काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दुई महिनामा उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक ताथ वित्तीय स्थिति अनुसार चाडपर्वको मुखमा उपभोक्ता मुद्रास्फीति (मुल्यवृद्धि दर) नियन्त्रण भन्दा निकै माथि गएको देखिएको हो ।
सरकारले चालु आर्थिक बर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्रै राख्ने लक्ष्य लिएको भएपनि भदौँमा उपभोक्ता मुद्रास्फीति औसत ८.१९ प्रतिशत पुगेको हो । आ.व.को पहिलो महिना अर्थात साउनको तुलनामा मुद्रास्फीति ०.६७ प्रतिशतले बढेको छ । साउनमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । यद्यपी यो गत आर्थिक बर्ष २०७९/८० को साहि महिनाको तुलनामा भने केहि कम हो । गत बर्षको सोहि महिनामा यस्तो मुद्रास्फीति ७.६४ प्रतिशत थियो ।
पछिल्लो समय नेपाली बजारमा वस्तु तथा सेवाको माग न्यून भए पनि मूल्य बढ्दै गएको छ । विशेष गरी आपूर्ति राम्रो नहुँदा महँगी बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । विश्व बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपालमा रहे पनि त्योभन्दा बढी आन्तरिक आपूर्ति पक्षका कारण नेपालको मूल्यवृद्धि अकासिएको उनले बताए ।
‘अहिलेको मल्यवृद्धि समष्टिगत माग बढेरभन्दा पनि आपूर्ति पक्षमा देखिएको व्यवधानका कारण सिर्जित देखिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता भट्टले भने, ‘ यसपालि माग पक्षबाट कुनै दबाब छैन । आपूर्ति पक्षको दबाबले गर्दा मूल्य बढ्न गएको देखिन्छ । त्यसमाथि अर्थतन्त्र पनि चलायमान हुन सकेको छैन । त्यसको असर परेको देखिन्छ ।’ उनले आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने देखिएको बताए ।
अहिलेको मूल्यवृद्धि समष्टिगत माग बढेरभन्दा पनि आपूर्ति पक्षमा देखिएको व्यवधानका कारण सिर्जित देखिन्छ । अब आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने देखिन्छ ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार भदौँमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत छ । त्यसभित्र पनि त्यसभित्र पनि मरमसला उपसमूहको मुद्रास्फीति ४५.४६ प्रतिशत छ । त्यसबाहेक चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १२.६० प्रतिशतले मूल्य बढेको छ । यसैगरी, रेस्टुरेन्ट तथा होटेलको मूल्य १०.९७ प्रतिशतले बढेको छ । यद्यपि, समीक्षा महिनामा घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १३.०८ प्रतिशतले घटेको उल्लेख छ ।
यस्तै, भदौमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ । त्यसमा पनि मनोरञ्जन तथा संस्कृतिको १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.५९ प्रतिशतले मूल्य बढेको छ । समीक्षा महिनामा यातायात उपसमूहको मुद्रास्फीति भने ०.१८ प्रतिशतले घटेको छ । क्षेत्रगत रूपमा काठमाडौंमा ९.८३ प्रतिशतले मूल्यवृद्धि भएको छ । यसैगरी, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत मुद्रास्फीति रहेको प्रतिवेदनमा उल्लेख छ । भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने ४.७८ प्रतिशत मात्रै छ ।
अर्थविद् डिल्लीराज खनाल कोभिडपछि अनुगमन पनि ठिक ढङ्गले नहुँदा अर्थतन्त्रलाई प्रतिकूल हुनेगरी समस्या आएको बताउँछन् । व्यापारघाटा बढेको र अनुत्पादक क्षेत्र अर्थात व्यापारमा धेरै लगानी गएको कारण नेपालको मूल्यवृद्धि अकासिएको उनले बताए ।
उनी भन्छन्, “कोभिडको समयमा माग पक्षलाई मात्रै हेरियो र आपूर्ति, उत्पादन, लगानी, लगानीमा पार्ने प्रतिकूल असरबारे हेरिएन । माग पक्षबाट मूल्यमा नियन्त्रण गर्छु भन्दा झनै प्रकिूल असर पर्यो। त्यसको असर अहिले पनि कायम छ ।” पछिल्लो समय मूल्यवृद्धि उच्च रूपमा बढेको छ । जनताको आयभन्दा मूल्यवृद्धि उच्च हुँदा सर्वसाधरणको दैनिकी असहज बन्दै गइरहेको छ । यसले अर्थतन्त्र सङ्कटमा गएको छ भने आर्थिक मन्दी देखिएको छ ।
उत्पादकमूलक र साना उद्योग व्यवसायलाई राहत दिने नीति चालु आर्थिक बर्षको मौद्रिक नीतिले पनि लिएको थियो । यद्यपि, यो पर्याप्त थिएन र यसले प्रभाव छोड्न सकेको थिएन । जसले गर्दा अर्थतन्त्र अनुकूल्ल हुन नसकेको अर्थविद् खनालको भनाइ छ । तर, केहि समय अघि नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका २०७९ परिमार्जन गरेसँगै अर्थतन्त्रमा आंशिक सुधार देखिन सक्ने उनले बताए ।
राष्ट्र बैङ्कले एकीकृत निर्देशिकामार्फत गरेको पछिल्लो व्यवस्था आफैँमा पूर्ण र पर्याप्त नभएको तर ब्याजदरमा कति प्रभाव पार्छ भन्ने कुरा हेर्न बाँकी रहेको उनी बताउँछन् । अर्थविद् खनालले भने “यसले ब्याजदरमा कति सकारात्मक प्रभाव पार्छ हेर्न बाँकी छ । लगानी बढाउन र उद्योग व्यवसायमा अनुकूलता सिर्जना गर्ने काम भने आंशिक रूपमा गर्नेछ ।”
कस्ता छन् आर्थिक सूचकहरू ?
स्रोतः नेपाल राष्ट्र बैंक
चालू आवको भदौसम्म आउँदा अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक नै देखिएका छन् । विशेष गरी बाह्य क्षेत्रसम्बन्धी सूचक बलियो बन्दै गएको छ । रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, चालू खाता बलियो बन्दै गएको छ । तर, महँगी, उच्च बैंक ब्याजदरलगायतका कारण शिथिल अर्थतन्त्र तंग्रिन नसकेको देखिन्छ ।
दुई महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रमुख झलक
– वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ ।
– आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ ।
– शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ ।
– कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ ।
– नेपाल सरकारको खर्च १ खर्ब ३१ अर्ब १४ करोड रुपैयाँ र राजस्व परिचालन १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
– विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको छ ।
– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.१ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।
२२.१ प्रतिशतले बढ्यो रेमिट्यान्स
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा (साउन र भदौ) रेमिट्यान्समार्फत २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २२.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।’ गत भदौमा मात्र १ खर्ब १२ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको छ । गत साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
गत आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च बन्दै आएको छ । मासिक रूपमा हेर्दा गएका १२ महिनामध्ये गत मंसिरदेखि भदौसम्म (१० महिना) हरेक महिना १ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । यद्यपि गत साउनमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो ।
कोभिड–१९ को महामारीपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि र औपचारिक च्यानलबाट पैसा पठाउने प्रोत्साहन गर्ने सरकारको नीतिका कारण विप्रेषणमा सकारात्मक प्रभाव देखिएको छ । यसैगरी औपचारिक रूपमा प्राप्त हुने विप्रेषणलाई बैंकमा राख्दा १ प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउनेलाई पब्लिक कम्पनीले जारी गर्ने साधारण शेयर निष्कासनमा आरक्षण दिएर प्रोत्साहन गर्दै आएको छ ।
निर्यात र आयात दुवै घट्यो
आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु आयातमा ५.१ प्रतिशतले कमी आई २ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात १३.० प्रतिशतले कमी आएको थियो । चालु आवको भदौमा रेमिटेन्स (विप्रेषण आप्रवाह) अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष ११.३ प्रतिशतले बढेको थियो ।
शोधनान्तर बचत र चालु खाता दुवै बचतमा
गत भदौ मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाख घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था जनाउने सूचक शोधनान्तर पछिल्ला महिनामा बढ्दो रेमिट्यान्स र घट्दो आयातका कारण बचतको अवस्थामा पुगेको हो । गत असारसम्म मुलुकको करिब ३ खर्ब रुपैयाँले बचतमा थियो । रेमिट्यान्समा सुधार, आयातमा कमी र विदेशी सहायतामा वृद्धि भएकै कारण १४ महिनापछि ०७९ असोजमा पहिलो पटक शोधनान्तर स्थिति बचतमा गएको थियो । त्यसयता हरेक महिना शोधनान्तर बचतको रकम बढ्दै गएको प्रतिवेदनले देखाएको छ ।
विदेशी मुद्रा सञ्चिति १६ खर्ब, १०.३ महिनाको आयात धान्न पुग्ने
गत भदौसम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १६ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा भदौसम्ममा यस्तो सञ्चिति करिब ३.९ प्रतिशतले बढेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । गत भदौसम्म अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति २.६ प्रतिशतले बढेको छ । ‘अमेरिकी डलरमा कुल विदेशी मुद्रा सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा गत भदौसम्म २।६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ । गत भदौसम्म मुलुकमा रहेको विदेशी मुद्रा सञ्चितिले १०.३ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।
पर्यटनमा भित्रिनेभन्दा बाहिरिने पैसा धेरै
समीक्षा अवधिमा विदेशी पर्यटकले नेपालमा खर्च गर्नेभन्दा नेपालीले विदेश भ्रमणमा खर्च गर्ने रकम धेरै देखिएको छ । समीक्षा अवधिमा विदेशी पर्यटकमार्फत नौ अर्ब ३४ करोड आम्दानी भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५३.९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब सात करोड रहेको थियो । तर, नेपालीले विदेशी भ्रमणमा गर्ने खर्च त्योभन्दा पनि बढी छ । समीक्षा अवधिमा नेपालीले वैदेशिक भ्रमणमा १२ अर्ब २७ करोड खर्च गरेका छन् । साथै, शिक्षामार्फत २३ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको छ । फलस्वरूप समीक्षा अवधिमा सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँले घाटामा देखिन्छ । गत आवमा शिक्षा र भ्रमणतर्फ गरेर कुल २० अर्ब १६ करोड रुपैयाँ बाहिरिएको थियो ।
निक्षेप ०.१ र कर्जा ०.७ प्रतिशतले बढ्यो
दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७ अर्ब ५६ करोड रुपैयाँ अर्थात ०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ६६ करोड रुपैयाँ अर्थात ०.९ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा चालु आ.व.को भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.२ प्रतिशतले बढेको छ ।
यस्तै, दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३३ अर्ब ६० करोड रुपैयाँ अर्थात ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २४ अर्ब १३ करोड रुपैयाँ अर्थात ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ ।