काठमाडौँ / इभेन्ट सोलुसन प्रा.लि.ले स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । बुधबार ललितपुरको ज्वागलस्थित इभेन्ट सोलुसनको कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी इभेन्ट सोलुसनले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा इभेन्ट सोलुसनले स्थानीय स्काउट, बाराही टोल विकास समिति, ललितपुर महानगरपालिका १० नम्बर वडा कार्यालयसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागि ८० जनाभन्दा धेरैले रक्तदान गरेका छन् ।
इभेन्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले १० वर्षे यात्राका क्रममा इभेन्ट सोलुसनसँग जोडिएका सबै सेवाग्राहीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यका लागि अनुरोध गरे ।
विभिन्न किसिमका एक्स्पो आफैँले आयोजना गर्दै आएको इभेन्ट सोलुसनले देशव्यापी रुपमा विभिन्न किसिमका कार्यक्रमहरुको व्यवस्थापन सेवा पनि दिँदै आएको छ ।
‘बि अ गेष्ट एट योर ओन इभेन्ट’ भन्ने नाराका साथ सेवा प्रवाह गर्दै आएको इभेन्ट सोलुसनले विभिन्न आरोहअवरोह वीचको संघर्ष र मेहनतले कम्पनी स्थापित भएको कम्पनीका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । साथै सवैको साथ र सहयोगले इभेन्ट सोलुसनलाई स्थापित ब्राण्ड बनाउन सकिएको प्रधानको भनाई थियो ।
वार्षिकोत्सवको शुभ दिनमा स्थानिय संस्था, तथा स्काउटसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै प्रधानले सहयोगी, रक्तदाता तथा कार्यक्रममा उपस्थित सबैलाई कृतज्ञता ज्ञापन गरेका थिए ।
नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष एवं १८१औं कृतिमानी रक्तदाता प्रेम सागर कर्माचार्यले रक्तदान जीवनदान भएको भन्दै हरेक व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गरी अरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
बाराही टोल विकास संस्थाका अध्यक्ष सुशिल अमात्यले इभेन्ट सोलुसनको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गदेै उत्तरोत्तर सफलताको शुभकामना व्यक्त गरेका थिए ।
इभेन्ट सोलुसनले साना ठुला सबै किसिमका कार्यक्रम, प्रदर्शनी लगायतका इभेन्ट व्यवस्थापन तथा त्यसका लागि आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।
राष्ट्रियस्तरका साथै क्षेत्रीय र स्थानीयस्तरका प्रदर्शनी तथा इभेन्टको चुस्त व्यवस्थापन तथा आयोजनाका कारण स्थापनाको छोटो समयमा नै इभेन्ट सोलुसन परिचित ब्राण्डका रूपमा स्थापित भएको छ ।
२०७१ माघ ३० गते स्थापना भएको इभेन्ट सोलुसनले राजधानीका साथै देशका सबै स्थानमा प्रभावकारी रुपमा आफ्नो सेवालाई सर्वसुलभ रूपमा उपलब्ध गराउंदै जाने प्रतिवद्धता जनाएको छ ।