images
images

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता, कहिले हुँदैछ निर्वाचन ?

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता, कहिले हुँदैछ निर्वाचन ?

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता, कहिले हुँदैछ निर्वाचन ?

    काठमाडौँ / राष्ट्रियसभा अध्यक्षका लागि नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालको उम्मेदवारी परेको छ । 

    संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा शर्मा र दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

    त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले पार्टीभन्दा अलग भएर भूमिका निर्वाह गर्ने बताएका छन् । 

    उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण नभई २०३६ सालदेखि पार्टीमा लागेको लागेको र आफ्नो योगदानअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार भएको उनको भनाइ छ । 

    “अहिले दाजुभाइको नातापाता पर्ने भएकाले हुन्न भन्ने हो भने म युद्धमा हिँड्दा दाइ हिँडेको छ, तँ हिँड्न हुन्न भन्नुपर्थ्यो नि ! त्यसैले यसमा धेरै भन्नु छैन,” उनले भने ।

    समृद्ध नेपाल निर्माणका लागि सबै दलको साथ सहयोग लिएर अघि बढ्ने बताउँदै उनले आफू कुनै पार्टी विशेषबाट नभई राष्ट्रपतिबाट मनोनित भएर आएकाले दलको छाया नपर्ने दाबी गरे ।

    त्यस्तै, कांग्रेस उम्मेदवार शर्माले लोकतन्त्रमा कसैको हार वा जित नहुने प्रतिक्रिया दिएका छन् ।

    आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने दाबी गर्दै उनले भने, “मेरो राजनीतिक यात्रा धेरै लामो छ । यदि म राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए यो सभाको गरिमा बढाउने गरी नै काम गर्छु ।”

    यही फागुन २९ गते हुने सो निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरिएको छ । 

    तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार