काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले व्यवस्था परिवर्तनका बहानामा नाममात्रै परिवर्तन गरेर जनतालाई बेकुफ बनाउने काम भएको बताएका छन् ।
संविधान दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजाको पाउमा दाम चढाएका र पञ्चायत कालमा मन्त्री बनेकाहरुले अहिले पनि शासन चलाएर व्यवस्था परिवर्तन भयो भनिरहेको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै नेता शाहीले गणतन्त्रको नाममा व्यक्ति, सिस्टम र आचरण परिवर्तन नभएर नाममात्रै परिवर्तन भएको बताएका हुन् ।
‘आचरण एउटै, काम एउटै, सिस्टम एउटै, व्यवस्था एउटै, नाममात्रै परिवर्तन गरेर हुन्छ । यहाँ पटक–पटक व्यवस्था परिवर्तन गर्यौं भन्छन् । के परिवर्तन गर्यौ ? पञ्चायत कालमा मन्त्री भएकाहरु गणतन्त्रमा पनि छन् । राजाको खुट्टामा दाम चढाएका शेरबहादुर देउवा र केपी ओली यो देशको प्रधानमन्त्री र दलको नेता भएर बसेका छन् । व्यक्ति परिवर्तन भयो ? भएन । सिस्टम परिवर्तन भयो ? भएन, नाममात्रै परिवर्तन भयो,’– उनले भने ।
नेता शाहीले नेपालको संविधानमा नागरिकहरुका लागि मौलिक हकको व्यवस्था गरिए पनि त्यो कार्यान्वयन नहुँदा शासकहरुलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताए ।
साथै, सांसदबाट विकास र प्रहरीबाट न्याय खोजेर जनताले पनि अहिले पञ्चायती व्यवस्था मानिरहेको उनको टिप्पणी छ । ‘जनताले पञ्चायत व्यवस्था मानिरहेका छन् । सांसद्ले विकास गरोस् सोचिरहेका छन्, पुलिसले न्याय दिन्छ भनिरहेका छन् । जनताको माइन्ड अहिले पनि पञ्चायतकै छ,’– उनले भने ।
वर्तमान संविधानकै कारण जनता अहिले अन्यायमा रहेको उनले बताए । न्याय पाउन नसक्दा सर्वसाधरणहरुले सर्वोच्च अदालत अगाडि आत्महत्या गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘विचरा जनताले न्याय नपाएर सर्वोच्च अदालत अगाडि आत्महत्या गर्न बाध्य भइरहेका छन्,’– उनले भने ।
वर्तमान व्यवस्था ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैयाबाहेक अर्को कोही हुन नसक्ने उनको टिप्पणी छ । नेता शाहीले लुट्न पाएकाहरुले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक भनिरहेका बताए । ‘यही व्यवस्था ठीक भन्नेमान्छे राजनीतिक कमैया र दासबाहेक अरुले भन्दैन । जसले खान पाएको छ, जसले स्थानीय तह लुट्न पाएको छ, जसले प्रदेश लुट्न पाएको छ । त्यो परिवर्तन गरौं भन्दा हामीलाई तिमीले राजा ल्याउन लागेको ? भन्छन् हामीलाई,’– उनले भने ।
साथै, उनले संविधानमा रहेको न्याय परिषद्को व्यवस्थाको पनि विरोध गरे । न्याय परिषद्भित्र नेता बसेर राजनीतिक दलको कार्यकर्तालाई न्यायाधीश बनाइएको उनले बताए । सोही कारणले न्यायीक फैसलामा त्रुटी पाइएको उनले बताए । संविधानको धारा १५३ मा रहेको न्याय परिषद् सम्बन्धी व्यवस्था खारेज गरिनुपर्ने उनले बताए ।
‘कुनै पनि अदालतको न्यायाधीश नियुक्ति गर्ने न्याय परिषद्ले हो । न्याय परिषद्भित्र नेताहरु बसेका छन् । अनि राजनीतिक दलको कार्यकर्तालाई लगेर न्यायाधीश बनाउँछन् । त्यो कार्यकर्ताले न्याय दिन्छ ? उसले फैसला सबै गलत दिन्छ । यो संविधानको धारा १५३ को कमजोरी हो । यसलाई संशोधन गरौं,’– उनले भने ।
वर्तमान व्यवस्था विदेशीले ल्याएको उनको आरोप छ । नेता शाहीले नेपालको संविधानका केही धाराहरुले देशको भन्दा पनि विदेशीहरुको हित गरेको उनले बताए ।
‘म ३१ वर्ष भएँ । यो व्यवस्था आएको ३३ वर्ष भएछ । यो विदेशीहरुले ल्याएको व्यवस्था हो । यो संविधान संशोधन नगरी देश बन्दैबन्दैन । संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता छ । संविधानका केही धाराहरुले देशको हितभन्दा पनि विदेशीको फेबरमा काम गर्छन्,’– नेता शाहीले भने ।
नेता शाहीले नेपालमा राजतन्त्र कानुनी प्रक्रियाबाट नफालिएको दाबी गरे । उनले अहिले पनि राजा कि संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जनमत संग्रहमा जाने आँट गर्न चुनौति दिए । ‘यदि देश बनाउने इच्छा छ र झुठ बोलेको होईन भने जनतामा जाऔं । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं । राजाको कुरा भोलि जनमत संग्रह गरौंला । जनताले माने ठीकै छ । किन भने जनताभन्दा ठूलो कोही छैन । जनमत संग्रहमा जाऔं न त,’– उनले भने ।
जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जाने हो भने वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई जनताले जिताएर नपठाउने उनको दाबी छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी, स्वतन्त्र सांसद र प्रदेश खारेजी अहिलेको तत्कालीन आवश्यक्ता रहेको उनले बताए ।