काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५०९ औँ बैठकले माघ २३ गतेदेखि नै स्वतन्त्र सञ्चालकमा रेग्मीलाई नियुक्त गरेको हो ।
वरिष्ठ अधिवत्ता रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ ।
कानुुन विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् ।
उनी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध छन् । नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ्ग क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् ।
सञ्चालक रेग्मीले बैंकिङ्ग कानून तथा संस्थागत सुशासन सम्बन्धि पुस्तक प्रकाशित गर्नुका साथै विभिन्न रिसर्च पेपरहरू एवम् जर्नलहरूमा आलेख प्रकाशित गरेका छन् ।
उनको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।