लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर, ‘चालु आवमा १२ करोड कर सङ्कलन’

लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर, ‘चालु आवमा १२ करोड कर सङ्कलन’

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • images
    images
    लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर, ‘चालु आवमा १२ करोड कर सङ्कलन’

    चितवन / भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा  ल्याउने गरी अभियान अघि बढाइएको हो ।

    चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन उद्देश्यसहित अभियान सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको छ । साथै राजस्वको दायरा आउनेलाई स्टिकर प्रदान गरिनेछ

    महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक–फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँचवटा रङ्गका स्टिकर टाँसिने उनले बताए । उनले भने, “करदाताले जुन कर तिर्नुहुन्छ, उनीहरुको फार्ममा सोही स्टिकर टाँस्ने छौँ ।” त्यसपछि टोल-टोलसम्म पुगेर अनुगमन गरिनेछ । अहिले नै वडा र टोल विकास समितिहरुलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ ।

    महानगरपालिकाले कर सङ्कलनका लागि टास्कफोर्समेत बनाउँदै छ । यसले कर सङ्कलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमन समेत गरिने छ ।

    महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पहिलो चरणमा व्यापक प्रचारप्रसार गरेर व्यवसाय दर्ता गर्न आग्रह गरिने बताए । उनले भने, “महानगर क्षेत्रभित्र दर्ता नगरी व्यवसाय गर्न सम्भव छैन”, उनले थपे, “कर तिरौँ र विकास गरौँ भन्ने अभियानका साथ हामी अघि बढेका छौँ ।”

    महानगरमा उठ्नुपर्ने करको २० प्रतिशत मात्रै उठेको भन्दै उनले चालु आवमा लक्ष्यभन्दा बढी कर उठाइने बताए । चालु आवमा महानगरले रु एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उनले चालु आवमा दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताए ।

    गत आवमा रु एक अर्ब २५ करोड हाराहारी मात्रै राजस्व सङ्कलन भएको थियो । अधिकारीले भने, “करै नतिरी व्यवसाय गर्छु भन्नु भएन, अटेर गरेर दर्ता नगरेका व्यवसाय बन्द हुनेछन् ।”

    अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने भन्दै उहाँले दायरा बढाएर कर सङ्कलन गर्न लागिएको बताए । महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर सङ्कलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत वञ्चित हुने गरी योजना अघि सारिएको हो ।

    चालु आवमा हालसम्म १२ करोड कर सङ्कलन भएको छ । महानगरपालिकाले आइतबार दैनिक एक सय जनालाई मोबाइलमा म्यासेज पनि पठाउन पनि सुरु गरेको छ । यससँगै सिनेमा हल, सञ्चार माध्यमहरु, माइकिङलगायतका माध्यमबाट प्रचारप्रसार भइरहेको छ ।

    महानगर प्रमुख रेनु दाहालले चालु आवमा राजस्व सङ्कलनलाई अभियानकै रुपमा अघि बढाइएको जानकारी दिए । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उनले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताए ।  महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ ।

    महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ वटा टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको उनले बताए ।

    विगतका वर्षहरुमा घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएकामा गत वर्षबाट यो कर स्थानीय तहमा जम्मा गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयमार्फत टोलटोलमा प्रचार अभियान अघि बढाइएकाले सबै करको दायरामा आउनेमा आफू विश्वस्त रहेको उनले बताए । उनले विज्ञहरुको सहभागितामा करसम्बन्धी छलफल सञ्चालन गर्न लागिएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार