काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुदैँछ । बुधबारको पहिलो इलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अङ्क जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।
समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ । यस्तै आजको दोस्रो खेल भने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच हुदैँछ । यो खेलले फाइनलको यात्रा सुनिश्चित गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुँदैछ ।
यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर मार्फत अन्तिम अवसर पाउनेछ ।
लिग चरणमा सुदूरपश्चिमले सातमध्ये ६ खेलमा जित र एक हारसँगै १२ अङ्क जोड्दै शीर्ष स्थान हासिल गरेर क्वालिफायर १ मा स्थान बनाएको हो । जनकपुरले भने पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
समूह चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो । जनकपुरका कप्तान अनिलकुमार साहले चोटका कारण बाँकी खेल खेल्न नपाएको अवस्थामा कप्तानीको जिम्मेवारी आसिफ शेखले लिएका छन् ।