काठमाडौँ / प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम-सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ ।
त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।
यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र वधु पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।
पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकअघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् ।
यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ । यसैगरी देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता छ ।
भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ ।
बत्तीसपुतलीको राममन्दीरमा विवाहपञ्चमी उत्सव
काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सवर्द्धन समितिको आयोजनामा यहाँ विवाह महोत्सव मनाउन लागिएको हो । विवाह महोत्सव बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–९ आरुबारी र वडा नम्बर २ को भूमिस्थलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि विभिन्न कार्यक्रम आयोजना गरी श्रीरामचन्द्र विवाह महोत्सव पर्व मनाइने जनाइएको छ ।
काठमाडौँ उपत्यका र बाहिरका श्रीरामचन्द्र मन्दिरमा पनि आज विधिपूर्वक श्रीराम सीताको पूजा, आराधनासहित विवाह गरिएिर महोत्सव मनाइने भएको छ ।