काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकार कमिसन बढाउनुप-यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बताए । उनले भने, “सरकार कमिसन बढाउनुपर्यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको छ । सरकार कमिसन खोर व्यापारीको पक्षमा छ यो प्रमाणित गरेको छ ।”
त्यस्तै उनले घरघरमा ग्यासको पाइप पु¥याउने भनेको दश वर्ष हुँदा पनि केही नभएको बताए । उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकार कारबाही गर्न हात धोएर लागेको भन्दै आपत्ति जनाए ।
उनले भने, “कति वर्ष भयो घरघरमा ग्यासको पाइप पुर्याउने भनेको, मैंले मात्रै सुनेको हो कि यहाँ भएका माननीयहरूले पनि सुन्नुभएको हो । दश वर्ष जति भएछ । जसले बिजुली चुलोसम्म पुर्याउने नीति बनाउँदैथ्यो, उसलाई सरकार कारबाही गर्न तम्तयार भएर हात धोएर लागेको छ । एक रुपैयाँ तेलको मूल्य बढ्दै गर्दा बानेश्वरमा चक्का जाम र टायर बाल्ने अखिलका दाइहरू पनि अहिले यही सदनमा हुनुहुन्छ । आज यति विधि आक्रान्त मूल्यवृद्धि हुँदै गर्दा ती दाइहरू किन मौन हुनुहुन्छ ।”