images
images

प्रहरीको जागिर छोडेर दुग्ध व्यवसायमा जमेका वियश राई : मासिक ४ लाखबढीको कारोबार, ६० घर कृषक लाभान्वित

प्रहरीको जागिर छोडेर दुग्ध व्यवसायमा जमेका वियश राई : मासिक ४ लाखबढीको कारोबार, ६० घर कृषक लाभान्वित

आइतवार, चैत ११ २०८०
आइतवार, चैत ११ २०८०
  • प्रहरीको जागिर छोडेर दुग्ध व्यवसायमा जमेका वियश राई : मासिक ४ लाखबढीको कारोबार, ६० घर कृषक लाभान्वित
    images
    images

    ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । 

    नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरू हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक रू ४० ५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ । 

    जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ८० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन् । 

    उनीहरू भन्छन् “स्वदेशमा न त कुनै जागिर नै छ न नै । अनि विदेश नहानिएर के गर्नु ? यहाँ बसेर कामै छैन् ।” तर जिल्लाको नेचासल्यान गाउँपालिका–२ का वियश राईले भने नेपाल प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै सुरु गरेको दुग्ध व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । 

    उनले  सुरु गरेको उद्यमबाट आफू मात्रै स्वरोजगार भएका छैनन्, गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार सिर्जना  गरेका छन् । 

    बिहानदेखि बेलुकासम्म निरन्तर आफनो व्यवसायमा व्यस्त रहने बेफुर्सदिला व्यक्ति हुन् राई ।

     बिहान सबेरै उठेर दूध सङ्कलनका भाँडाकुँडा हातमा बोकेर कहिले आफ्नै गाउँटोल त कहिले छिमेकी गाउँका कृषकहरूको घरदैलोमा पुग्छन् उनी ।

    राईले डेरी व्यवसाय तथा दुग्धजन्य परिकारहरुको बिक्रीबाट कमाएर नै परिवार पाल्ने, छोराछोरीलाई पढाउने साथै स्थानीय ब्यक्तिहरुलाई समेत रोजगार दिदै आएका छन् । 

    विसं २०७९ को स्थानीय निर्वाचनमा प्रहरी नायब निरीक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको पदमा नेचासल्यान गाउँपालिका–२ बाट उम्मेद्वारी दर्ता गराएका उनी निर्वाचनमा पराजित भएपछि आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोच आफूमा पैदा भएको उनी सुनाउँछन् । 

    राइले भने, “गाउँघरमा रोजगारको बाटो छैन भन्ने र मासिक रू ४०/५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाहरुको जमात असाध्यै धेरै देखि म आफू त प्रहरीको छोडेर गाउँ होमिएको व्यक्ति हुँ तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि मैले यो उद्यम सुरु गरेँ ।” 

     उनले २०७९ मङ्सिरबाट कोठा भाडामा लिइ दूध सङ्कलन गरी दूध र दही बिक्री गर्न थाले । 

    व्यवसायलाई क्रमिक रूपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका राईले ज्ञान तथा सीपको  आवश्यकता महशुस गरी आफ्नै लगानीमा इलाममा गई दुग्ध तालिम लिए । 

    उनको लगनशीलता र मेहनत देखेर व्यवसाय विस्तारका लागि गाउँपालिकाले रु दुई लाख आर्थिक सहयोग गरेको भएता पनि पर्याप्त भने थिएन । 

    यसै क्रममा उनले गाउँपालिकामार्फत जिआइजेड नेपालअन्तर्गत रिप–ग्रिन कार्यक्रमले डेरी तालिम सञ्चालन गर्न लागेको कुरा थाहा पाए । 

    गाउँपालिकाको सिफारिसमा  तालिमका लागि छनोट पनि भए ।  उनी २०८० बैशाख ५ गतेदेखि १० गतेसम्म सो कार्यक्रमले इलाममा सञ्चालन गरेको डेरी उत्पादन सीप विकाससम्बन्धी तालिममा सहभागी भए ।

    तालिममा देशभरबाट जम्मा भएका नव उद्यमी, सिकेका ज्ञान, सीपले उनलाई थप व्यावसायिक बन्ने ऊर्जा मिल्यो । 

    तालिमपश्चात परिश्रम नै सबैभन्दा ठूलो हो र यसले नै मानिसलाई स्वावलम्बी बनाउँछ भन्ने पूर्ण विश्वासको साथ थप सशक्त भई उनले यसलाई नै मुख्य पेशाको रूपमा अँगाल्न सुरु गरे । उनले व्यवसाय समेत दर्ता गरी दूधबाट बन्ने दही, पनीर, घीउ, खुवा र आइसक्रिमजस्ता परिकारहरु नेचासल्यान गाउँपालिका साथै सदरमुकाम सल्लेरीबजारमा समेत बिक्री गर्न थालेका हुन् । 

    तालिमपश्चात् उनको आत्मविश्वास पनि बढ्यो, दूधका परिकारहरु उत्पादन गरी व्यवसायलाई बिस्तार पनि गरे । 

    व्यवसाय सञ्चालनका लागि अहिले छ जनालाई रोजगार पनि दिरहेका छन् ।  उनको व्यवसायलाई चाहिने दूध बिक्रीबाट गाउँका करिव ६० घर कृषकहरू अप्रत्यक्षरूपमा लाभान्वित बनेका छन् । व्यवसायबाट मासिक चार लाख रुपैयाँभन्दा बढी कारोवार भइरहेको अनुमान उनको छ । 

    यही आम्दानीबाट छोराछोरीको पढाइ, औषधोपचार खर्च गरेर बचेको पैसाले भाडामा लिएको जग्गामा घर निर्माण गरी भैँसीपालन व्यवसाय विस्तार गरेका छन् । 

    व्यवसायलाई अझ दिगो र विस्तारितरूपमा सञ्चालन गर्न आफ्नै लगानीमा कृषि तथा भैँसीफार्म सुरु गरेको उनको भनाइ छ । 

    चार माउभैँसीबाट सुरु गरिएको फार्ममा २० माउभैँसी बनाउने योजनाका साथ आफू अघि बढेको राईले बताए । गाउँघर र छिमेकीहरूलाई समेत पशुपालन र दूध उत्पादनमा उनले प्रोत्साहन गर्दै आएका छन् । 

    सदरमुकाम सल्लेरीमा मात्रै दैनिक सात सय लिटरभन्दा बढीको दूध खपत हुन्छ भने नेचासल्यानमा दैनिक १०० लिटरसम्म दूध खपत हुने गरेको उद्यमी राईको भनाइ छ । 

    जिल्लामा व्यावसायिक पशुपालन र दूध उत्पादन फस्टाउन नसक्दा डेरी व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनले बताए । 

    “जिल्लाका किसानहरूले परम्परागत ढङ्गबाट बस्तुभाउ पाल्दै आएका छन्, व्यावसायिक दूध उत्पादनको अवधारणा अझै विकास हुन सकेका छैन, युवाहरू जति सबै खाडीमा छन्, यहाँ गाईभैँसी पाल्ने जनशक्ति पर्याप्त छैन” राईले भने । 

    जिल्ला सदरमुकामदेखि गाउँघरसम्ममा दूध मात्र नभई दुग्धजन्य परिकारको माग र खपत उच्च रहेको छ । दूध, दही, मही, पनिर, खुवा, दूधबाट बन्ने मिठाइहरू धेरै माग रहेको उनले बताए । 

    उत्पादित वस्तुहरूलाई सहज बिक्री वितरणका लागि काठमाडौँका बजारहरू तथा अन्तर्राष्ट्रिय बजारहरूसँग समेत समन्वय गरिरहेको राई बताउँछन् । 

    व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ भन्ने राम्ररी बुझेका राई यस्ता तालिमहरू खर्च गरेर भए पनि लिन छुटाउनु हुन्न । 

    रिपग्रीन कार्यक्रमद्वारा सञ्चालित तालिमपछि उनले विभिन्न वस्तुहरू उत्पादन गरी थप आम्दानी बढाउन सफल भएका हुन् । 

    सीप र काम गर्ने जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, घर व्यवहार सम्हालन सक्ने र आफ्नो आवश्यकता टार्न कसैसँग हात फिँजाएर माग्न नपर्ने उनको तर्क छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार