काठमाडौँ / गरिमा म्युचुअल फण्डअन्तर्गतको ‘गरिमा समृद्धि योजना’का इकाईहरू आज (आइतबार)देखि बिक्री खुला भएको छ । कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटल रहेको सो योजनाको १० करोड इकाई आजदेखि बिक्रीमा आएको हो ।
सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब रुपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’मा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
कुल योजनाको आकारमध्ये १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
यो योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ। यस योजनामा सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत पुस ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्थापक गरिमा क्यापिटलले जानकारी दिएको छ।
उक्त अवधिमा सबै सेयर बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो बन्दमुखी योजना हो ।
उक्त योजनाको अवधि १० बर्षको रहेको छ ।
बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ।
न्यूनतम सङ्ख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु गरिनेछ ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल क्यापिटल लिमिटेड रहेको छ।
'गरिमा समृद्धि योजना'मा किन लगानी गर्ने ?
यो एक बन्दमुखी योजना हो । सो योजनाले सुरुमा निश्चित सङ्ख्यामा इकाइहरू जारी गर्ने भएको हो ।
यसमा पूँजीको निरन्तर आगमन र बाहिरिने समस्या हुँदैन ।
यसले कोष व्यवस्थापकलाई पुनर्खरिदको तरलताको चिन्ता बिना दीर्घकालीन लगानी रणनीति अपनाउन सहज बनाउँछ।
निधिहरू दैनिक रूपमा पुनर्खरिद नहुँदा, कोष व्यवस्थापकहरूले पोर्टफोलियोलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र लगानी अवधिमा बिना अवरोध बजारका अवसरहरूको फाइदा उठाउन ध्यान केन्द्रित गर्न सक्छन् ।
कोष व्यवस्थापकहरूले कम तरल वा दीर्घकालीन अवसरहरूमा लगानी गर्न सक्छन्, जसले दीर्घकालमा उच्च प्रतिफल प्रदान गर्न सक्छ।
यो स्टक एक्सचेञ्ज (दोस्रो बजार) मा कारोबार गरिने हुनाले, बजार खुला रहँदा खरिद बिक्री गर्न सकिनेछ ।
स्थीर आय खोजिरहेका लगानीकर्ताहरूका लागि यो योजना आकर्षक विकल्प हुनसक्छ ।
योजनाको नाम : गरिमा समृद्धि योजना ।
योजनाको प्रकार : बन्दुमुखी ।
योजनाको आकार : एक अर्ब रुपैयाँ ।
निष्काशन गर्न लागिएको इकाई सङ्ख्या : १० करोड इकाई ।
प्रतिइकाई मूल्य : १० रुपैयाँ ।
कुल निष्काशनमध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई सङ्ख्या : ५ करोड ।
कुल निष्काशनमध्ये अधिकतम सकारिने इकाई सङ्ख्या : १२ करोड ५० लाख ।
योजनाको अवधि : १० वर्ष ।
योजना परिपक्क हुने अवधि : योजनाको इकाई बाँडफाँट भएको मितिले १० बर्ष ।
सूचीकरण तथा दोस्रो बजार कारोबार व्यवस्था : इकाईहरू नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गरी कारोबारको व्यवस्था गरिने ।
कोष प्रवर्द्धकको नाम र ठेगाना : गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाडौँ ।
योजना व्यवस्थापक तथा डिपोजिटरीको नाम र ठेगाना : गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ ।
गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्युट क्यापिटल लिमिटेड) गरिमा विकास बैंकको सहायक कम्पनी हो । यो नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर कम्पनी हो ।
गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।
गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु-याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट समेत सहजीकरण हुँदै आएको छ ।
सो कम्पनीले आफ्ना सेवाहरू थप परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।
गरिमा क्यापिटलले गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने गरिमा समृद्धि योजनाका इकाइ निष्काशन गर्न नियामक नेपाल धितोपत्र बोर्डमा २०८० माघ २८ गते निवेदन दिएको थियो ।
१ अर्ब रुपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजना निष्काशन गर्न बोर्डले क्यापिटललाई मंसिर ५ गते स्वीकृती दिएको थियो ।