images
images

कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

    भैरहवा (रुपन्देही) / रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । 

    images
    images
    images
    images

    परिवारमा सोहन र मोहन दुई दाजुभाइ छन् । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पूख्र्यौली पेसा सम्हारिरहेका छन् । 

    बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पूख्र्यौली पेसालाई व्यावसायिक बनाएका छन् ।

    तिहार आउन तीन मात्र बाँकी हुँदा दुवै भाइलाई बत्ती बाल्न प्रयोग हुने माटोको पाला बनाउन र त्यसलाई बिक्री गर्न भ्याइनभ्याइ छ । 

    माग र लगन दुवै उत्तिकै भए पनि यही पेसाले चार जनाको परिवार पाल्दै आएका मोहनले माटो, दाउरालगायत आवश्यक सामान नपाइँदा समस्या भइरहेको बताए। 

    परासी, बुटवल, भैरहवा, खैरेनी र स्थानीय बजारमा पालाको माग रहेको उनको भनाइ छ । रूपन्देहीको धकधईमा यो पेसा गर्दै आएका करिब ३० परिवार छन् ।

    तिहारलाई उज्यालो पर्वको रूपमा लिइने हुँदा दिपावली पनि भन्ने गरिन्छ । तिहारमा माटोको पालामा बत्तीबाल्ने पुरानो चलन अझै पनि कायमै छ । यद्यपि पालामा तेल हालेर बत्ती बाल्ने प्रचलनलाई आधुनिकतासँगै आएको विद्युतीय बत्तीले प्रभाव पारेको छ ।

    मोहन र सोहनलाई मात्रै होइन अन्य समयभन्दा तिहारका समयमा अत्यधिक बिक्री हुने भएकाले धकधई गाउँका सबैजसो घरपरिवारलाई पाला बनाउन नभ्याइनभ्याइ छ । 

    ४५ वर्षीय बैजनाथ कोहारको पनि यस वर्षको तिहारमा साना ठूला गरी ५० हजार पाला बिक्री गर्ने लक्ष्य छ । 

    उनी भन्छन्, “अन्य समयभन्दा हामी अहिले बढी व्यस्त छौँ, दुई महिनादेखि नै पाला बनाउन लागेका छौँ, यो हाम्रा लागि उपयुक्त समय हो । तीन पुस्तादेखिको यो पेसालाई मैले पनि निरन्तरता दिदैँ आएको छु ।”

    विसं २०५५ देखि बैजनाथले निरन्तर माटोको पालालगायतका अन्य सामग्री बनाउदै आएका छन् । सामान बनाउन सके बिक्री गर्न त्यति गाह्रो नभएको उनको अनुभव छ । 

    “पहिला पोखरासम्म पालालगायतका सामान जान्थ्यो, अहिले यही स्थानीय बजार भैरहवा, बुटवल, मणिग्राम, परासीलगायतबाट व्यापारी आएर लैजान्छन् । मेहनत बढी छ, कमाइ कम छ तर खुसी छौँ, यही पाला बनाएर जीविकोपार्जन भएको छ”, बैजनाथले भने,“ पेसा बचाउन र निरन्तरताको लागि सरकारबाट पनि केही सहयोग भए राम्रो हुन्थ्यो । अहिलेसम्म कुनै सहयोग पाएका छैनौँ । कम्तीमा विद्युत् मोटरबाट चल्ने एउटा चक्की सहयोग गरिदिएको भए राम्रो हुने थियो ।”

    सोही गाउँका मनोहरप्रसाद कोहारले पाला बनाई बिक्री गर्न लागेको २५ वर्ष भयो । उनलाई सानो पाला सय कडा ५ रुपैयाँ र ठूलो पाला २५ पैसा प्रतिगोटामा बिक्री गरेको स्मरण छ । अहिले सानो पाला ३० रुपैयाँ दर्जन र ठूलो पालाको मूल्य १० रुपैयाँ गोटा पुगेको छ । हाल उनलाई पनि पाला बनाउन भ्याइनभ्याइ छ ।

    “पालामा बत्ती बाल्ने प्रचलन अझै कायमै छ, त्यसैले अन्य समयमा हामीले राम्रो कारोबार गर्न नसके पनि तिहारको बेला ठिकै छ । यो पेसाबाट पाँच जनाको परिवारको गुजारा चलेको छ ।”

    यस पटकको तिहारमा ८० हजार रुपैयाँभन्दा बढीको पाला बिक्री गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए । मनोहरले नयाँ पुस्तामा पेसा हस्तान्तरणमा गर्नका लागि स्थानीय तहबाट सहयोग, तालिमको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

    पालालगायत माटाका अन्य सामान बनाउन प्रयोग हुने माटो एक ट्रालिकै तीन हजारसम्म पर्दछ । दाउरा पाउन पनि समस्या नै छ । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले अबको वार्षिक कार्ययोजनामा यो विषयमा ध्यान दिई पेसा संरक्षणका लागि आवश्यक सहयोग गर्ने बताए । उनले यस्ता पराम्परागत पेसालाई जोगाउन गाउँपालिकाले कार्ययोजना बनाइ आवश्यक बजेट विनियोजन गर्ने बताए ।

    माटोका पालालगायतका अन्य सामान बनाउने पेसामा आश्रित कोहार समुदाय आफूहरूलाई बजारभन्दा पनि माटोको वस्तु बनाउने परम्परागत चक्कीको साटो विद्युतीय मोटर, माटोमा अनुदान र तालिम प्रदान गरे यो पेसा सुरक्षित हुनुका साथै पुस्तान्तरणमा समेत सहयोग पुग्ने बताउछन् । 

    – राधेश्याम विश्वकर्मा, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार