काठमाडौँ / नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना प्रकाशित गरेको छ । सम्झौता पालना नगरेकाले बक्यौता असुल्ने निर्णय गर्दै निगमले उक्त सूचना प्रकाशित गरेको हो ।
निगमले सम्झौताअनुसार काम नगरेको भन्दै तलब भत्ता, भ्रमण भत्तालगायत शीर्षकमा बुझेको रकम ब्याजसहित फिर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ ।
केसीले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिमपछि काममा नफर्किएको निगमले जनाएको छ ।
यसबारे पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको निगमको भनाई छ ।