images
images

घरबासमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन, एउटा घरबासले रु १५ लाखसम्म अनुदान पाउने

घरबासमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन, एउटा घरबासले रु १५ लाखसम्म अनुदान पाउने

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • घरबासमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन, एउटा घरबासले रु १५ लाखसम्म अनुदान पाउने

    गण्डकी / घरबास (हामस्टे)मार्फत ग्रामिण पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक नमुना घरबास’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

    images
    images

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार पहिलो चरणमा उक्त कार्यक्रमका लागि १७ वटा सामुदायिक घरबास छनोटमा परेका छन् ।

    प्रदेशभित्रका ६५ सामुदायिक घरबासले प्रस्ताव पेस गरेकामा मापदण्डअनुसार छानिएका १७ वटाले अनुदान पाएको पर्यटन शाखा प्रमुख डम्मर जिसीले जानकारी दिए । 

    उनका अनुसार दोस्रो चरणमा थप २१ वटा घरबासले अनुदानका लागि प्रस्ताव राखेकामा तिनको अनुगमन र छनोटको प्रकृयामा अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।  

    “पहिलो चरणमा छनोट भएका सामुदायिक घरबासले रु १२ लाखका दरले अनुदान पाएका छन्”, शाखा प्रमुख जिसीले भने, “घरबासको अवस्था र कार्ययोजना हेरेर एउटा घरबासले रु १५ लाखसम्म अनुदान पाउन सक्ने कार्यविधिमा व्यवस्था छ ।”

    कुल ३६ प्रदेश निर्वाचन क्षेत्रमध्ये १७ वटामा उक्त कार्यक्रम कार्यान्वयनमा गइसकेको उनले बताए । बाँकी निर्वाचन क्षेत्रका घरबास दोस्रो चरणमा छानिने उनको भनाइ छ । 

    “घरबासको स्थलगत अनगुमन र प्रस्ताव अध्ययनको काम भइसकेको छ, अब मन्त्रालयबाट स्वीकृत हुन मात्र बाँकी छ”, शाखा प्रमुख जिसीले भने । 

    यस वर्षदेखि घरबासलाई दिइने अनुदानमा मन्त्रालयले कडाइ गरेको उनले बताए । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो । 

    प्रतिस्पर्धाका आधारमा एक प्रदेश निर्वाचन क्षेत्रमा एउटा मात्र घरबास छनोट गरिएको मन्त्रालयका सूचना अधिकारी बिमलप्रसाद गौतमले बताए । स्थलगत अनुगमन क्रममा मापदण्ड पूरा गरेर सञ्चालन भइरहेका घरबासलाई मात्र कार्यक्रममा समेटिएको उनको भनाइ छ । 

    “स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र मौलिक संस्कृतिको जगेर्नामा केन्द्रित भएका घरबासले अनुदान पाउँछन्”, उनले भने । अनुदान रकमबाट घरबास सञ्चालकले ग्रामीण पर्यटन प्रवर्द्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, कोसेली घर, पुस्तकालय, सांस्कृतिक सङ्ग्रहालय, उद्यान, पदमार्गलगायत पूर्वाधारमा खर्च पाउने मन्त्रालयले जनाएको छ । 

    घरबासको आफ्नै नाममा जग्गा भए मात्र सामुदायिक भवनका लागि अनुदान दिने नयाँ नियम बनाइएको छ । अनुदानको बजेटबाट निजी जग्गामा भने पूर्वाधार निर्माण गर्न नपाइने सूचना अधिकारी गौतमले बताए । अघिल्ला वर्षमा घरबासको अनुदान रकमबाट निजी घरमा शौचालय, सौर्य ऊर्जालगायत थपेपछि आलोचना भएको थियो ।  

    प्रदेश सरकारबाट हालसम्म तीन सय २४ वटा सामुदायिक घरबासले अनुदान पाएको मन्त्रालयको तथ्याङ्क छ । आव २०७५÷०७६ मा रु ३० करोड बजेट घरबास अनुदानमा बाँडिएको थियो । उक्त अनुदान रकम व्यापक दुरुपयोग भएको जनगुनासो बढेपछि पछिल्लो समय मन्त्रालयले घरबासको बजेटलाई कटौती र नियन्त्रण गरेको हो । 

    प्रदेश सरकारले सामुदायिक घरबास प्रवर्द्धनलाई गौरवको आयोजनाका रुपमा राखेको सूचना अधिकारी गौतमले बताए । नमुना घरबास कार्यक्रममार्फत ग्रामिण पर्यटन विकासको ध्येय राखेर सरकारले सामुदायिक घरबासलाई अनुदान दिन थालेको हो । 

    ग्रामिण परिवेश, पारिवारिक वातावरण, खानामा स्थानीय परिकार, मौलिक संस्कृति, रहनसहन र पर्यटकीय गन्तव्यस्थलको घुमफिरआदि घरबासका आकर्षण हुन् । गण्डकी प्रदेश घरबास व्यवसाय फस्टाएको क्षेत्र हो । 

    नेपालकै पहिलो स्याङ्जाको सिरुबारी घरबास पनि यहीँ पर्छ । लमजुङको घलेगाउँ, काउलेपानी, कास्कीको घान्दु्रक, ल्वाङ, पवर्तको चित्रे, बागलुङको भकुण्डे, नवलपुरको अमलटारीलगायत घरबास चर्चित छन् । 

    पर्यटकले गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न घरबासलाई रोज्ने गर्छन् । पर्यटकीय याममा घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गर्छ । 

    घरबास कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले बताए । 

    – रामबहादुर थापा, रासस 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार