काठमाडौँ / कार्ड प्रयोग गरेर कुनै एटिएमबाट नगद निकाल्न खोज्दा कहिलेकाहीँ एटिएमले पैसा दिँदैन । प्राविधिक समस्याका कारण एटिएम मेसिनले पैसा नदिए पनि हाम्रो खाताबाट भने मौज्दात घट्न सक्छ ।
यस्तो अवस्थामा धेरै मानिसहरू पैसा हरायो भनेर आत्तिने गर्छन् । ग्राहकहरूले एटिएमबाट पैसा नपाए पनि नगद काटिएको जानकारी बैङ्कलाई गराए पनि नगराए पनि बैङ्कले निश्चित समयभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ ।
उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ । यस्तो रकम कति दिनमा फिर्ता पाइन्छ त ? हेरौँ तलका बुँदामा ।
१ कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एकदिन भित्रमा ।
२ कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको तीन दिनभित्रमा ।
३ कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिनभित्रमा ।