चर्चित समाचार
  • सेयर बजार : एक वर्षमा ९३.६२ अंकले बढ्यो नेप्से परिसूचक, कुन समूहको कति पुग्यो ?

    सेयर बजार : एक वर्षमा ९३.६२ अंकले बढ्यो नेप्से परिसूचक, कुन समूहको कति पुग्यो ?

    बुधवार, चैत २८ २०८०
    बुधवार, चैत २८ २०८०
  • सेयर बजार : एक वर्षमा ९३.६२ अंकले बढ्यो नेप्से परिसूचक, कुन समूहको कति पुग्यो ?

    काठमाडौँ / पछिल्लो एक वर्षमा नेप्से परिसूचक ९३.६२ अंक बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार २०८० को पहिलो कारोबारको दिन अर्थात बैशाख ३ गते १ हजार ९३१.६८ विन्दुमा रहेकोमा आज अन्तिम कारोबारको दिन २ हजार २५.३० विन्दुमा कायम भएको छ । 

    यस अवधिमा नेप्सेमा रहेका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सुचक ऋणत्मक देखिएको छ भने बाँकी समूहको सूचक बढेको छ ।

    कुन समूहको सूचक कति पुग्यो ?

    एक बर्षको अवधिमा हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ भने वाणिज्य बैङ्कहरूको सेयरमा भने लगानीकर्ताको आकर्षण घटेको पाइएको छ । 

    नेप्सेको अनुसार एक बर्षको अवधिमा वाणिज्य बैङ्क समूहको सूचक १५.६० प्रतिशत घटेको छ ।

    पहिलो कारोबारको दिन १ हजार २५४.९९ विन्दुमा रहेको यस समूहको सूचक चैत २८ गते घटेर १ हजार ५९.२३ विन्दुमा झरेको हो ।  

    विश्लेषकहरूको अनुसार बैङ्कहरूको सेयर मूल्य बढी भएको र छोटो समयमा नाफा कमाउन पनि कठिन भएकोले व्यापारी प्रवृत्तिका लगानीकर्ताहरूको आकर्षण बैङ्किङ सेक्टरमा नरहेको बताउँछन् । 

    वाणिज्य बैङ्कहरूको सेयरमा लगानीकर्ताको आकर्षण घट्दै गएको छ । मार्केटमा व्यापारीहरू धेरै छन् । बैङ्कहरूको सेयर मूल्य बढी भएको र छोटो समयमा नाफा कमाउन पनि कठिन भएकोले व्यापारी प्रवृत्तिका लगानीकर्ताहरूको आकर्षण बैङ्किङ सेक्टरमा नरहेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।  

    उनले भने, “बैङ्किङ सेक्टर करिब ६० प्रतिशतले घटिसकेको छ । पेड अफ क्यापिटल हाइ भएकोले बैङ्किङ सेक्टर लगानीका लागि राम्रो भए पनि व्यापारका लागि रुचाइदैन । अहिले पेड अफ क्यापिटल धेरै भएकोले पनि लगानीकर्ताहरूले यसमा हात हालेका छैनन् ।”

    यता सेयर विश्लेषक केशब अर्याल अन्य क्षेत्रको तुलनामा बैङ्कहरूको सेयर सङ्ख्या धेरै हुने र मूल्य बढ्दा पनि थोरै मात्र बढ्ने भएकाले लगानीकर्ता बैङ्कको सेयरमा आकर्षित हुन छाडेको बताउँछन् । 

    वाणिज्य बैङ्कको सेयरमा लगानीकर्ताको आकर्षण पछिल्लो तीन वर्षदेखि नै घट्दै गएको उनले बताए । राष्ट्र बैङ्कले ल्याएको मर्जर नीतिले बैङ्कहरू मर्जरमा गएको र पुँजी थपिएको हुँदा धेरै पुँजी भएका बैङ्कको सेयर मूल्य बढ्न नसक्ने मनोविज्ञानले लगानीकर्ताहरूले अन्य समूहका कम्पनीमा लगानी बढाउन थालेको उनी बताउछन् । 

    “मर्जर नीतिपछि दोस्रो बजारमा नयाँ लगानीकर्ता त्यति थपिएनन्, त्यसमा पनि दीर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन लगानीकर्ता छन्,” उनले भने “हाल लगानीकर्ताहरूले बजारलाई जुवाको रूपमा हेरिरहेका छन् । जुन बैङ्किङ सेयरमा भन्दा अन्य कम्पनीमा लगानी गरेर छिटो नाफा कमाउने उद्देश्य राख्छन् ।” 

    राष्ट्र बैङ्कले पुँजी वृद्धि गर्न र सङ्ख्या घटाएर बलियो बनाउने नीतिअनुरूप बैङ्क तथा वित्तीय संस्था एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ जारी भएको थियो । अहिलेसम्म आइपुग्दा उक्त विनियमावलीकोे चौथो संशोधन– २०७५ अनुसार कार्यान्वयन भइरहेको छ । 

    मर्जर तथा प्राप्तिसम्बन्धी विनियमावली लागू भएर कडाइका साथ कार्यान्वयनमा आएसँगै बैङ्कहरू एक–आपसमा मर्जर, प्राप्ति गर्न बाध्य भए । यसमा बाध्य हुनुको मुख्य कारण केन्द्रीय बैङ्कले तोकेको चुक्ता पुँजीको सीमाका कारण हालसम्मको अन्तराललाई हेर्दा वाणिज्य बैङ्कहरू मर्जर तथा प्राप्तिपछि अधिक पुँजीका बैङ्क बनेका छन् । 

    कुनै समय वाणिज्य बैङ्क मात्रै ३२ वटा थिए । हाल वाणिज्य बैङ्कको सङ्ख्या घटेर १९ वटा पुगेका छन् । अन्य कम्पनीको तुलनामा निकै सुरक्षित र बजार प्रभावित नभइहाल्ने कम्पनीका रूपमा वाणिज्य बैङ्कलाई लिइन्छ । वाणिज्य बैङ्कहरूको पछिल्लो वित्तीय विवरणले पनि सेयर लगानीकर्तालाई निराश बनाएको उनले बताए ।

    पछिल्लो समय सेयर बजारमा उत्तारचढाव आइरहेको छ । अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगटेको अवस्थामा पनि सेयर बजारको अवस्था निराशाजनक हुनु राम्रो नभएको भन्दै विश्लेषक अर्यालले चिन्ता व्यक्त गरे ।  

    समीक्षा अवधिमा जलविद्युत समूहको सूचक १.१५ प्रतिशत घटेको छ । गत वैशाख ३ गते २ हजार ५१०.७९ रहेको यस समूहको सूचक चैत २८ गते घटेर २ हजार ४८१.८२ विन्दुमा कायम भएको छ । 


    एक वर्षमा उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी ५०.३३ प्रतिशत वृद्धि भएको छ । वैशाख ३ गते ४ हजार ४९१.३४ रहेको यस समूहको सूचक चैत २८ गते ६ हजार ७५१.६१ विन्दुमा पुगेको छ । 

    समीक्षा अवधिमा होटल तथा पर्यटन समूहको सूचक ४६ दशमलव २२ प्रतिशत वृद्धि भएको छ । 

    यस अवधिमा सूचीकृत हुने होटलको सङ्ख्या थपिएकाले पनि सेयर कारोबार पनि बढेको विश्लेषकहरू बताउँछन् । साथै, कोभिडपछि होटलहरूको व्यवसायमा सुधार आइ नाफा बढेकाले लगानीकर्ता होटलको सेयरप्रति आकर्षित भएका हुन् ।

    त्यस्तै, व्यापार समूहको २९ प्रतिशत, वित्त समूहको २२.२५ प्रतिशत र निर्जीवन बीमा समूहको सूचक २१.९९ प्रतिशत वृद्धि भएको छ ।

    कुनै समय लगानीकर्ताहरूको सर्वाधिक रोजाइमा पर्ने लघुवित्तको सूचक घटिरहेको बेला पछिल्लो समय बिमा सेक्टरमा भने प्राथमिकतामा परेको देखिन्छ । बिमा क्षेत्रको प्रोफिट बढेका कारण लगानीकर्ताहरू बिमा सेक्टरमा सिफ्ट भएको उनको भनाइ छ । त्यस्तै, बिमा प्राधिकरणले निर्जीबन बिमाको साढे दुई अर्ब, जीवन बिमा कम्पनीको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन जारी गरेको छ । “निर्देशन अनुसार अहिलेसम्म कतिपय कम्पनीको ‘पेड अफ क्यापिटल’ नपुगेको हुनाले बोनस आउँछ कि भनेर पनि यस क्षेत्रमा लगानी गरेको देखिन्छ,” रौनियारले भने ।  

    सरकारले इन्स्योरेन्सलाई अनिवार्य गर्दै लगेका कारण बिमा सेक्टरको कमाइ बढिरहेको र मूल्य पनि घटेका कारण पनि बिमाको सेयरमा आकर्षण बढेको उनले बताए ।

    लगानीकर्ताका लागि उपयुक्त क्षेत्र कुन ? 

    रौनियारका अनुसार दीर्घकालिन लगानीकर्ताका लागि बैङ्किङ र लघुवित्तमा लगानी गर्नु उत्तम मानिन्छ भने व्यापार गर्ने मनसायले दोस्रो बजार प्रवेश गर्नेहरूका लागि हाइड्रो । दीर्घकालिन लगानी गर्ने हो कि व्यापार गर्ने त्यो कुरा लगानीकर्तामा भर पर्ने उनले बताए । 

    संस्थागत तथा ठूला लगानीकर्ताहरूलाई आर्कषण गर्न ऋणको २० करोड क्याप खुल्ला गर्नुपर्ने लगानीकर्ताहरूले बताउँदै आएका छन् । 

    बैङ्क तथा वित्तीय संस्थासँग भएको पैसालाई सेयर बजारमा लगानी गर्न खुल्ला गर्नुपर्ने तथा किनेको सेयर ३६५ दिन पछि मात्रै बेच्न पाउने नीति परिमार्जन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

    “किनेको सेयर पनि १ बर्षपछि किस्ता–किस्तामा मात्रै बेच्न पाइन्छ, सो कारण बजार बढ्न नसकेको हो” सेयर विश्लेषक अर्याल भन्छन्, “राष्ट्र बैङ्कले नीति परिमार्जन गरेर सिमाभित्र रही किनेको सेयर ३६५ दिनभन्दा अगावै  बैङ्क तथा वित्तिय संस्थालाई बेच्न दिने हो भने बजारमा माग बढ्छ तथा बजार बढ्न सहयोग पुग्छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार