काठमाडौँ / आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्साल काठमाडौँमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले बिमा नागरिकको जीवनसँग प्रत्यक्ष रूपमा जोडिने बताए ।
उनले भने, “जीवनमा आइपर्ने विपद् र जोखिम अनपेक्षित र अनिश्चित हुने गर्छन । आफुले दुःख गरेर आर्जन गरेको सम्पत्ति होस् या कुनै व्यवसाय सम्भावित जोखिम न्यूनीकरण गर्ने सबैभन्दा भरपर्दो माध्यम नै निर्जीवन बिमा हो र यसै यथार्थलाई मध्यनजर गर्दै बिगत दुई दशक भन्दा लामो समयदेखि यस आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरूको न्यूनीकरण गर्न सहजकर्ताको भुमिका खेलिरहेको छ ।”
बिमाले समग्र अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पु-याउदै आईरहेको बताए । समीक्षा बर्षमा निर्जीवन बिमा कम्पनीहरूले ४१.४७ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । गत आर्थिको बर्षको तुलनामा २.८ प्रतिशत भन्दा बढी हो ।
साथै, आर्थिक बर्ष २०८०/०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बिमा क्षेत्रको ०.७३ र कूल बिमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको छ । सो सूचाकाङ्कले बिमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको उनको दावी छ ।
समीक्षा बर्षमा यस कम्पनीले ३.६३ अरब बिमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको उनले जानकारी दिए ।
सभाले आर्थिक बर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९लाख ६१ हजार ५३० रुपैयाँ (कर प्रयोजनार्थ सहित) नगद लाभांश सभाबाट पारित गरेको छ ।
कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । भवनको सम्पूर्ण कार्य करिब ६ महिनाभित्र सकिने अपेक्षा रहेको अध्यक्ष ढकालले बताए ।
कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडि सारेको र सोलाई क्रमशः व्यवस्था गर्दै लगिने जनाएको छ ।
सभाले सबै साधारण तथा विशेष प्रस्तावहरूलाई स्वीकृत गरेको छ । यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७औँ आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरू र सहकर्मीहरूका कारण नै बिमा बजारमा आइजिआई प्रडेन्सियल कम्पनी अग्रणी कम्पनी बन्न सफल भएको बताए ।