चर्चित समाचार
  • धान रोप्ने खेतमा केराखेती गर्दै बेनीका किसान, भन्छन्– स्थानीयको आर्थिकस्तरमा सुधार हुँदै गएको छ

    धान रोप्ने खेतमा केराखेती गर्दै बेनीका किसान, भन्छन्– स्थानीयको आर्थिकस्तरमा सुधार हुँदै गएको छ

    शुक्रवार, जेठ २५ २०८१
    शुक्रवार, जेठ २५ २०८१
  • धान रोप्ने खेतमा केराखेती गर्दै बेनीका किसान, भन्छन्– स्थानीयको आर्थिकस्तरमा सुधार हुँदै गएको छ

    म्याग्दी (बेनी) / बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गरेका छन् । विगत छ वर्षदेखि व्यावसायिक केराखेती सुरु गरेका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गरेका छन् ।

    यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बताए । खेती गर्न सजिलो, लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरण हुने भएकाले परम्परागत अन्नबाली छाडेर नगदेबालीको रुपमा केराखेती विस्तार गरेको उनको भनाइ छ । कार्कीले अहिले वार्षिक छ लाख बढी आम्दानी हुने गरेको जानकारी दिए ।

    कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी बारीमा केराखेती गरेका छन् । धानखेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केराखेतीमा लागेको उनले बताए । 

    “केरा लगाएको दुई वर्षमा फल दिन सुरु हुन्छ । एउटा बोट लगाएपछि आफैँ घारीको रुपमा विस्तार हुन्छ । यो वर्ष थप तीन रोपनी खेतमा केरा लगाउन सुरु गरेको छु, अहिले मासिक रुपमा रु १५ देखि २० हजारको केरा बिक्री हुँदै आएको छ”, उनले भने ।

    खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापालगायतले प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आएक छन् ।

    बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँटलगायत बस्ती केराखेतीको पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रका करिब दुई सय ५० किसानले छ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक सोवित शर्माले जानकारी दिए । उनका अनुसार सिङ्गो गाउँ नै केराखेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिकस्तरम सुधार हुँदै गएको छ ।

    गत वर्षमा केरा बिक्री गरेर गाउँमा रु तीन करोड भित्रिएको संयोजक शर्माले जानकारी दिए । “गाउँमा केराखेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केराखेतीमा लागेकाहरु उत्साहित बनेका छन्”, उनले भने, “उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारी गाउँसम्म आइपुग्छन् ।”

    यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायत प्रजातिका केरा उत्पादन हुने गरेको संयोजक शर्माले बताए । उनका अनुसार खबरा क्षेत्रमा परम्परागत रुपमा घरायसी प्रयोजनका लागि केराखेती हुँदै आएकामा एक दशक अघिबाट केराको व्यावसायिक खेती सुरु भएको हो ।

    गाउँका अधिकांश किसानले धान, गहुँ, मकै लगायतका परम्परागत खाद्यबाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकांशमा केराखेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रमा केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ ।

    गत वर्षदेखि सुरु भएको केरा पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिँचाइ, तालिम, औँजार उपकरण, मल, बिरुवालगायत क्षेत्रमा अनुदान सहयोग गर्न थालेको छ । गतवर्ष नगरपालिकाको ११ लाख र किसानको रु ११ लाख साझेदारीमा एक सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तारसँगै मल, बिरुवा र औँजार उपकरणमा सहयोग गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिए ।

    उनका अनुसार, चालु आर्थिक वर्षमासमेत नगरपालिकाले छ लाख र समुदायको छ लाख साझेदारीमा केराका बिरुवा वितरणसँगै थोपा सिँचाइ विस्तार र केराको बहुआयामिक उपयोगिताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गतवर्ष छ हजार दुई सय बोट केरा विस्तार गरिएकामा चालु आर्थिक वर्षमा थप तीन हजार पाँच बिरुवा लगाएर खेती विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

    केराको व्यावसायिक खेतीगर्दै आएका यहाँका किसानले फल र बोट दुवैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेशा निकालेर फाइबर, धागो, कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट कम्पोष्ट मल बनाउने तालिम लिएपछि केराखेतीमा लागेका किसानले बोट र फल दुवैबाट आयआर्जन गर्न थालेका कृषि शाखा प्रमुख ढुङ्गानाले बताए ।

    गर्मीयाममा केराको बजार अभाव नहुने भए पनि चिसो मौसममा बजार अभाव हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स, बिस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार