images
images

गृहमन्त्री लामिछानेलक्षित कैलाश सिरोहियाको प्रश्न : बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?

गृहमन्त्री लामिछानेलक्षित कैलाश सिरोहियाको प्रश्न : बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • गृहमन्त्री लामिछानेलक्षित कैलाश सिरोहियाको प्रश्न : बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?

    काठमाडौँ / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले समाचार लेखेको भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रतिवाद गरेका छन् । 

    images
    images
    images
    images

    नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेसँगै उनले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको बताएका हुन् । 

    आफूबिरुद्ध पक्राउ पुर्जी जारी गर्नुलाई सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरूको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिन गृहमन्त्री लामिछानेले प्रयास गरेको उनको भनाइ छ । 

    मंगलबार दिउँसो वक्तव्य जारी गर्दै सिरोहियाले गृहमन्त्री लामिछानेलाई समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरेको आरोप लगाएका छन् । 

    गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै उनले लेखेका छन्,“समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग पदाधिकारी (रवि लामिछाने)ले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?”

    साथै, उनले जनमतको जिम्मेवारी केका लागि हो भन्दै अर्को प्रश्नसमेत गरेका छन् , “जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?” उनले लेखका छन् । 

    यसअघि पनि समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको बताएका छन् । उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै बेथितिको ढाकछोप प्रयास नगर्न चेतावनी पनि दिएका छन् ।

    कैलाश सिरोहियाको वक्तव्यको पूर्णपाठ

    कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु । तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ ।

    निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।

    सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।

    समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?

    अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?

    सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र श्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो ।

    कैलाश सिरोहिया
    अध्यक्ष
    कान्तिपुर मिडिया ग्रुप

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार