काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र पाएपछि निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र टाँस गरेका हुन् ।
प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति डीपी अर्याल बनेका छन् । सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको रास्वपाले जनाएको छ ।