images
images

प्रकृति र संस्कृतिलाई घरबाससँग जोड्दै पिप्रहरवासी, मौलिक परिकार पर्यटकको रोजाइमा

प्रकृति र संस्कृतिलाई घरबाससँग जोड्दै पिप्रहरवासी, मौलिक परिकार पर्यटकको रोजाइमा

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    प्रकृति र संस्कृतिलाई घरबाससँग जोड्दै पिप्रहरवासी, मौलिक परिकार पर्यटकको रोजाइमा

    गण्डकी / गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरस्थित पिप्रहर प्रकृति र संस्कृतिले आकर्षक गन्तव्य हो । 

    images
    images

    विशेषतः थारु संस्कार र संस्कृतिको हेर्न लायक गन्तव्य जस्तै बनेको यहाँका स्थानीयवासी प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्रिय बनेका छन् । 

    आफ्ना मौलिक कला र संस्कृतिको जगेर्ना गर्दै पर्यापर्यटनको विकासका लागि स्थानीय सक्रियतामा घरवास सञ्चालन गरिएको पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष चन्द्रमाया महतले बताइन् । 

    “घरवास सञ्चालनले यहाँका स्थानीयवासीको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ”, उनले भनिन्, “जसका कारण स्वरोजगार अभिवृद्धिसँगै युवा पलायनलाई पनि रोक्न मद्दत पु¥याएको छ । उनका अनुसार पिप्रहरमा २०७२ सालको फागुनदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । 

    होमस्टे सञ्चालनसँगै यहाँस्थित थारु, गुरुङ र मगर जातिको कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनमासमेत महत्वपूर्ण सहयोग पुगेको अर्का होमस्टे सञ्चालक रिमबहादुर आले मगरले बताइन् ।  

    “हामी पिप्रहरलाई मौलिकतायुक्त पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चाहेका छौँ”, उनले भनिन्, “यहाँको स्थानीय जागरुकतालाई सबैको साथ र सहयोग आवश्यक छ ।” 

    होमस्टेमा आउने पर्यटकलाई स्थानीयरुपमा उत्पादित प्राङ्गारिक मौलिक परिकारका खानाका साथै स्थानीय थारु सांस्कृतिक कार्यक्रम, गुरुङ समुदायको संस्कृति तथा मगर जातिको कौरा नृत्य अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । 

    कालिका, शाश्वतधामजस्ता धार्मिक तथा ऐतिहासिक सम्पदाका साथै चितवन राष्ट्रिय निकुञ्ज, देवचुली पहाड आदिको समेत प्रवद्र्धन र विकास हुने विश्वास लिइएको छ । 

    पिप्रहर सामुदायिक होमस्टेले पर्यटकीय रुपमा फड्को मारिरहेको अर्का स्थानीय समाजसेवी पलटकुमार चौधरीले बताइन् । यहाँका पर्यटकीय सम्भावनालाई प्रचारप्रसार गर्नु जरुरी रहेको बताउँदै उहाँले पर्यटनबाट नै यहाँका स्थानीयको आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुनसक्ने धारणा राखिन् ।

    विगतमा दैनिकी चलाउनसमेत मुस्किल हुने गरेको वास्तविकतामा घरवास सञ्चालनले कृषि उत्पादनतर्फ पे्ररित गर्नुका साथै आयआर्जनसमेत बृद्धि हुँदाका मीठा अनुभवले आफूहरूलाई थप उत्साहित बनाएको स्थानीयवासी बताउँछन् ।

    पर्यापर्यटनका लागि आकर्षक गन्तव्य जस्तै बनेको यो स्थान चरा पर्यटनका साथै वन्यजन्तु अवलोकनका लागि आउनैपर्ने गन्तव्य रहेको अर्का स्थानीयवासी सत्यराज अधिकारीले बताए । 

    “यहाँ एक पटकमा आठ घण्टासम्म जङ्गल सफारी गर्न सकिन्छ”, उनले भने, “धेरै चराचुरुङ्गी तथा वन्यजन्तुु अवलोकन गर्न सकिने यहाँबाट एकै पटकको जङ्गल सफारीमा १७ वटासम्म गैँडा प्रत्यक्ष रुपमा हेर्न सकिन्छ ।” जङ्गल सफारिका क्रममा फाट्टफुट्ट बाघ पनि देखिने गरेको स्थानीयवासी बताउँछन् । 

    विगतमा केवल माछा मारेर दैनिकी चलाउँदै आएका व्यक्ति पनि होमस्टे सञ्चालनपछि कृषि उत्पादनसँगै पर्यटकको पथप्रदर्शकको रुपमा स्वरोजगार बन्दै आएका छन् ।

    मौलिक परिकार पर्यटकको रोजाइमा

    यहाँका स्थानीयवासीले घरबासमा पाहुनाका लागि बनाउने गरेका मौलिक परिकार उनीहरूको रोजाइमा पर्ने गरेका छन् । स्थानीयवासीले पाहुनालाई विशेषतः चिचर, घोँगी र माछाका परिकारले स्वागत गर्ने गर्दछन् । 

    चिचर, घोँगी र माछा यहाँको मौलिक परिकारका रुपमा स्थापित बनेको छ । अनदीको चामललाई पानीको बाफले उसिनेर पकाएको परिकारलाई चिचर भनिन्छ । 

    पछिल्ला समयमा होमस्टे पुग्ने पर्यटकले नै चिचर पकाउनका लागि अनुरोध गर्ने गरेको चन्द्रबहादुर महतोले बताए । चिचरका साथै अन्य परिकार पनि स्थानीय उत्पादनबाटै तयार गर्ने गरिएको छ । 

    पिप्रहर सामुदायिक होमस्टे ग्राममा बसेका पर्यटक आसपासका देवचुली र शास्वतधामका साथै नजिकै रहेको सामुदायिक प्राकृतिक चिकित्सालय समेतको अवलोकन गरेर फर्कन्छन् । 

    यहाँस्थित रजहर सामुदायिक प्राकृतिक चिकित्सालय देशकै नमुना प्राकृतिक चिकित्सालयका रुपमा स्थापित बनेको छ । देशका कुनाकुनाबाट विभिन्न स्वास्थ्य समस्या लिएर आएका सर्वसाधारण उपचारपछि खुसी भएर फर्कने गरेको चिकित्सालयका निर्देशक डा विनोद पौडेलले जानकारी दिए । 

    प्राकृतिक चिकित्सालयका कारण प्राकृतिक, सांस्कृतिक पर्यटनको गन्तव्य यो स्थान स्वास्थ्य पर्यटनको समेत गन्तव्य बन्दै गएको छ । यहाँ आउने पर्यटकले अनदीको चामल, मास, मुसुरोका साथै विभिन्न मौसमी तरकारी आदि कोसेली किनेर लैजान सक्ने व्यवस्था छ । 

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट वुटवल मार्गको फाराम चोकसम्म १९ किमि पुग्ने पर्यटक यहाँबाट पश्चिम २.५ किलोमिटर दुरीमा पिप्रहर सामुदायिक होमस्टे ग्राम पुग्दछन् । 

    प्रवद्र्धनको प्रयास

    पिप्रहर सामुदायिक होमस्टे ग्रामको पर्यटन प्रवद्र्धनका लागि पछिल्लो समयमा यहाँस्थित स्थानीय सङ्घ संस्था, स्थानीय सरकार सक्रिय बनेर लागेका छन् । गण्डकी प्रदेशमा क्रियाशील पर्यटन सम्बद्ध सङ्घ संस्थाले पनि यस गन्तव्यलाई प्रवद्र्धन गर्न प्राथमिकता दिएका छन् । 

    नेपाल एशोसिएसन अफ टुर ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले हालै पिप्रहर सामुदायिक होमस्टे ग्रामको प्रवद्र्धनात्मक भ्रमण गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । 

    “हामीले पर्यटकीय राजधानी पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको समेत प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छौंँ”, उनले भने, “पिप्रहर प्रकृति, संस्कृतिका साथै पर्यापर्यटनको विकास गर्न सकिने महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुने सम्भावना छ ।”

    पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहितको टोलीले पिप्रहरको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको बताउँदै कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले यहाँका मौलिक संस्कार एवम् संस्कृतिलाई घरवासमार्फत पर्यटनसँग जोड्न स्थानीय सक्रिय बनेको बताए । 

    – वासुदेव पौडेल र टेकराज पोखरेल, रासस 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार