images
images

यती एअरलाइन्सको २६ बर्षे उडान : ट्विनअटरदेखि एटिआरसम्मको यात्रा, सेवा सुविधामा अग्रणी

यती एअरलाइन्सको २६ बर्षे उडान : ट्विनअटरदेखि एटिआरसम्मको यात्रा, सेवा सुविधामा अग्रणी

शनिवार, असोज ५ २०८१
शनिवार, असोज ५ २०८१
  • यती एअरलाइन्सको २६ बर्षे उडान : ट्विनअटरदेखि एटिआरसम्मको यात्रा, सेवा सुविधामा अग्रणी

    काठमाडौँ / दुई ओटा ट्विनअटर वायुयान लिएर नेपाली आकाशमा उड्न सुरु गरेको यति एअरलाइन्सले आजदेखि २६औँ बर्ष पूरा गरेको छ ।

    images
    images

    निजी हवाइ सेवा कम्पनीको रूपमा सन् १९९८ सेप्टेम्बर २१ देखि सञ्चालनमा आएको एअरलाइन्सले माउन्टे फ्लाइटसहित नेपालका ठूला शहरहरूमा मात्रै होइन अति दुर्गमसम्म उडान भर्दै आएको छ ।

    यतिले तत्कालिन हवाइ विभागबाट सन् १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त गरेको थियो । नेपालको हवाइ सेवाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको यती एअरलाइन्सले यस अवधिमा विभिन्न सेवा सुविधा प्रदान गरिसकेको छ । 

    २६ बर्षको यो यात्रामा यतीले डिएचसी-६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी ९१२०,साब९३४० बि, जेटस्ट्रीम जे -४१, डिएचसी-६ ४०० ट्विनअटर तथा एटिआर-७२, ५०० जस्ता ३८ ओटा जहाज वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ ।

    कतिपय जहाजहरू बिक्री भएर बाहिर गइसकेको यती एअरलाइन्सका प्रवक्ता तथा हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए । 

    एशियन लाइफ इन्स्योरेन्सकोसमेत लगानी रहेको यती एअरलाइन्सले थप ३ ओटा वायुयान भित्र्याउने र सर्वसाधारणका लागि आइपिओ जारी गर्ने लक्ष्य लिएको छ । 

    फूल टाइम र पार्ट टाइम गरी ८५० जनाभन्दा बढी कर्मचारी कार्यरत रहेको यती एअरलाइन्सले नेपालमा हवाइसेवाका लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ । 

    प्रवक्ता तथा हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले हाल यती एअरलाइन्ससँग हाल एटिआर७२ सात ओटा विमान रहेको जानकारी दिए । 

    यतीले हाल माउन्टेन फ्लाइटसहित ९ ओटा सेक्टरमा उडान भर्दै आएको छ । दैनिक ७० ओटा उडान तालिका रहेको यतीले नेपालको सुगम गन्तव्यहरू काठमाडौँ, चद्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानहरू गर्दै आएको छ ।

    यसैगरी अन्तर्राष्ट्रियतर्फ चार्टर र नन-सेड्युल हवाइ सेवासमेत प्रदान गर्दै आएको छ । एअरलाइन्सको सरदर अकुपेन्सी दैनिक ८० प्रतिशतभन्दा माथि रहेको बर्तौलाले जानकारी दिए । 

    यती एअरलाइन्सले सन् २०२३ को सेप्टेम्बर २१ देखि २०२४ को सेप्टेम्बर २० सम्म ८ लाख ६५ हजार ८९० यात्रुलाई गन्तव्यमा पुर्याएको छ ।

    yeti0.JPG

    सन् २०२२ मा यो सङ्ख्या करिब १० लाख थियो भने सन् २०२३ मा ७ लाखभन्दा बढी रहेको थियो ।

    तथ्याङ्क अनुसार यस बर्ष यात्रुहरूका लागि सेवा सुविधा र व्यवसाय विस्तारमा सक्रिय रहेको यती एअरलाइन्समा यात्रा गर्नेहरू गत बर्षको तुलनामा भने बृद्धि भएको देखिन्छ । २०२४ भने यो सङ्ख्यालाई अझै बढाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको उनले बताए । 

    यती एअरलाइन्सले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अब सर्वसाधारणका लागि समेत आइपिओ जारी गर्ने घोषणा गरेको थियो । हाल सो विषयमा काम भइरहेको र नियामकको स्वीकृति प्राप्त भएमा यस आर्थिक बर्षभित्र नै हुन सक्ने बर्तौलाले बताए ।

    कार्वन न्युट्रल अभियान सुरु गर्ने पहिलो हवाइ कम्पनी 

    यती एअरलाइन्स नेपालमा कार्वन न्युट्रल अभियान सुरु गर्ने पहिलो हवाइ कम्पनी हो । कार्वन उत्सर्जन कम गर्न इन्धन बढी खपत गर्ने विमानलाई विस्थापित गरी कम इन्धनमा चल्ने जहाज खरिद गरी सेवा विस्तार गरेको थियो ।

    त्यस्तै एयरपोर्टमा यात्रुलाई जहाजसम्म ल्याउने/पु-याउने सुविधाका लागि प्रयोग हुने सवारी साधनको सन्दर्भमा पनि विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ ।

    डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सबै सवारी साधनहरूलाई बिस्तारै विस्थापित गर्दै विद्युतीय सवारी थप गर्नेतर्फ कम्पनी अघि बढेको छ । 

    यतीले प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्वनको राष्ट्र संघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति गर्दै आइरहेको छ ।

    साथै, यती एअरलाइन्सले विभिन्न संघसंस्थाहरुको सहकार्यमा पश्चिम क्षेत्रमा ३ लाखभन्दा बढी बढी वृक्षारोपण समेत गरेको थियो ।

    yeti air0.JPG

    सगरमाथा सफाई अभियानमा यतीको योगदान 

    स्थानीय सरकार तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा सगरमाथा सफाई अभियानमा यती र भातृ संस्था तारा एयर निरन्तर लागिरहेको छ ।

    पर्यावरण स्वच्छ बनाई पर्यटनलाई प्रवद्र्धन गर्न सगरमाथा लगायत खुम्बु क्षेत्रका फोहोर सङ्कलन गरी काठमाडौँ ढुवानी गरेको थियो । 

    यो अभियान सन् २००८ देखि भएको हो । यस अभियानअन्तर्गत यतीले ८५ टनभन्दा बढी फोहोर सगरमाथा क्षेत्रबाट ल्याएको छ । 

    दुर्गममुखी हवाइ कम्पनी

    यती एअलाइन्स दुर्गमुखी हवाइ कम्पनी हो । यती र यसको भातृ संस्था तारा एयरले दुर्गम क्षेत्रमा हवाइ सेवा प्रदान गरी दुर्गममुखी हवाइ सेवा कम्पनीको रूपमा पनि चिनिएको छ ।

    सडक सञ्जाल नपुगेको क्षेत्रमा त्यस क्षेत्रका स्थानीयबासीले बढी दुःख खेप्नुपर्ने बाध्यतालाई कम गर्न तारा एयरले दुर्गमका विमानस्थलमा उडान भर्ने गरेको हो ।

    खाद्यान्नसँगै बिरामीदेखि निर्माण सामग्री समेत ढुवानीमा सहयोग गर्दै आएको छ । यती एयरलाइन्सले ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई मूख्य प्रायोजन गरेको थियो ।

    अशक्त तथा ज्येष्ठ नागरिकलाई छुट

    यती तथा तारा एयरले आफ्नो प्रत्येक उडान सेवामा शारीरिक रूपमा अशक्तलाई हवाइ भाडामा ५० प्रतिशत तथा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई २५ प्रतिशत छुट दिँदै आइरहेको छ ।

    सुरक्षित हवाइ सेवाको लागि प्रमाणितः इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोसिएशन (आयटा)ले यती एअरलाइन्सको सुरक्षा सम्बन्धी अडिट गरेर सुरक्षित सेवाका लागि सन् २०१६ र २०१९ मा गरी दुई पटक आयटा स्टान्डर्ड सेफ्टी अडिट प्रमाणपत्रले सम्मान गरेको छ ।

    yati1.JPG

    आयटाद्वारा यो प्रमाणपत्र प्रदान गरिएको नेपालको एकमात्र हवाइ कम्पनी यती एअरलाइन्स हो । उड्डयनको क्षेत्रमा आइएसएसएको यो प्रमाण पत्र उत्कृष्ट हवाइ सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्रै प्रदान गरिन्छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर निर्माणाधिन

    यती एअरलाइन्सले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा ह्याङगर निर्माण गरिरहेको छ । ५ हजार वर्गमिटर क्षेत्रफलमा सुविधा सम्पन्न आधुनिक ह्याङगरमा एअरबस ३२० र एटिआर–७२ एकैपटक राखेर मर्मत गर्न सकिने बर्तौलाले जानकारी दिए ।

    हाल यतीले सम्पूर्ण एयरक्राफ्टको बेस मेन्टेनेन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ ह्याङगरमा गर्दै आएको छ । 

    बालबालिकाहरूका लागि निःशुल्क टिकट

    यती एअरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाइ भाडा निःशुल्क गर्ने पहिलो कम्पनीसमत हो । कम्पनीले गत बैशाखदेखि ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरूलाई यतीले हवाइ भाडा शतप्रतिशत छुट दिने घोषणा गरेको थियो ।

    हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्समार्फत नै सुरुवात होस् भनेर कम्पनीले यो योजना ल्याइएको प्रवक्ता तथा सुरक्षा प्रमुख बर्तौलाले बताए । एअरलाइन्सहरूमा २४ महिनासम्मका शिशुको हकमा सेवा शुल्क लाग्ने गरेको छ । 

    yati news.JPG

    उनका अनुसार यो योजना नेपाली र विदेशी सबै शिशुहरूका लागू हुनेछ । यो सुविधा लिन यात्रा गर्दा अभिभावकहरूले यती एअरलाइन्सको चेक-इन काउन्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रूपमा देखाउनु पर्नेछ ।

    इन फ्लाइट इन्टरटेनमेन्ट प्रणाली जडान

    यती एअरलाइन्सको इन फ्लाइट सर्भिसमा समेत काम गरेको छ । यो एअरलाइन्स नेपालमा इनफ्लाइट इन्टरटेनमेन्ट प्रणाली जडान गर्ने पहिलो एअरलाइन्ससमेत हो ।

    यस प्रणालीको सहयोगले यतीमा यात्रा गर्दा मोवाइलमा छुट्टै वाइफाइको प्रयोग गरी चलचित्र, म्युजिक भिडिओ, गेम खेल्नेलगायतको सुविधा लिन सक्छ । यो सेवाबाट बालबालिकाहरू निकै उत्साहित भएको उनले बताए । 

    इन फ्लाइट क्याटरिङ सर्भिस

    यती एअरलाइन्सले कोरोनापछि पनि क्याटरिङ सर्भिसलाई निरन्तरता दिइरहेको छ । कम्पनीले आफ्ना यात्रुहरूलाई चकलेट, पानी र जुसका साथै पिनट्स वितरण गरिरहेको सुरक्षा प्रमुख एवं प्रवक्ता बर्तौलाले बताए ।

    आफ्ना सबैखाले यात्रुहरूलाई चकलेटका साथै एप्पल तथा रियल जुस वितरण गर्दै आएको यतीले पिनट्ससमेत वितरण गर्न सुरु गरेको हो । 

    ह्वील चेयर तथा भिआइपी प्यासेन्जरहरूका लागि विशेष व्यवस्था

    यती एअरलाइन्सले ह्वील चेयर प्यासेन्जरहरूका लागि विशेष व्यवस्था गरेको छ । यस्तो व्यवस्था गर्ने यो एअरलाइन्स नेपालमै पहिलो र एक मात्र एअरलाइन्स हो ।

    yeti2.JPG

    एअरलाइन्सले काठमाडौँ एअरपोर्टमा ह्वीलचेयर प्यासेन्जरहरूका लागि छुट्टै गाडिको व्यवस्था गरेको हो । यतीले यो सेवा सुरु गरेको करिब एक बर्ष भएको बर्तौलाले जानकारी दिए । त्यस्तै, भिआइपी प्यासेन्जरहरूको लागिसमेत छुट्टै गाडिको व्यवस्था गरेको छ । 

    अशक्त, बालबालिका र जेष्ठ नागरिकलाई लाइन लाग्न नपर्ने  

    यती एअरलाइन्सले अशक्त, शारीरिक रूपमा फरक क्षमता भएका, जेष्ठ नागरिक तथा बालबालिकाहरूलाई प्राथमिकता दिँदै आएको छ । उनीहरूका लागि अलग्गै काउन्टर भएको र लाइन लाग्न नपर्ने उनले बताए । 

    त्यस्तै, एअरपोर्टमा आइसकेपछि जुनसुकै काउन्टरबाट जुनसुकै सेक्टरको टिकट चेकिङ गर्न सकिने बर्तौलाले बताए । उनले भने, “एनि काउन्टरको सर्भिस छ । एउटै काउन्टरमा लामो लाइन लाग्नुपर्ने समस्या छैन ।” 

    यती एअरलाइन्सको आगामी रणनीति 

    नयाँ साझेदारको रूपमा एशियन लाइफ इन्स्योरेन्सलाई भित्र्याएपछि एअरलाइन्सले एटीआर ७२–६०० सिरिजका ३ थान जहाज भित्र्याउने योजनामा रहेको छ ।

    अहिले यतीले नेपालमा ७२-५०० सिरिजको जहाज उडान गरिरहेको छ र अब यसको तुलनामा अर्को मोडल यात्रुको सुविधाको दृष्टिले थप आरामदायी जहाज भित्र्याउन लागेको बर्तौलाले बताए ।

    आइपीओ जारी गर्ने तयारी गरिरहेको यती एअरलाइन्सको निकट भविष्यमै १० ओटा जहाज पुर्याउने योजना रहेको उनले जानकारी दिए ।

    त्यस्तै, आगामी बर्षमा आक्रामक रूपमा व्यवसाय विस्तार गर्ने रणनीति बनाएको उनले बताए । सेवा सुविधाहरूलाई परिमार्जित गर्दै व्यवसाय विस्तार गर्ने एअरको योजना रहेको उनको भनाइ छ ।

    “यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाइ सेवा प्रदान गर्ने यती एअरलाइन्सको नयाँ मिसन हो,” उनले भने, “व्यापार विस्तारका क्रममा हवाइ सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरूको सन्तुष्टि कायम गर्न हामी प्रतिबद्ध छौँ ।” 

    पछिल्लो समय एअरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रक्षिण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक लगानी गरको उनले बताए ।

    बर्तौलाले थपे, “आइटाद्वारा प्रदा नगरिएको ‘आइएसएसए’को प्रमाणपत्र यती एअरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थाप प्रणाली र कार्य सम्पादमा निरन्तर सुधार भएको प्रमाण हो ।”  

    यती एअरलाइन्सको एनीभर्सरी अफर 

    यती एअरलाइन्सले १६औँ बार्षिकोत्वको अवसरमा ‘एनीभर्सरी अफर’ सार्वजनिक गरेको छ । एअरलाइन्सलाई २६औँ बार्षिकोत्सवको शुभकामना दिँदै टिकटक भिडियो बनाएर सेयर गर्दा हरेक दिन एकजना भाग्यमानी बिजेताले यतीको फ्रि टिकेट र जोडीका लागि चलचित्रको टिकट प्राप्त गर्ने यती एअरलाइसले प्रदान गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार