चर्चित समाचार

‘हस्तकला मेलाले व्यापारघाटा न्यूनीकरणमा टेवा पुर्‍याउनेछ’

‘हस्तकला मेलाले व्यापारघाटा न्यूनीकरणमा टेवा पुर्‍याउनेछ’

विगतका वर्षहरूमा हुने हस्तकला मेला तथा प्रतियोगिता र यस वर्षको मेला र प्रतियोगिता कुन अर्थमा पृथक हुनेछ ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • ‘हस्तकला मेलाले व्यापारघाटा न्यूनीकरणमा टेवा पुर्‍याउनेछ’

    काठमाडौँ / नेपालको पहिचान, परम्परा र संस्कृतिलाई हस्तकलाले आर्थिक पाटोसँग पनि जोडेको छ । कोरोना महामारी र आर्थिक शिथिलताबीच पनि नेपालबाट पछिल्ला वर्षमा कम्तिमा १० अर्ब रुपैयाँ बराबरका हस्तकला सामग्री निर्यात भएको थियो । 

    पर्यटन क्षेत्र गुल्जार हुन थालेसँगै यो वर्ष नेपालबाट कम्तिमा २० अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान निर्यात हुने देखिएको छ । हस्तकलाका सामान उत्पादन, बजारीकरण, बिक्री र निर्यात गर्नेहरू नेपाल हस्तकला महासंघमा आबद्ध छन्‌ । 

    यही महासंघले मंसिर ७ गतेदेखि ११ गतेसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा २० औँ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिताको पूर्वार्द्धमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यसँग गरिएको कुराकानी :

    नेपाल हस्तकला महासंघद्वारा बर्सेनि आयोजना गरिँदै आएको २० औँ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिताको तयारी कहाँ पुगेको छ ?

    हामी हस्तकला मेला तथा प्रतियोगिताको अन्तिम चरणमा पुगेका छौं । हाम्रो तयारीकै बीचमा तिहार र छठ पर्वका कारण केही समय ओझेलमा परेको जस्तो देखिए पनि मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । हाम्रो १५० वटामध्ये अधिकांश स्टल बूकिङ पूरा भइसकेका छन् । मंसिर ७ गतेदेखि ११ गतेसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने यो मेलाका लागि व्यवसायी, कलाकार तथा अवलोकनकर्ता लगायत सबै सरोकारवाला पक्ष उत्साहित भएको हामीले पाएका छौं ।

    हस्तकला प्रतियोगिताअन्तर्गत यस वर्ष हामीले पौवा कला प्रतियोगिता आयोजना गरेका छौं र यसमा भाग लिनुहुने कलाकारको पनि अन्तिम सूची तयार भइसकेको छ । काठमाडौं उपत्यकाबाट मात्र नभइ बाहिरबाट पनि कलाकार तथा प्रदर्शनकर्ता आउनुभएको छ भने नेपालबाहिरका खरिदकर्तामध्ये चीन र भुटानबाट पनि आउनुहुने भएको छ ।

    विगतका वर्षहरूमा हुने हस्तकला मेला तथा प्रतियोगिता र यस वर्षको मेला र प्रतियोगिता कुन अर्थमा पृथक हुनेछ ?

    हुन त मेला र प्रतियोगिता विगत वर्षहरूकै निरन्तरता हो । यसपटक चाहिँ हामीले केही नयाँपन दिने प्रयास गरेका छौं । हामीले १९ वटै जिल्ला हस्तकला संघ र १३ वटा वस्तुगत संघको सक्रिय सहभागिता रहनेछ । स्वदेशी उत्पादनकै स्टललाई हामीले प्राथमिकता दिएका छौं ।

    यस वर्ष चीनतर्फको नाका खुलेको कारण त्यहाँबाट धेरै सहभागी हुने अवस्था छ भने भारतको प्रगति मैदानमा सञ्चालित मेलाका सहभागीहरूलाई पनि हामीले ल्याउने प्रयास गरेका छौं । काठमाडौंस्थित सबै मुलुकका दूतावासमा हामीले मेला अवलोकनका लागि आमन्त्रण गरेका छौं र सम्भव भएसम्म ति मुलुकबाट नेपाल आएका पर्यटकलाई पनि मेला घुमाउनेछौं ।

    विदेशी खरीदकर्ताको मेलाप्रति रुचि कत्तिको देखिएको छ ?

    हामीले धेरै मुलुकका ग्राहकलाई आमन्त्रण गरेका छौं र उहाँहरूको रुचि पनि देखिन्छ । भूकम्पका कारण केही सशंकित हुनुभए पनि हामीले आश्वस्त पार्ने प्रयास पनि गरेका छौं । वर्ल्ड क्राफ्ट काउन्सिलबाट पनि प्रतिनिधिहरू आउनुहुनेछ । नेपालबाहिर रहेका नेपालीका माध्यमबाट पनि हामीले मेलाको प्रचारप्रसार गरेका छौं । युरोपबाट हामीले अपेक्षा गरेअनुसार तत्काल भ्रमण सम्भव नभए पनि अन्य मुलुकबाट राम्रो रेस्पोन्स पाइरहेका छौं ।

    पर्यटकीय सिजनकै बेला मेला आयोजना गर्नुभएकाले यसको लाभ कत्तिको हुनसक्छ ?

    हामीले होटल एशोसिएसन र टुरिष्ट गाइड एशोसिएसन लगायतका संस्थासँगै यसका निमित्त सहकार्य गरेका छौं र उहाँहरूले पनि पर्यटकलाई नेपाली हस्तकलाका सामग्री देखाउन मेलास्थलसम्म ल्याउनुहुनेछ भन्ने विश्वास छ ।

    अर्कोतर्फ हामीले विगतमा ह्यात होटलमा मेला आयोजना गरेर बौद्ध क्षेत्रमा आउने पर्यटकलाई लक्षित गर्ने गरेकोमा यस वर्ष दरबारमार्गमा आयोजना गरेर पर्यटकको बाक्लो चहलपहल हुने क्षेत्र ठमेलबाट धेरै अवलोकनकर्ता आउने अपेक्षा गरेका छौं ।

    मेला अवधिभर हस्तकला प्रतियोगिता पनि आयोजना गर्दै आउनुभएको छ । यसमा कलाकारहरूको रुचि कत्तिको देखिन्छ ?

    सबै कलाकारहरूका लागि यो प्रतियोगिता एक्सपोजरको माध्यमजस्तै भएकाले उहाँहरू उत्साहित देखिनुहुन्छ । हामीले छैठौं मेलादेखि यसरी लाइभ प्रतियोगिता गरेका हौं । जसले गर्दा एक महिना लगाएर घरमा सकाउने काम हाम्रा कलाकारले चार दिनमा त्यहिँ बसेर सकाउनुभएको छ ।

    यसले एकातर्फ उहाँहरूको पनि उत्पादकत्व बढेको छ भने अर्कोतर्फ कलाका पारखीहरूका लागि यसको मूल्य किन महँगो पर्नेरहेछ भन्ने तत्ववोध हुन्छ । कलाकारहरूका लागि यो निकै उपयोगी हुन्छ । एक आपसमा सिक्ने, प्रविधिको आदानप्रदान लगायतमा पनि प्रतियोगिता कामयावी भइरहेको छ ।

    कलाकारले आफ्नो सीप खुला स्थानमा प्रदर्शन गर्दा यसमा बौद्धिक सम्पत्ति चोरीको जोखिम बढ्दैन ?

    सबै कलाकारहरूको आफ्नै विशेषता हुन्छ र कलाकारिता यस्तो सीप हो कि कसैले नक्कल गरेर उस्तै बनाउनै सक्दैन । सबैको आफ्नो विशेषता नहुने भएकाले अरूबाट नयाँ कुरा सिक्न सकिएला, तर नक्कल गर्न सम्भव देखिँदैन ।

    स्वदेशी अवलोकनकर्ताका लागि मेला कत्तिको आकर्षक रहनेछ ?

    जाडो मौसम सुरु भइसकेको र तिहार तथा छठ पर्व पनि सकिनेवित्तिकै मेला हुने भएकाले हामी निकै आशावादी छौं । मेला अवलोकन तथा किनमेलका लागि धेरै आउनु हुनेछ । यसपटक मेलास्थल पनि काठमाडौंको केन्द्रमा भएको र यातायातको सुहज व्यवस्था भएकाले मेला स्वदेशी तथा स्थानीयका लागि पनि आकर्षक रहनेछ ।

    देशमा आर्थिक मन्दी जारी रहेका बेला मेला आयोजना गर्नु कत्तिको चुनौतीपूर्ण छ ?

    यसलाई मैले सकारात्मक रूपमै लिएको छु । आर्थिक मन्दी त संसारभर छ तर यस्तो बेलालाई हामीले अवसरका रूपमा लिएर आफ्नो क्षमता देखाउने, हाम्रो कलाकारिता विश्व बजारमा चिनाउने अवसर पनि हुनसक्छ ।

    मेलाका मुख्य आकर्षणहरू केके हुन् ?

    मेलामा रहने विभिन्न स्टलमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्रीमा राखिने छन् । यस्तै नेपाल एकिकृत व्यापार रणनीति (एनटीआईएस) भित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

    त्यसैगरी मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निशुल्क स्टल प्रदान गरिएको छ । एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत प्रदर्शनी तथा बिक्री हुने तथा मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरूको प्रदर्शन हुनेछ । यस्तै, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी अर्मूत साँस्कृतिक सम्पदाको उजागर, जेष्ठ वरिष्ठ कलाकारहरूलाई सम्मान, कला प्रदर्शनी एवं अग्रणी निर्यातकर्ताहरूलाई सम्मान यस मेलाका आकर्षण हुन् ।

    हस्तकलाको प्रवर्द्धनमार्फत व्यापारघाटा न्यूनीकरण कत्तिको सम्भव देख्नुभएको छ ?

    हस्तकला मुलुकको प्रमुख निर्यातमूलक उद्योगको रूपमा रहेको छ । हाल नेपाली हस्तकलाका वस्तुहरू वार्षिक करिब १२ अर्ब मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशहरूमा निकासी भई रहेका छन् । सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई वार्षिक २४ अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिंदै आएको छ ।

    त्यसैगरी हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् । देशको व्यापारघाटा कम गर्न र आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनिकरण गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको विकास, विस्तार र प्रवर्द्धनमा नेपाल सरकारले जोड दिनु पर्ने जरुरी देखिएको छ । यो उद्योग व्यवसायबाट नेपाली यूवा पिँढीलाई स्वरोजगार हुने प्रशस्त अवसर रहेको छ ।

    स्वदेशमै रोजगारीको अवसर बढाई श्रम शक्तिलाई बाहिरी मुलुकमा रोजगारीको लागि जान निरुत्साहित गर्न सक्ने उद्योग व्यवसायको रूपमा हस्तकला उद्योग व्यवसायलाई विकास गर्न सकिने अवसर रहेको छ जस्तो मलाई लाग्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार