबै नेपालीको भावनालाई समेटेको छ। यदि सबैको भावना नसमेटिएको हुन्थ्यो भने नौ वर्षअघि संविधान जारी हुँदाको ‘असहमति’ त्यत्तिकै शान्त हुने थिएन। आज म संविधान दिवस मनाइरहँदा, ‘असहमति’ को आडमा हामी बीचको सद्भाव खलबल्याउन खोज्ने शक्तिहरुका विरुद्ध एक हुने आम नेपाली जनताको सुझबुझपूर्ण सहयोगको सगौरव स्मरण गर्दै विशेष धन्यवाद भन्न चाहन्छु।

    आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !
    आज म यो पनि स्वीकार गर्छु, हाम्रो संविधानले सुनिश्चित गरेका कतिपय अधिकारहरू नागरिकका जीवनमा अनुदित भएका छैनन्। उदाहरणका लागि, पहिलो संसदीय व्यवस्था जवरजस्ती अन्त्य गरी तानाशाही व्यवस्था लादिएको बखत रहेको १० प्रतिशत साक्षरताको दर अहिले ७७ प्रतिशत पुगे पनि संविधानले सुनिश्चित गरे अनुरुपको शिक्षाको अधिकार पूरा हुन बाँकी छ।

    अझै पनि पाँचदेखि १२ वर्ष उमेर समूहका दुई लाखभन्दा बढी बालबालिकाहरू विद्यालयबाट बाहिर छन् । शिक्षा र स्वास्थ्य हाम्रो आधारभूत मौलिक हक हो। निरोगी नेपालको हाम्रो चाहना पूरा गर्ने योजना बमोजिमका कार्यक्रम, कार्यक्रम पूरा गर्न लाग्ने स्रोत-साधन, त्यसको लागि आवश्यक पूर्वाधार र जनशक्तिको समस्या हल हुनै बाँकी छ। वर्गीय होस् वा जातीय, क्षेत्रीय होस् वा समुदाय आधारित भेदभाव समाजमा अझै पनि छ संविधानमा भनिएको रोजगारीको अधिकार प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसकेकै कारण आज युवाहरू रोजगारीकै लागि देश छोड्न विवश छन्।

    त्यसै कारण मैले संविधानलाई जीवन बनाउनुपर्छ भन्ने गरेको हुँ। यसलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ। सरकार यस कुरामा दृढ छ र यसको प्रभावकारी कार्यान्वयन गर्न लागि परेको छ।

    संविधानले सुनिश्चित गरेको मौलिक हक मानव अधिकारका विषय हुन् । नागरिक अधिकार प्राप्तिकै लागि म आफैं पनि जेल, नेल र यातना खेपेर, लामो समय अधिकारको लडाइँ लडेर आएको व्यक्ति हुँ । मानवअधिकार हनन् हुँदा के हुन्छ भन्ने कुरा मैले त आफैँले भोगेको छु । तसर्थ मेरो नेतृत्वको यो सरकार मानवअधिकार उल्लङ्घन गर्दैन र मानवअधिकार उल्लङ्घनका कुनै पनि कार्यलाई सहँदैन।

    आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु ! अब हामीले लड्नुपर्ने लडाइँ भनेको प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ हो। यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको लागि लड्नु पर्ने लडाइँ हो।

    – एउटा युवाले मैले देशभित्रै रोजगारी पाउँछु भनेर ढुक्क हुन पाओस्।
    – एउटा श्रमिकले मैले मर्यादित काम पाउँछु भन्ने विश्वास गर्न सकोस्।
    – प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच होस् ।
    – पेटमा अन्न नपरेको कसैको भोको शरीरले ओछ्यान छुनु नपरोस् ।
    – ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्नु नपरोस्।
    – बालबालिका सडकमा होइन, विद्यालयमा भेटिउन्।
    – किसानले कृषि उपजको बजार र मूल्य पाऊन् ।
    – अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाऊन्।
    – र, राज्य बुढेसकालको सहारा बनोस्, कमजोर र असहायहरुको आड भरोसा बनोस् ।
    – म आज सिंगो देशलाई भन्न चाहन्छु, मेरो नेतृत्वको सरकार अहिले यसैमा केन्द्रित छ।

    यसका लागि अहिले दुई किसिमका काम भइरहेका छन् । पहिलो मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार पार्ने । नीतिगत रुपमा अहिले मौलिक हक कार्यान्वयनका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कार्ययोजनाहरु बनाउने कामले तीव्रता पाएको छ।

    दोस्रो मौलिक हक कार्यान्वयनका लागि आर्थिक स्रोत जुटाउने । किनकी सम्पूर्ण मौलिक हकको कार्यान्वयन गर्न लाग्ने आवश्यक आर्थिक स्रोत तत्काल उपलब्ध छैन । मलाई लाग्छ, आज मुलकले सबैभन्दा बढी यही मुद्दामा घोत्लिनुपर्छ।

    आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !
    अझै हाम्रो देशमा सयमध्ये २० जनाजति नागरिक निरपेक्ष गरिबीको रेखामुनि छन् । उनीहरुको या त कमाइ नै छैन या उनीहरुको कमाइले खान, लाउन र बस्न आवश्यक पर्ने खर्च पुग्दै पुग्दैन । यो अवस्थाको अन्त्य गरेर मात्र हामी समाजलाई समतामूलक बनाउन सक्छौं । समाज समतामूलक भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली को हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्छ। राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रो विकासले कुनै पनि क्षेत्रको परिचालनलाई बिर्सनु हुन्न, बिर्संदैन ।

    हाम्रो संविधानले सबैलाई प्रतिस्पर्धाका लागि समान आधार तयार गरेको छ। हाम्रो विकासको स्तर अनुरूप सामाजिक सुरक्षाको प्रस्ताव गरेको छ। सर्वकालिक सामाजिक सुरक्षाबाट ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवासहित संरक्षणको थालनी गरेको छ। ज्यालामा आधारित रोजगारीलाई मर्यादित एवम् सुरक्षित बनाउने र योगदानमा आधारित सामाजिक सुरक्षामार्फत सेवा निवृत्तिपछि उनीहरुको जीवन सहज र सुखी बनाउने कुरामा सरकार दृढ छ। त्यसैगरी स्टार्टअप, स्वरोजगारी एवम् उद्यमशीलतामा लगानी गर्ने र त्यसमा धेरै भन्दा धेरै युवालाई संलग्न गर्ने सरकारको नीति छ। युवा र बालवालिका माथिको खर्च भनेको भविष्यका लागि लगानी हो। हामी आफ्ना लागि कम, भविष्यका लागि धेरै लगानी गर्नुपर्छ भन्नेमा विश्वास गछौं ।

    हामी वातावरणीय पक्षमा पनि उत्तिकै सजग छौं । आजको लागि मात्र होइन अझ बढी त भविष्यका लागि वातावरण सम्बन्धी अधिकारलाई पनि हामीले संविधानमा मौलिक हककै रूपमा राखेका छौं । ग्लोबल वार्मिङ र त्यसको असरका बारेमा सजग छौं । यसप्रति योगदान गर्न हामी संयुक्त रूपमा इमानदार प्रयास गर्नेछौं ।

    आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !
    विकासका लागि स्थायित्व चाहिन्छ। अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ। राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो। तसर्थ विकासको लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन्।

    संविधानलाई समयानुकूल बनाउनु पर्छ। समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो। मेरो विचारमा संविधानको संशोधन भनेको ‘लिखत र मर्म’ (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाँउमा परिवर्तन गर्नु हो। विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो।

    राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौं।

    यसप्रति निश्चय नै राष्ट्रिय चासो छ। म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ।

    आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !
    मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ। संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने चाहन्छ। नहुँदा आम नागरिक कहिलेकाहीँ निराश पनि हुन्छ। मैले संसद्मा विश्वासको मत लिँदै गर्दा भनेको थिएँ- २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलोपटक बोकेको र पोखेको छ। म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ। केही गरौं भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ। म युवा लगायत सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई विश्वास दिलाउन चाहन्छु, काम गरेर देखाउने गरेकै कामले आशा भर्ने बाहेक यो सरकारको अर्को एजेन्डा छैन । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारको अरू कुनै मुद्दा छैन ।
    युवाहरुको सन्दर्भमा एक जना नेताको भनाइ मलाई याद आइरहन्छ- गिभ मि जस्ट वान जेनेरसन अफ युथ एन्ड आई विल ट्रान्सफर्म द होल वर्ल्ड (मलाई युवाहरुको एउटा पुस्ता दिनुस्, र, म सिङ्गो दुनियाँ बदल्ने छु) । म पनि ठान्छु, हाम्रो युवा पुस्ताकै बलमा यो मुलुक रुपान्तरण गर्न सकिन्छ।

    आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला। तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गछौँ, गछौँ । सुशासन कायम त हामी गर्छौं, गर्छौं । तर, याद गरौं, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौं ।

    आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !
    आर्थिक विकास र उन्नतिको जुनसुकै तहमा हुदाँ पनि नेपाल सदैव एउटा सभ्य र सुसंस्कृत राष्ट्र हो। नेपाली समाज एउटा अनुशासित समाज हो। यहाँका जनता सभ्यता, शिष्टता र सामाजिक मर्यादा जस्ता कुरालाई आफ्नो आदर्श ठान्छन् ।

    हाम्रो समाजमा अनुशासन र सामाजिक व्यवस्थाका आफ्नै शीलहरु छन् र उच्चस्तरीय अनुबन्धहरु छन् । हाम्रो समाजले अराजकता र भाँडभैलोलाई लोकतन्त्र मान्दैन । असहमति जवरजस्ती दवाउने कुरालाई अनुशासन पनि मान्दैन । लोकतन्त्र र अनुशासन, स्वतन्त्रता र नियमन हाम्रो समाजका अविभाज्य पक्ष हुन् । यिनले नै समाजलाई नियन्त्रित र सन्तुलित तुल्याउन मद्दत पुर्‍याउँछन । आज हामी अरुको नक्कल गर्न खोज्दा, सामाजिक सम्बन्ध, मर्यादा र अनुशासन जस्ता कुराहरुलाई महत्त्व नदिने बाटोतिर भ्रमपूर्ण र गलत ढंगले जान खोजेका पो हौं कि ? यस्ता प्रवृत्तिहरु समाजमा यदाकदा देखिएका छन् र नेपाली समाजलाई यी कुरा कदापि स्वीकार्य हुँदैनन् र हुनेछैनन् ।

    हामीले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल हैन । पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज हो।यस्तो नमुना समाज- जुन शान्त, सभ्य र सुसंस्कृत हुनेछ। जहाँ सुखसहितको समृद्धि हुनेछ।

    हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था हो। त्यसैले, ‘सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो। सुशासन अर्थात् कानुनी राज, पारदर्शिता र उत्तरदायित्व हाम्रो लोकतन्त्रको अभिन्न सर्त हो।

    ‘वसुधैव कुटुम्बकम’, सदियौंदेखि हामीले भन्दै र सुन्दै आएको आदर्श वाक्य हो। हामी नेपाली सिङ्गो विश्वलाई एक परिवार मान्छौं । सबैलाई दाजुभाइ, दिदीबहिनी मानी हाम्रो वैदेशिक सम्बन्ध कायम राख्छौ । ‘सबैसँग मित्रता- छैन कसैसँग शत्रुता’, हाम्रो विदेश नीतिको मर्म हो। हामी हाम्रा छिमेकीसँग असल छिमेक सम्बन्ध राख्छौ । संसारभरिकै सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम गर्न चाहन्छौं ।

    आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !
    मैले, पहिले नै भनिसकेको छु- हाम्रो राष्ट्र बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय राष्ट्र हो। हामी सबै मिलेर सबै जात जाति,

    भाषा संस्कृतिको रक्षा, प्रवर्द्धन र विकासबाट राष्ट्र बन्छ, देश बन्छ। हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासक आफैंले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो। अब यो पछाडि फर्किंदैन। यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो। यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम् कर्तव्य र दायित्व हो।

    संविधान दिवसको फेरि एकपटक शुभकामना ।
    धन्यवाद ।

    (संविधान दिवस २०८१ को अवसरमा संनिक मञ्च टुंडिदेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको अंश)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार