थालेसीमिया संवाहक हो/होइन भनेर समयमै रगत परीक्षण गराउने कि !

थालेसीमिया संवाहक हो/होइन भनेर समयमै रगत परीक्षण गराउने कि !

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    थालेसीमिया संवाहक हो/होइन भनेर समयमै रगत परीक्षण गराउने कि !
    काठमाडौँ / विश्व थालेसीमिया दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । 
     
    यस दिवसका अवसरमा थालेसीमिया बिरामी एवं  चिकित्सकहरुले सबैका लागि समान र पहुँचयोग्य उपचारका लागि जोड दिएका छन् ।  
     
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले वीर अस्पताल,हेमाटोलोजी एकाइद्वारा आज यहाँ आयोजित कार्यक्रममा थालेसीमिया रोगसम्बन्धी उपचारलाई सातै प्रदेशका स्वास्थ्य संस्थामा जोड्न सक्नुपर्ने बताए । 
     
    यस रोगको रोकथाम र उपचारको सहच पहुँचका लागि मन्त्रालयले प्राथमिकता दिएको उनको भनाइ छ ।  
     
    उक्त कार्यक्रममा थालेसीमियाका बिरामी दीपा केसीले आफ्नो अनुभव सुनाउँदै महँगो औषधि र उपचारबारे सरोकारवाला निकायको ध्यानार्कषणसमेत गराए । 
     
    “वीर अस्पतालभित्रै सबै औषधि उपलब्ध छैनन् । औषधि र उपचार खर्चिलो भएका कारण यस रोगका धेरै बिरामी साथीहरु उपचारबाट वञ्चित हुनुहुन्छ”, उनले भने ।  
     
    चिकित्सकका अनुसार थालेसीमिया अर्थात् अपुष्ट रक्तकोष रगतसम्बन्धी हुने विभिन्न रोगहरुमध्ये अनुवंशीय रोग हो । देशभरको मध्य पहाडी भूभागदेखि सम्पूर्ण दक्षिणी भूभाग तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी भेटिएको  र विशेष गरेर तराईमा र त्यहाँका बासिन्दामा यो रोग बढी मात्रामा देखिएको छ । 
     
    नेपाल अपुष्ट रक्तकोष समूहका अनुसार नेपालमा थालेसीमिया संवाहकहरुको सङ्ख्या कूल जनसङ्ख्याको चार प्रतिशत रहेको छ । एक अध्ययनअनुसार नेपालमा थालेसीमियाका बिरामीको वार्षिक जन्म तीन सय २७ छ । यो रोग तीन महिनादेखि पाँच÷छ वर्षसम्म उमेरका बच्चाहरुमा देखिन्छ । अझ कसैलाई १० देखि १२ वर्षमा पनि देखिन्छ । 
     
    यस रोगका रोगीलाई बचाउनका निम्ति आजीवन रगत तथा अन्य औषधि दिई रहनुपर्छ । यो रोगबाट मुक्ति पाउने अन्य कुनै भरपर्दो उपचार छैन यसर्थ बच्चा जन्माउनुपूर्व नै यो रोगबाट सचेत हुनु एकमात्र यसको भरपर्दो उपचार हो । 
       
    वीर अस्पतालको हेमाटोलोजी एकाइका प्रमुख डा निरजकुमार सिंहका अनुसार यस रोगका बिरामीको यकिन तथ्याङ्क छैन । “तर झण्डै पाँच हजार बिरामी, जसलाई  रगतको आवश्यक हुन्छ । रगत नचाहिने अझ धेरै छन् । सबैलाई रगत आवश्यक हुँदैन । चालिस प्रतिशतलाई मात्र रगत आवश्यक हुन्छ”, उनले भने । 
     
    उनका अनुसार वीर अस्पतालबाट दैनिक यस रोगका १२ जनासम्म बिरामीले उपचार सेवा लिने गरेका छन् । तर हेमाटोलोजी चिकित्सक र स्टाफ नर्सको दरबन्दीको अभावका कारण उपचार सेवालाई विस्तार गर्न नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरे । अहिले उक्त एकाइमा डा सिंह रचार जना नर्सले अस्थायी दरबन्दीमा सेवा दिँदै आएका छन् । 
     
    प्रमुख डा सिंहले सरकारले यस रोगका लागि उपलब्ध गराउँदै आएको रु एक करोड पर्याप्त नभएको बताए । उनले यस रोगको रोकथाम सरकारको प्राथमिकतामा राख्नपर्ने माग गरे । नेपाल अपुष्ट रक्ताकोष समूह समूहमा दुई सय ४० जना यस्ता बिरामी दर्ता भएका छन् । तीनमा एक सय ४० जना नियमित रगत चढाइरहेका छन् । 
     
    “संस्थामा आबद्ध भएका बिरामीलाई निःशुल्क रगत तथा रगत चढाउने सेवाका साथै चिकित्सक सेवा पनि संस्थाको केन्द्रबाट उपलब्ध भइरहेको छ”, उक्त समूहका अध्यक्ष अशोक खरेलले भने, “नेपालमा छ सयभन्दा बढी यस्ता बिरामीले धेरै समस्याका साथ उपचार गराएर मुस्किलले बाँचिरहेको अनुमान गर्न सकिन्छ ।” कमजोर आर्थिक अवस्थाका कारणले आवश्यक नियमित उपचार गराउन नसकेको उनले गुनासो गरे । 
     
    यो रोग कसरी लाग्छ ? 
     
    वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरका अनुसार यो वंशाणुगत रोग हो । बाबु तथा आमा दुवैतर्फका पुस्ताबाट यो अघिल्लो पुस्तामा सर्दछ । 
     
    यस रोगको मुख्य कारक थालेसीमियाको संवाहकमा भरपर्दछ । चिकित्सकका अनुसार थालेसीलिया मुख्य गरी दुई प्रकारका, आलेसीमिया माइनर र थालेसीमिया मेजर हुने गर्छ । 
     
    थालेसीमिया संवाहकहरू आजीवन स्वस्थ्य रहन्छन, लेसीमिया रोगको कुनै पनि लक्षण उनीहरूको जीवनमा देखिँदैन । रगत परीक्षण गराएपछि मात्र यसको संवाहक हो वा होइन भनेर छुट्याउन सकिन्छ । 
     
    थालेसीमिया संवाहक भएका दम्पतीबाट बच्चालाई जन्म दिएपछि थालेसीमिया मेजर भएको बच्चा जन्मिने सम्भावना हुन्छ । यस्ता दम्पतीबाट जन्मने हरेक पटकको बच्चामा थालेसीमिया मेजर हुने सम्भावना २५ प्रतिशत हुने चिकित्सकहरु बताउँछन् । 
     
    थालेसीमिया माइनर हुने सम्भावना ५० प्रतिशत हुन्छ तथा स्वस्थ्य बच्चा जन्मिने सम्भावना २५ प्रतिशत मात्र हुन्छ । दम्पतीमा एकजना मात्र थालेसीमिया माइनर छ भने हरेक पटकको बच्चामा थालेसीमिया माइनर हुने सम्भावना २५ प्रतिशत मात्र हुन्छ तर थालेसीमिया मेजर चाँही हुँदैन ।
     
    चिकित्सकका अनुसार अन्य कुनै तरिकाबाट यो रोग अरूमा सर्दैन । थालेसीमिया माइनर भएका कतिपय व्यक्तिले रक्तदान पनि गर्ने गरेका छन् । 
     
    थालेसीमियाका लक्षण
     
    यस रोग भएका बच्चा जन्मिएको दश हप्तासम्म स्वस्थ्य देखिन्छ । दश हप्तादेखि दुई वर्षभित्रमा बच्चा अस्वस्थ्य देखिन थाल्छ । विशेष गरी बच्चा नफस्टाउनु, पेट ठूलो हुँदै जानु, हातखुट्टा सुक्दै जानु, नङ, हत्केला, पैताला, ओठ र आँखा सेतो हुँदै जानु, बच्चामा रगतको कमी देखिनु यस रोगका मुख्य लक्षण हुन् । 
     
    धेरै प्रकारका परीक्षणपछि मात्र चिकित्सकहरू थालेसीमिया हो भन्ने निष्कर्षमा पुग्दछन् । अझै पनि नेपालका धेरै अस्पतालमा यस रोगको राम्रोसँग निदान र पहिचान हुन नसकिरहेको बिरामीको गुनासो छ । 
     
    थालेसीमियाको उपचार
     
    “यो रोगबाट मुक्ति पाउने भरपर्दो उपचार आजसम्म केही पनि छैन”, वंशाणुगत रोग विशेषज्ञ डा ठाकुरले भने । बोनम्यारो ट्रान्सप्लान्टबाट यो रोगको उपचार गर्न सकिन्छ । तर बोनम्यारोको म्याच पाउन निकै दुर्लभ हुने गर्छ ।
     
    देशभित्र यस प्रकारको उपचार सुविधा नभएका कारण विदेश गएर उपचार गराउँदा लाग्ने खर्च महँगो हुने गरेको डा ठाकुरले बताउनुभयो । बिरामीले नियमित रगत र आवश्यकताअनुसार नियमित औषधि सेवन गर्दै आउने गरेका छन् । 
     
    थालेसीमियाको रोकथाम
     
    विवाहपूर्व र ढिलो बच्चा गर्भमा आउनुपूर्व थालेसीमिया संवाहक हो/होइन भनी रगत परीक्षण गराउन सके यस रोगको रोकथाम गर्न सकिने चिकित्सकको सुझाव छ । 
     
    – सृजना राई, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार