धिरज कंडेल शैक्षिक परामर्श क्षेत्रसँगै साहसिक पर्यटन क्षेत्रका एक सक्रिय व्यवसायी हुन् । काठमाडौँको बानेश्वरमा रहेको गोरेटो एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक समेत रहेका उनी लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशिल छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरूको रोजाइको देश, नीतिगत र प्रक्रियागत समस्या एवम सम्भावनाका बारेमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
यतिबेला नेपाली विद्यार्थीहरूका लागि वैदेशिक अध्ययनको समस्या, चुनौति र सम्भावनाहरू के के छन् ?
नेपालबाट विदेशमा अध्ययन गर्न जाने विषय चुनौतिपूर्ण नै छ । सहज कुनैपनि हिसावबाट देखिँदैन । कहिलेकाहीँ सहजको अर्थ चाँही कुन देशले कति प्रतिशतमा भिसा दिइरहेको छ भन्ने हिसावमा विश्लेषण गर्न सकिन्छ ।
पछिल्लो समय हामीले क्यानडाको विशेष प्रमोसन गर्ने भएकाले क्यानडामा केही असहज हो कि भन्ने देखिन्छ । तर लामो समय भन्दा पनि छोटो समयका लागि गार्होजस्ता भएको हो कि भन्ने हालको अवस्थाले देखाएको छ ।
किनभने कुनैपनि देशले आफ्नो पोलेसीमा तयारी गरिरहेको पाइन्छ । क्यानडाले पनि यो २०२४ र २०२५ लाई केही तयारीका गरिरहेको देखिन्छ । २०२४ को जनवरीमा क्याम्पिङ इन्ट्रिड्युस गर्यो क्यानडाले, त्यसपछि नेपाली विद्यार्थीहरूको मनोविज्ञान भिसा दिँदैन कि भन्ने भयो । र संयोगबस २०२४ मा त्यति सोचेको जस्तो भिसा एप्रुभ भएन ।
२०२५ मा पनि क्यानडाले क्यापिङ लागि अधिकतम नम्बर राख्ने काम गरिसकेको छ । ०२५ मा पाँच लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययनका लागि लैजाने घोषणा गरिसकेको छ । यसमा खुसी हुनुपर्ने अवस्था देखिन्छ ।
खासमा क्यानाडाले त्यस्तो निर्णय किन गर्यो होला ?
कतिपयले क्यानाडाको निर्णयलाई कडाई भनेका छन् । यो कडाई नभइ आन्तरिक व्यवस्थापन गरेको हो । कोभिड पछि जुन रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानडामा गए ति सीमित सहरहरूमा मात्र गएका थिए । त्यसले गर्दाखेरी कोठा र जागिरमा समस्या आउन थाल्यो । क्यानडा भौगोलिक हिसावले धेरै ठूलो देश हो ।
त्यसैले, अन्य ठाउँहरूमा पनि बराबार रूपमा विद्यार्थीहरू जाउन भन्ने हिसाबले क्यापिङ गरेको हो । जुन सिटीहरूमा पहिला धेरै विद्यार्थीहरू गएका छन् त्यहाँ कम गरेर जहाँ कम विद्यार्थीहरू गइरहेका ठाउँमा बढी नम्बर दिने भन्ने कुरा हो । अप्रिल, मेबाट क्यानडाको राम्रो रूपमा भिसाको निर्णय आउनसक्छ ।
वैदेशिक अध्ययनका लागि अर्थात क्यानाडाका विद्यार्थी विशेष के कुरामा ध्यान दिनुपर्छ ?
नेपाली विद्यार्थीहरू पढ्नको लागि वा कुनैपनि सिटीमा जानको लागि समस्या भएन । तर सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालमा आर्थिक रूपमा कति सबल छौँ भन्ने कुराले फरक पार्ने गर्दछ । विशेष गरेर टोरन्टो अथवा अन्य केही सिटीमा जानको लागि आर्थिक रूपमा अलि बढी प्रेसर हुनसक्छ ।
जागिरको लागि र कोठा पाउनका लागि अलि धेरै प्रेसर हुनसक्छ । त्यसैले मिल्छ भने क्यानाडाको अरु ठाउँहरूमा पनि जान आग्रह गर्दछु । विशेषगरी क्यानाडामा गएका विद्यार्थीहरूको मिक्स खालको प्रतिक्रिया छ ।
जो विद्यार्थी पढ्नको लागि मात्र भनेर क्यानाडा जानुभएको छ उहाँहरूले धेरै राम्रो गर्नुभएको छ । तर नेपालबाट एक वर्षको कलेजको पैसा तिरौँ र काम गरौंला कमाउँला, घरमा पठाउँला भनेर गएकाहरूलाई गाह्रो भएको देखिन्छ । तर, समग्रमा क्यानाडामा राम्रो छ तर भनेजस्तो र सोचेजस्तो कुनै देशमा पनि छैन ।
क्यानडा सरकारको पछिल्लो निर्णयहरूले नेपाली विद्यार्थीहरू आत्तिएका छन् । के नबुझेर हो ?
क्यानाडामा जाने विद्यार्थीहरू अहिले डराएजस्तो देखिन्छ । नीतिहरू परिवर्तन हुँदा डराएजस्तो देखिन्छ । जुन क्यापिनको कुरा पनि छ र भिसा सम्बन्धि आउने कुराहरूमा अलिकति धेरै नै समय लागेकाले पनि हुनसक्छ । खासगरी नेपालको भिसा दिल्ली, चन्द्रगढ, बेगलोरबाट आइरहेको छ । तर, क्यानाडा र भारतबीचको आन्तरिक लफडाले गर्दाखेरी भिसा निर्णयहरू समयमै आइरहेको देखिदैन ।
यस कारण पनि नेपाली विद्यार्थीहरू क्यानाडा अप्लाई गर्न कम्फरटेबल मानिरहेका छैनन् । विद्यार्थीहरूमा भिसा रद्द हुन्छ कि भन्ने एउटा डर सवार भएको देखिन्छ । जसको फलस्वरूप धेरै नेपाली विद्यार्थीहरू यूकेलाई रोज्न पनि थालेका छन् । भिसाको लेबल हाई भएकाले यूके रोजाइमा परेको देखिन्छ । हामीले अर्थात गोरेटो कन्संल्टेन्सीले यूकेमा सेवा विस्तार गरिरहेका छौँ ।
यूकेमा विद्यार्थीहरूको रोजाइको विषय कुन कुन हुन् ?
सूचना प्रविधि अर्थात आइटी, हेल्थमा बढी विद्यार्थीहरू गइरहेका छन् । विशेष गरेर बिजनेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या पनि बढीरहेको छ ।
क्यानाडामाचाहिँ आइटी र कृषि विषय बढी रोजाइमा परेको छ । यस्तै अन्य सेक्टरमा जाने विद्यार्थीहरूको सङ्ख्या पनि देखिन्छ ।
न्यूनतम् शुल्कचाहीँ कति लाग्छ ?
क्यानडाको लागि एक वर्षको विद्यार्थीको शुल्क करिब २० लाख पुग्न आउँछ । क्यानेडियन डलरमा भन्दा २० हजार पर्ला । कुनैमा २० होला त कुनै मा २२ हजार डलर पनि पर्नसक्छ ।
१७ हजार डलर पनि परेको हुनसक्छ । यसैगरी यूकेमा पनि ९ देखि १२ हजार डलर साथै पाउण्डमा शुल्क तिर्नुपर्छ । यी भन्दा महङ्गा विश्वविद्यालयहरू पनि छन् । जहाँ नेपालीले पैसा खर्च गर्न नसक्लान् । तर धेरै शुल्क हुँदा पढाई राम्रो हुने र कम हुँदा पढाइ नराम्रो भन्ने हुँदैन । त्यसैले जहाँ गएपनि फरक पर्दैन ।
यूकेमाचाहीँ कुन सिटीहरू नेपाली विद्यार्थीको रोजाइमा पर्छन् ?
विशेषगरी युकेको इनसाइड लण्डन धेरै विद्यार्थीहरू जान रूचाएको देखिन्छ । तर हामीले त्यहाँ जाँदा धेरै शुल्क लाग्न सक्छ लन्डनभन्दा बाहिर पनि सोच्नुहोस भन्ने गर्छौ ।
स्कटल्याण्ड, वेल्स, नर्दर आयरल्याण्डहरू पनि छन् भन्ने गरेका छौँ । जहाँ सजिलो हुन्छ त्यहाँ विद्यार्थीहरू जाउन भन्ने कुरा हो ।
भिसा प्रक्रिया कति सहज वा असहज छ ?
यूकेको लागि डकुमेन्ट प्रक्रिया त्यस्तो धेरै गाह्रो छैन् । यसमा हामीले सपोर्ट गरिरहेका छौँ । डकुमेन्ट समिट भएको तीन हप्ताभित्र विद्यार्थीहरूको भिसा आइरहेको हुन्छ ।
क्यानाडाको भने अनलाइनबाट भिसा एप्लाई गर्छौँ । भिसा अप्लाइ अथवा भिसा प्रोसेसिङको कुरामा दुबै देशमा एकदमै सजिलो छ । डकुमेन्ट र फाइनान्सियल कुराहरूमाचाँही यूकेको अलि बढि सजिलो चाँही देखिन्छ । क्यानाडाले धेरै डकुमेन्ट खोजिरहेको हुन्छ ।
त्यसो भए क्यानाडा अलिक झन्झटिलो हो ?
होइन, झन्झटिलो र असहज भनेर नभनौं । नेपालमै क्यानडाको दूताबास हुन्थ्यो भने भिसा प्रोसेसिङ सहज हुन्थ्योहोला । यो कुटनीतिक कुरा पनि हो । दूताबास नहुँदा देखिने समस्या एकातिर होला, नेपालीले विदेशमा गएर दुःख पाउँदै गर्दा र हामीले समन्वय गरिरहँदा नेपालमा नै दूताबास भए सजिलो हुन्थ्यो भन्ने लाग्छ ।
अन्य देशहरू-युके, अष्ट्रेलिया, क्यानाडा, अमेरिकाको कुरा गर्दा नेपालीहरू त्यति धेरै असुरक्षित चाँही छैनन् । त्यो हिसाबमा समस्याचाँही खासै देखिँदैन । तर विद्यार्थीले जुन रूपमा क्यानाडा तथा अन्य देश जाने प्रक्रियामा आउनुहुन्छ त्यसबेला उहाँको तयारीबारे प्रमुख कुरा बुझनुपर्ने हुन्छ । पढ्नकै लागि जाने हो भने आर्थिक तयारी मजबुत हुनैपर्छ । अथवा गएर हेरौँ न एकपटक जे हुन्छ हुन्छ भनेर जाँदा चाँही समस्या हुन्छ ।
के नेपालको शिक्षा अथवा विश्वविद्यालयहरू गुणस्तरीय नभएकैले नेपालीहरू विदेशिएका हुन् ?
हामी विद्यार्थीहरूलाई नेपाल ठिक छैन भन्दैनौँ । नेपालमा पनि धेरै राम्रा राम्रा कलेज वा विश्वविद्यालय छन् । मिल्छ भने यही पनि एकचोटी प्रयास गरौँ । नेपालमा नै गरौँ भन्छौँ । हाम्रो सुरुको शब्द नै यही हुन्छ । यदी नेपालमा भविष्य छैन अथवा नेपालमा भएका कलेज वा विश्वविद्यालयप्रति चित्त बुझ्दैन भने बाहिर जानु नराम्रो होइन ।
नेपालमा जन्मेको भएर नेपालमा नै पढ्नपर्छ भन्ने छैन । यो ग्लोबलाइजेसनको जमानामा विश्वको कुनैपनि मुलुकमा गएर अध्ययन गर्न सकिन्छ । त्यस कारण कुन देश जाँदा धेरै अवसर मिल्छ भन्ने चाहीं बुझ्नपर्छ । क्यानाडा, अष्ट्रेलया, यूके, युएस जस्ता मूलुकमा जाँदा भविष्य अलि राम्रो हुन्छ कि भन्ने हो ।
नेपाली मात्र बाहिर जाने नभई बाहिरका विद्यार्थीहरूलाई पनि नेपालमा ल्याउन सकिन्छ कि भन्ने पनि सोच्नपर्छ सरकार र स्टेकहोल्डरहरूले केही कसरत गर्नुभयो भने सम्भवतः विदेशबाट पनि विद्यार्थी नेपालमा ल्याएर यहाँका विश्वविद्यालय वा कलेजहरूसँग भर्नाको लागि पहल गर्न सकिन्थ्यो । सरकारले यसमा काम गरिदियो भने हामी अरुको भन्दा आफ्नै देशको प्रवर्द्धनमा सक्रिय हुने थियौँ ।
शैक्षिक परामर्शदाता कम्पनी वा व्यवसायीहरूप्रति सरकारको धारणा कस्तो पाउने गर्नुभएको छ ?
नेपालमा कम्पनी दर्तादेखि लिएर हरेक चरण चरणमा धेरै काम गर्नुपर्ने हुन्छ । कम्पनीदेखि विभिन्न निकायमा दौडिरहनुपर्छ । आवश्यकता अनुसार विभिन्न निकायबाट स्वीकृति लिनपर्ने देखिन्छ । तर एउटा छानामुनी नै सबै निकायको सुविधा पाउनु पर्छ भन्ने हो ।
खासमा एउटै छानाबाट जुन प्रयोजनको बिजनेस गर्दैछन् त्यहीँ छानाबाट सबै स्वीकृति दिए सजिलो हुन्थ्यो । हामीले राज्यमा योगदान गरेको छौँ । त्यसैले हाम्रा कर्मचारीहरूको सुरक्षा, बिमा, बैंकिङ लोन सहज रूपमा सुविधा दिए राम्रो हुन्छ । नेपालमा जति पनि कन्सलटेन्सीहरू छन् तिनीहरूमा रोजगारीको अवसरहरू सिर्जना हुने थियो ।
विदेश जाने सोच बनाइरहनुभएका विद्यार्थी वा अभिभावकहरूलाई के बुझाउन जरुरी छ ?
विशेषतः नेपालमा नै पढाउनुहोस् भन्न चाहन्छु । तर, कतिपय परिवारमा अहिले बच्चाहरूलाई विदेशमा पढाउने कुरालाई सामाजिक प्रतिष्ठाको विषय बनाइने गरिन्छ तर मिल्छ भने नेपालमै केही गर्नपर्छ भन्ने मानसिकता बनउनपर्छ । यदि नेपालमा भविष्य त्यति राम्रो छैन् भन्ने लाग्छ भने विदेशमा गएर पढ्नु नराम्रो होइन् ।
आर्थिक अवस्थाले पनि भविष्य कस्तो हुने भन्ने निर्धारण हुन्छ । कोही आर्थिक रूपमा सक्षम छ भने विदेशमा गएर पढ्दा राम्रो नै हुन्छ । तर, पढेर नेपालमा फर्कने सोचचाहिँ बनाउनुपर्छ ।
पछिल्लो समय विदेशमा पढ्न गएका विद्यार्थीहरू नेपाल फर्केर आएको पनि देखेको छु । पछिल्लो समय विदेशमा गएर पढेर नेपालमा आएर केही गरिरहेका युवाहरूको सङ्ख्या बढेको देखिन्छ । विस्तारै नेपालमा राम्रो वातावरण भयो भने, राजनीतिक स्थिरता भयो भने पक्कैपनि नेपालमा फर्के आउने विद्यार्थीहरूको सङ्ख्या बढ्नेछ ।