images
images

वर्षान्त २०८०ः चलचित्रका लागि सुखद, दर्शक र निर्माता दुवैको अनुहारमा खुसी

वर्षान्त २०८०ः चलचित्रका लागि सुखद, दर्शक र निर्माता दुवैको अनुहारमा खुसी

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • वर्षान्त २०८०ः चलचित्रका लागि सुखद, दर्शक र निर्माता दुवैको अनुहारमा खुसी
    काठमाडौँ / चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो । 
     
    उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको थियो  । चलचित्रले कूल रु १७ करोडको कूल व्यापार (ग्रस कलेक्सन) गरेको थियो । 
     
    हालसम्म यस वर्ष ५० वटा चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई वटा चलचित्र प्रदर्शनको तयारीमा छन् । यही चैत ३० गते दुई चलचित्र ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ प्रदर्शनको क्रममा छन् । 
     
    यो वर्ष ‘जारी’ पछि गत चैत ९ मा प्रदर्शन भएको ‘महाजात्रा’ सर्वाधिक सफल मानिएको छ । चलचित्र निर्माण र समूह र वितरकले उपलब्ध गराएको तथ्याङ्कअनुसार ‘महाजात्रा’ यस वर्षको दोस्रो सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको छ । 
     
    तेस्रो सातामा प्रदर्शन चलचित्रले १३ करोडभन्दा बढी कूल व्यापार (ग्रस कलेक्सन) गरिसकेको बताइए पनि तथ्याङ्क केही दिनमा सार्वजनिक गरिने निर्माण समूहले जानकारी दिएका छन् । 
     
    यो वर्ष नेपाली चलचित्रमा आश गरिएका निर्देशकहरू प्रदीप भट्टराई, रामबाबु गुरुङ, निश्चल बस्नेत, दीपेन्द्रकुमार खनालका चलचित्र दर्शकले हेर्न पाए । यस वर्ष अनमोल केसी, प्रदीप खड्काजस्ता स्टार भनिने कलाकारको चलचित्र प्रदर्शन भएन । दयाहाङ राई, विपिन कार्की, सौगात मल्लजस्ता अभिनेता आफ्नो अभिनयका कारण चर्चामा रहे । 
     
    चलचित्र वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला दुई चलचित्रसँगै ‘पशुपति प्रसाद २ः भष्मे डन’, ‘दिमाग खराब’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’ले लगानी सुरक्षित गरेका छन् । यसबाहेक विदेशी बजारसहित ‘दयारानी’ र ‘बगान’ चलचित्रले निर्मातालाई घाटा गराएन । 
     
    कूल ५२ वटा चलचित्रमा ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ले कस्तो व्यापार गर्छ यो भने हेर्न बाँकी छ । किनकी उल्लेखित दुई चलचित्र वर्षको अन्तिम दिन चैत ३० गते प्रदर्शन हुँदैछन् । यसवर्ष अभिनेता दयाहाङ राईले अभिनय गरेको नौ वटा चलचित्र प्रदर्शन भए । 
     
    “मैले कथामा विविधता देखेर चलचित्रमा काम गरेको हुँ । तपाईंले सङ्ख्यासँगै विषयवस्तु हेर्नुभयो भने एउटा अभिनेता त्यसलाई छाड्न सक्दैन । साथै मेरो उपस्थितिले कुनै निर्देशक र निर्मातालाई लाभ मिल्छ र मलाई विषय मन परेको छ भने किन नगर्ने ?”, अभिनेता राईले भन्नुभयो, “आउँदो वर्ष प्रदर्शन बढी भए पनि म कमै चलचित्रमा काम गर्ने योजनामा छु । किनकी सङ्ख्या बढ्दा गरिएको मेहनत ओझेलमा पर्छ ।”
     
    उनी यो वर्षभर चर्चामा रहे। किनकी वर्षको सुरुआतमा उनको दुई चलचित्र एकसाथ प्रदर्शन भयो । सफल र असफल हुने चलचित्रको सङ्ख्या उनको उस्तै छ । यसलाई अभिनेता राईले पनि महशुस गरेका छन् । 
     
    “यो वर्ष काम धेरै गरियो । तर, चलचित्र विभिन्न किसिमका प्रदर्शन भए । व्यावसायिकसँगै कलात्मक चलचित्रमा देखिएको आकर्षण हाम्रा लागि खुसीको कुरा हो । किनकि विश्वमञ्चमा हामीले देखाउने थुप्रै कथाहरू तयार भएका छन्”, अभिनेता राईले भने । 
     
    चलचित्र वितरक तथा प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र सङ्घका कार्यसमिति सदस्य रहनुभएका करण श्रेष्ठले चलचित्रका लागि यो औसत वर्ष मान्न सकिन्छ । 
     
    “यो वर्ष चलचित्रको व्यापार राम्रै देखियो । तर, जसरी वर्षको सुरुआत भएको थियो, त्यहि रुपमा अन्य चलचित्र व्यावसायिक पक्षलाई अगाडि बढाउन सकेन । यद्यपि सफल भएको सङ्ख्या हेर्ने हो भने राम्रो छ”, उनले भने । 
     
    अभिनेता विपिन कार्कीका लागि यो वर्ष सुखद रह्यो । उनीद्वारा अभिनित दुई चलचित्रले राम्रो व्यापार गरिसकेका छन् । ‘महाजात्रा’मार्फत उनको चर्चा स्वदेशसँगै विदेशमा पनि भयो । यद्यपि अभिनेता कार्कीले आफ्नो ध्यान काममा मात्र केन्द्रित रहने गरेको बताउछन् । 
     
    “मैले राम्रो काम गर्ने कोशिस गर्छु । पात्रलाई दुरुस्तै पर्दामा ल्याउने मेरो ध्याउन्न हुन्छ । व्यावसायिक सफलताले पक्कै अभिनेतालाई ऊर्जा दिन्छ नै तर हाम्रो ध्यान अभिनयमा बढी केन्द्रित हुनुपर्छ”, अभिनेता कार्कीले भने । उनले अभिनय गरेको दुई चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘महाजात्रा’ व्यावसायिकरुपमा सफल चलचित्र हुन् । 
     
    यस वर्षलाई हेर्दा दर्शक रमाइला चलचित्रमै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि डिजिटल प्लेटफर्ममा बढेको आकर्षण र चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उनको बुझाइ छ । 
     
    “यस वर्ष शृङ्खला र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो । यसले दर्शक चलचित्र भवनमा दुःखका कथालाई हेर्न इच्छुक हुनुहुन्न भन्ने पनि सङ्केत गरेको छ । ओटीटीमा हेरेर प्रशंसा गरिएका विदेशी चलचित्रकै विधामा तयार भएका नेपाली चलचित्रलाई दर्शकले चासो देखाएनन्”, उनले भने । 
     
    चलचित्र हेर्न परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सकेमा व्यापार बढ्ने निर्देशक प्रदीप भट्टराईको बुझाइ छ । उनले निर्देशन गरेका चलचित्र सोही शैलीमा तयार गरिएको छ । ‘जात्रा’ शृङ्खलासँगै ‘शत्रु गते’ र ‘महापुरुष’ निर्देशन गरेका भट्टराई निर्देशित ‘महाजात्रा’ वर्षकै दोस्रो व्यावसायिक सफल चलचित्रसँगै उहाँको पहिलो सफल चलचित्र बनेको छ । 
     
    “म र मेरो समूहले व्यापारलाई सोचेर चलचित्र तयार गरेका छैनौँ । हाम्रो विश्वास घट्न नदिने र चलचित्र भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निस्किँदा पनि देखियोस् भन्ने सोच राख्ने गरेका छौँ । अहिले पनि सोही कारण परिवार नै दर्शक बनेर चलचित्र भवनमा आउनुभएको छ”, निर्देशक भट्टराईले भने । 
     
    चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी यस वर्ष सकिदा स्वदेशी ५२ सँगै विदेशी ८८ चलचित्र प्रदर्शन हुने बताए । अन्तिम शुक्रबार चलचित्र प्रदर्शन भएपछि विसं २०८१ वैशाख १ मा बक्सअफिस रिपोर्ट सार्वजनिक गरिने तयारी भइरहेको उनले बताए । 
     
    “हामीले आधिकारिकरुपमै बक्सअफिसको विषयमा कुरा गर्दैछौँ । त्यसकारण अहिले व्यापारबारे हामीले बोल्न मिल्दैन । यद्यपि यो वर्ष नेपाली चलचित्रको व्यापार राम्रो देखिएको छ । सुखद पक्ष विदेशी चलचित्रलाई स्वदेशीले टक्कर दिएका छन्”, बोर्ड सदस्य अधिकारीले भने । 
     
    यो वर्ष चलचित्र भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो । तर, वर्षको अन्त्यमा नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर कुनै वितरकले विदेशी चलचित्र नेपालमा ल्याउने आट गर्न सकेनन् । 
     
    विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा पछिल्लो उदाहरणले नेपाली निर्मातालाई साहस र ऊर्जा थपेको छ । सम्भवत धेरैपछि विदेशी ठूला चलचित्र नेपालमा एकै मितिमा प्रदर्शन हुने छैनन् । यसले ‘हाम्रो नयाँ वर्षमा, हाम्रै चलचित्र’ भन्ने नारालाई सफल बनाएको छ ।
     
    समग्रमा विसं २०८० मा भएका कामले आशावादी हुने ठाउँ प्रसस्तै दिएको छ । किनकी प्रदर्शन भएकासँगै हुन् बाँकी चलचित्र धेरै छन् । जसको नतिजा आउँदो वर्ष देखिनेछ । जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल सावित गर्नेछ । 
     
    – भेषराज कार्की, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार