काठमाडौँ / नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (एससिटि) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माइपे वालेट)बिच सम्झौता भएको छ ।
दुई कम्पनीबिच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको हो । सम्झौतापश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।
क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा एससिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माइपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरे ।
स्मार्ट क्युआरमार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवातपश्चात माईपे वालेटका प्रयोगकर्तालगायत मर्चेन्टहरूलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको कम्पनीले जनाएको छ ।