काठमाडौँ / चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस)मा निर्जीबन बिमा कम्पनीहरूको खुद नाफा ५९.३८ प्रतिशतले घटेको छ ।कम्पनीहरूले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ ओटा निर्जीबन बिमा कम्पनीहरूको नाफामा उच्च गिरावट आएको हो ।
गत बर्ष पुस महिनासम्म ३ अर्ब ९ करोड ७८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका १४ कम्पनीहरूले यस बर्ष भने नाफा रकम १ अर्ब २५ करोड ८४ लाख ४९ हजार रुपैयाँमै सीमित राखेका छन् । आम्दानी घटेसँगै बिमा कम्पनीहरूको नाफामा प्रत्यक्ष प्रभाव परेको हो ।
दुई कम्पनीको नाफा ऋणात्मक
यस अवधिमा ९ ओटा कम्पनीको नाफा घटेको छ भने तीन ओटा कम्पनीको मात्रै बढेको छ । दुई ओटा कम्पनीको नाफा भने ऋणात्मक छ । द ओरेन्टियल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको नाफा ऋणात्मक हुँदा सानिमा जिआइसी इन्स्योरेन्सको नाफा भने उच्च छ । ६ महिनामा सानिमा, शिखर र प्रभु इन्स्योरेन्सले मात्रै नाफा बढाएको हो ।
नाफा धेरै बढाउने सानिमा, धेरै कमाउने राष्ट्रिय बिमा कम्पनी
पुस मसान्तसम्म सानिमा जिआइसी इन्स्योन्सले सबैभन्दा बढी १५.२५ प्रतिशतले नाफा बृद्धि गरेको छ । गत बर्ष १० करोड ५५ लाख ९१ हजार नाफा कमाएको यो कम्पनीले यस बर्ष भने सो रकम बढाएर १२ करोड १६ लाख ९८ हजार पुर्याएको हो ।
त्यस्तै, १० प्रतिशतले नाफा बढाएको प्रभु इन्स्योरेन्सले समीक्षा अवधिमा १२ करोड ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । २.४८ प्रतिशतले नाफा बढाएको शिखर इन्स्योरेन्सले ६ महिनामा २५ करोड ७३ लाख ५२ हजार रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।
सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी रहेको छ । यो कम्पनीले ६ महिनामा ३४ करोड ६६ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
बिमा शुल्कमा ७.४ प्रतिशतको बृद्धि
खुद मुनाफा घटेको भए पनि १४ वटा निर्जीबन कम्पनीहरूको बिमा शुल्क भने ७.४२ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष ६ अर्ब ३६ करोड ६८ लाख ८० हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका निर्जीबन बिमा कम्पनीहरूले यस बर्ष भने ६ अर्ब ८३ करोड ९४ लाख ८५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
गत बर्षको पुस मसान्तको तुलनामा यस बर्ष ८ कम्पनीले बिमा शुल्क बृद्धि गरेका छन् भने ६ वटाको घटेको छ । सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्ने कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ भने सरकारी स्वामित्वको राष्ट्यि बिमा कम्पनीले सबैभन्दा कम १६ करोड ७ लाख ६२ हजार रुपैयाँ मात्रै बिमा शुल्क आर्जन गरेका छन् ।
८ कम्पनीको बिमा शुल्क बढ्दा ६ वटाको घट्यो
समीक्षा अवधिमा ८ ओटा निर्जीबन बिमा कम्पनीहरूको बिमा शुल्क बृद्धि भएको छ भने बाँकी ६ वटाको घटेको छ । पुस मसान्तसम्म एनएलजी, शिखर, नेको, सिद्धार्थ, हिमालयन एभरेष्ट, राष्ट्रिय बिमा कम्पनी, नेपाल र नेशनल इन्स्योरेन्सको बिमा शुल्क गत बर्षको तुलनामा बढेको हो ।
त्यस्तै, गत बर्षभन्दा कम बिमा शुल्क आर्जन गर्ने कम्पनीहरूमा सगरमाथा लुम्बिनी, सानिमा जिआइसी, प्रभु, युनाइटेड अजोड, आइजिआइ प्रुन्डेन्सियल र द ओरेन्टियल इन्स्योरेन्स छन् ।
हिमालयन एभरेष्टको बिमाशुल्कमा उच्च बृद्धि
समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बिमा शुल्कमा उच्च बृद्धि देखिएको छ । गत बर्षको तुलनामा यो कम्पनीले पुस मसान्तसम्म ७६.३८ प्रतिशतले बिमा शुल्क आर्जन गरेको हो । यो कम्पनीले गत बर्ष पुस मसान्तसम्म ४६ करोड ९९ लाख १८ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेकोमा यस बर्ष भने सो रकम बढाएर ८२ करोड ८८ लाख ५७ हजार पुर्याएको हो । त्यस्तै, बिमा शुल्क बढाउने कम्पनीको दोस्रो स्थानमा एनएलजी इन्स्योरेन्स छ ।
यो कम्पनीको बिमा शुल्क गत बर्षको तुलनामा ४१.४५ प्रतिशतले बढेर ४४ करोड ३५ लाख ६९ हजार रुपैयाँ पुगेको हो । गत बर्ष भने यो कम्पनीको यस्तो शुल्क समीक्षा अधिमा ३१ करोड ३५ लाख ९४ हजार रुपैयाँ मात्रै थियो । त्यस्तै, राष्ट्रिय बिमा कम्पनीले १९.८६ प्रतिशत, शिखर इन्स्योरेन्सले १५.६३ प्रतिशत, नेको इन्स्योरेन्ससल ११.४६ प्रतिशत, नेपाल इन्स्योरेन्सले १२.५ प्रतिशत र सिद्धार्थ प्रिमियरले १..४३ प्रतिशतले बिमा शुल्क आर्जन गत बर्षको तुलनामा बृद्धि गरेका हुन् ।