काठमाडौँ / देशभरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय पालिकाले असार १० गतेसम्म आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने कानुनी अनुसार नै ६ वटै महानगरपालिकाहरुले आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेका हुन् ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
जसमा, बागमती प्रदेश अन्तरगत तीन वटा महानगरपालिका काठमाडौँ, ललितपुर र भरतपुर रहेका छन् भने पूर्व कोशी प्रदेशबाट विराटनगर महानगरपालिका, लुम्बिनी प्रदेशबाट वीरगन्ज र गण्डकी प्रदेशबाट पोखरा महानगरपालिका रहेका छन् ।
यसैबीच ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । यस्तै सबैभन्दा कम अर्थात आगामी आर्थिक बर्षको लागि विरगन्ज महानगरपालिकाले भने बजेट घटाएर सार्वजनिक गरेको छ । यस महानगले आगामी आवको लागि २ अर्ब ८९ करोड ४८ लाख रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
कुन महानगरको कस्तो आयो बजेट ?
काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड,
संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । १५ औँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको राजश्व तथा खर्चसम्बन्धी अनुमान सार्वजनिक गरेकी हुन् ।
झन्डै एउटा प्रदेशकै जत्रो बजेट ल्याएको काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा १५ करोड ६५ लाख ५ हजार रुपैयाँले बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
आगामी आर्थिक बर्षको लागि यस महानगरले ११ वटा गौरवको आयोजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ, कपडा बैंक, थेमाटिक स्कुल, पोखरी मर्मत तथा संरक्षण, फोहरबाट मल र महानगर होमस्टेसहित ३० वटा महानगर स्वर्णिम योजनाहरूका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै, पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आवको लागि सार्वजनिक बजेटमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख, संघीय राजस्व बाडफाँडबाट १ अर्ब ९९ करोड २० लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ५५ करोड, स्थानीय राजस्व बाँडफाँडबाट १० करोड ५० लाख, समानिकरण अनुदानबाट ८० करोड, प्रदेश सरकार समानिकरण अनुदानबाट १० करोड, आन्तरिक जनसहभागिताबाट ८० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट १ अर्ब ४५ करोड र बाग्मती प्रदेश सरकारबाट ४ करोड ४७ लाख सहित महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार जम्मा हुने अनुमान गरिएको छ । त्यसबाहेक महानगरले सञ्चालन गरेको जग्गा एकीकरण आयोजनाबाट १ अर्ब ५० करोड आम्दानीको अनुमान गरिएको छ ।
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४६ करोड
ललितपुर महानगरपालिकाले भने चालु आर्थिक वर्षको भन्दा ९६ करोड ७८ लाख ४ हजार रुपैयाँले बजेटको आकार बढाउँदै आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
उपप्रमुख मञ्जली शाक्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि उक्त रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेकी हुन् । यता, चालु आर्थिक बर्षको लागि यस महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
आन्तरिक स्रोतको रूपमा रहेको आन्तरिक आय (आन्तरिक राजस्व, मालपोत रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर) आदी बाट ३ अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने महानगरको अनुमान छ । जसमध्ये विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख बराबरको रकम प्राप्त हुने अपेक्षा गरिएको छ ।
यस्तै, अन्तर सरकारी अख्तियारीबाट ८० करोड ६५ लाख प्राप्त हुने अपेक्षा गरिएको छभने विनियोजन बजेटको लागि नपुग हुने १ अर्ब ५४ करोड ४५ लाख नगद मौज्दातबाट व्यहोरिने र करको दायरा वृद्धिका लागि विगतदेखि नै परिचालन गरिएको कर सचेतना कार्यक्रमलाई निरन्तरता दिई राजश्व अभिवृद्धि गरिने, करका दायरा वृद्धिका लागि अन्य वैकल्पिक उपायहरू र रणनीति समेत अवलम्बन गरिने लगायत नीति महानगरले लिएको छ ।
भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ५५ करोड
भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षको लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन् ।
महानगरले सार्वजनिक गरेको यो बजेट चालु आर्थिक वर्षको भन्दा ३.८१ प्रतिशत अर्थात २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । चालु आर्थिक बर्ष २०८०/८१ को लागि यस महानगरले ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
आगामी आवको लागि भरतपुर महानगरले वडास्तरबाट कार्यक्रम कार्यान्वयन गर्न न्यूनतम र सूत्रका आधारमा दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेको छ । न्यूनतम २ करोड ७४ लाख २८ हजार ५०१ र अधिकतम २ करोड ९० लाख २ हजार १३३ गरी वडास्तरीय आयोजनाहरूमा ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै, दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँको अनुदान कार्यक्रमलाई महानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ भने, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा ५० प्रतिशत अनुदान लगायतका कार्यक्रमलाई भरतपुर महानगरले ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै, आगामी आवको लागि सार्वजनिक बजेटमध्ये आन्तरिक स्रोतबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, सङ्घ राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता–श्रमदानबाट ५० करोड, बैङ्क मौज्दात रु १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
पोखरा महानगरपालिकाको बजेट साढे ७ अर्ब बढी,
चालु आर्थिक वर्षका लागि कूल ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको यस महानगरपालिकाले आगामी आर्थिक बर्षको लागि ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ५.०१ प्रतिशतले बढी हो ।
महानगरको १५औँ नगरसभामा उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट प्रस्तुुत गर्दै बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृङ्खला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यूनकार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको बताएकी छिन् ।
त्यस्तै सरलीकृत र प्रविधिमैत्री सेवाप्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवप्रर्वतन प्रवद्र्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपप्रमुख गुुरुङले बताइन् ।
विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड
विराटनगर महानगरपालिका आगामी आर्थिक बर्षको लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा उक्त बजेट पेस गरेकी हुन् ।
यो बजेट चालु आर्थिक बर्षको तुलनामा ६.५३ प्रतिशत अर्थात २१ कारेड ४८ लाख ६ हजार रुपैयाँले बढी हो । चालु आर्थिक बर्षको लागि यस महानगरले ३ अर्ब २८ करोड ५० लाख ८० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
सामाजिक सुरक्षा र विकासलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको महानगरले कृषि, पर्यटनसँगै महानगरको शैक्षिक कार्यक्रमलाई महत्व दिएको छ भने बस्ती विकास र तराई मधेस समृद्धि कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । यस्तै पर्यटन, कृषि, भौतिक पूर्वाधार र डिजिटल मैत्री सेवामा जोड दिएको छ ।
यस्तै, बजेटको स्रोत व्यवस्थामा सङ्घीय समानीकरण अनुदान ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १ सय २६ रुपैयाँ, अन्तःशुल्कबाट ५ करोड ८५ लाख ४१ हजार २ सय ७९ रुपैयाँ, वन रोयल्टीबाट ५ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारीसाधन करबाट ३ करोड ८७ लाख १ हजार र मनोरञ्जन तथा विज्ञापन करबाट १ करोड, आन्तरिक आय १ अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात २५ करोडको अनुमान गरिएको छ ।
वीरगन्ज महानगरपालिकाको बजेट भने घट्यो,
तुलनात्मक ६ वटा महानगरपालिका मध्ये आगामी आर्थिक वर्षका लागि बजेट घट्नेमा वीरगन्ज महानगरपालिका मात्रै रहेको छ । यस महानगरपालिकाले असार ८ गते नै आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय व्ययसहितको बजेट ल्याएको छ ।
उपमेयर इम्तियाज आलमले शनिबार नगरसभामा २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएका हुन् । यो चालु आर्थिक वर्षको बजेटको तुलनामा ६२ करोड रुपैयाँले कम हो । चालु आर्थिक वर्षका लागि यस महानगरपालिकाले ३ अर्ब २१ करोड ४५ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
आगामी आर्थिक बर्षको लागि यस महानगरले खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।
त्यसैगरी, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
६ महानगरपालिकाको बजेट तथ्याङ्क (रु.हजारमा)