काठमाडौँ / सैनिक श्रीमती संघ (नेपाली सेना)को ४१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बिहीबार जङ्गी अड्डामा बिविध कार्यक्रमहरू आयोजना गरि वार्षिकोत्सव सम्पन्न भएको हो ।
बार्षिकोत्सवको अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले विधिवत रूपमा पूजा अर्चना तथा झण्डोत्तोलन गर्नुका साथै संघले सम्पादन गर्दै आएका विभिन्न किसिमका कल्याणकारी कार्यहरूका बारेमा समेत प्रकाश पारेकी थिइन् ।
सोही अवसरमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल र संघकी अध्यक्ष सिग्देलले संघको वार्षिक मुख पत्र ‘सेवा सुमन’को संयुक्त रूपमा विमोचन गरे ।
सो क्रममा उनीहरूले प्रकाशित उत्कृष्ट लेख रचनाका सर्जकहरूलाई पुरस्कृत गरेका थिए ।
साथै सैनिक महाविद्यालयहरूमा अध्ययनरत सकलदर्जाका जेहेन्दार छात्र छात्राहरू तथा फरक क्षमता भएका बालबालिकाहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए । वि.सं. २०४० साल कार्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ, सैनिक परिवारको हित र विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहँदै आएको छ ।
उक्त कार्यक्रममा रथीवृन्द, संघका पूर्व अध्यक्षज्युहरु, संघका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्र छात्राहरू लगायत अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।